कृष्ण प्रसाद शर्मा
सन् २००९ मा एक बेलायती पर्यटक सगरमाथामा हराएपछि त्यहाँको सरकारले राज्यकै खर्चमा खोजी गरेर फिर्ता लगेको थियो । त्यस्तै गत महिना बेलायतको ग्रेनफ्ल टावरमा आगो लागी हुँदा नैतिकताका आधारमा त्यस बरोका काउन्सिलरले राजिनामा दिएभने अहिले ज्यान गुमाउनेका परिवारले यस घटनामा परेकाहरूलाई मृत्यु नभई हत्याको रुपमा लिएर अदालती कार्वाहीमा गएका छन् । यि दुई घटनाले नागरिक प्रतिको दृष्टिकोण समाज र राज्यको कस्तो रहन्छ भन्ने स्पष्ट पार्दछ ।
अहिले हाम्रो देशमा सडक दुर्घटनाको घटना नसुनेको दिन नै छैन । हरेक बर्ष पहिरो आउने र बाढी हुने निश्चित ठाउँ हुँदा समेत त राज्यले कहिलै चासो दिएको छैन । तराईमा बाढी र काठमाण्डौ– मुग्लिन सडकका केही निश्चत खण्डमा हरेक बर्ष मान्छेको ज्यान जाने निश्चित हुँदा समेत कुनै पनि सरकारले कदम चालेका छैनन् । तीन हप्ता अगाडी एक स्कुले बालिकाको काठमाण्डौको ढलमा परेर मृत्यु भयो । तर यसबारे सम्बन्धित सचिवले समेत यो घटना सामान्य हो भने । ढलले बगाएर मृत्यु हुने कुरा जबसम्म सामान्य लाग्छ तब सम्म यस्ता घटनामा मृत्युको संख्या बढ्ने पक्का छ । तीन दिनअघि मात्रै रौतहटको गरुडा नागरपालिका– ४ मा सडकको खाडलमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको छ । यो घटना सामान्य होईन तर पनि सबै ध्यान भरतपुरको चुनाबमा केन्दिय भयो । हाम्रा प्राथमिकता अलग छन् ।
कर्मचारीतन्त्रमा यतिका तह छन् तर हाम्रो मानसिकता एवं नेता स्वमंले सडकको खाल्डो पुर्नु आदेश दिनु पनेकक र आदेश कुरेर अनि रातीमा अनुगमन र खाल्डोमा बालुवा छर्केको देख्छौं । सडक बिभाग, कर्मचारी, सचिव, ईन्जिनियर र सम्बन्धित मन्त्रालयको जिम्मावारी पन कहिलै देखिँदैन । सडक बनाउने ठेकेदार अझै कहिलै यस्ता घटनाको दोषी बन्दैनन् किन कि ठेक्कापट्टा पार्टिको च्यानलमार्फत नै पाउने हुन्छ । नेपालमा सडक दुर्घटनाबाटै अत्याधिक मानिसको मृत्यु हुन्छ । अहिले सडकमा भएको खाल्टा खुल्टीको कारण बाहेक सडकमा गुडाउन योग्य गाडीको निरिक्षण समेत हुँदैन । पुराना गाडीको संख्या बढ्दो छ । राजधानीमा अत्याधिक प्रदुषण गराउने गाडी समेत गुडाईएको पाईन्छ जसको धुवाँको मुस्लोले पछि आएको गाडी देखिंदैन अनि कतै ठोकिएर दुर्घटना भएका उदाहरण छन् । बढ्दो सडक दुर्घटनाको कारण अहिले मान्छेहरू बिहान बाहिर गएको गन्तब्यमा नपुग्दासम्म चिन्तित हुन्छन् । सडकको निरिक्षण गर्न हेलिकप्टर लिएर पुग्ने देशका प्रधानमन्त्री रहेसम्म त्यस मातहतका मन्त्रालय र सचिवलाई यि घटनाले छुँदैन । हिजो संसदमा प्रमुख प्रतिपक्षले रौतहटको घटनाबारे सत्यत्थ्य जानाकारी नदिएसम्म संसद चल्न नदिने भने पछि सभामुखबाट रुलिङसम्म भयो । यस्ता घटना नयाँ होईनन् र आजसम्म यस्ता घटनामा कसले कतिपटक संसदमा आवाज उठाए । भारत एवं श्रीलङ्कामा यस्तै सडक घटनामा केहीलाई तत्काल बर्खास्त गरेका घटना छन् । भारत पनि आफ्नो जनताको मृत्युमा संवेदनशील देखिने राष्ट्र त होईन तर पनि कुनै–कुनै बेला कठोर कदम चालेको देखिन्छ । केही महिना पहिले पत्रकार नारायण वाग्लेले एक दुई दिन काठमाण्डौमा पैदलयात्रीका रुपमा हिड्दा देखेका तस्वीर सामाजिक संजालमा हालेका थिए । काठमाण्डौमा त सडकको हालत यस्तो छ राजधानी बाहिर कस्तो होला। ढलमा सिङ्गै गाडी फसेका दृष्य सामान्य लाग्न थाल्यो मान्छेलाई । काठमाण्डौमा हरेक ३–४ किलोमीटरको फरकमा ढलका ढकनी छैनन् । मेलम्चीको ढलले जताततै घराप सृजना गरिएको छ । सडकमा खुला ढल छोडेर कसैको ज्यान जाँदा हामीले कहिलै सम्बन्धितलाई औंला उठाएनौं । रौतहटको घटनामा सडक बिभाग र ठेकेदारको लापरवाही स्पष्ट देखिन्छ तर पनि अहिले सबै मौन छन् । बिकसित देशमा भएको भए आज रौतहटका सडक बिभागका कर्मचारी र ठेकेदार जेलको चिसो सिडीमा हुन्थे तर यहाँ राज्य पुरै भरतपुरमा चुनावमा लागी पर्यो । सुरक्षा निकायका सबै अंग तैनाथ गर्यो उता रौतहटमा कोही पुगेनन् ।
तराईबाट सरकारमा पुगेका र खास गरी भौतिक योजना देखी यस्तै मन्त्रालयमा पुगेका बिजयकुमार गच्छेदारहरूलाई आफ्नो ठाउँको बारे कहिलै याद आएन । रौतहटबाट उठेर जितेका र हारेका कोही बोलेका छैनन् । मानव अधिकारको बहस गरी रहनेलाई यहाँ कुनै चासो छैन । यसरी सबै राजनीतिमै केन्द्रिय भएका छन् । संचारमाध्यमले पनि राजधानी बाहिरका खबरलाई त्यति धेरै प्राथमिकता दिएको देखिंदैन । काठमाण्डौको ढलमा परेको नानीको जत्तिकै पनि समाचारले प्राथमिकता पाएन रौतहटको घटनाले । हामीले सडक घटनामा कसलाई जिम्मेवार ठान्नेसम्म हेक्का राख्दैनौं । सडक बिभागका कर्मचारी किन राखिएको हो । साना सडक सेना पुलिसले ठुला सडक बिदेशीले गराउने भएपछि एउटा अनुगमन सम्म त गर्नुपर्छ । पैसा हुने जहाजमा हिड्छन् सर्वसाधार बसमा हिड्छन् । हरेक दिन देशको कुनै न कुनै भेगमा सडक दुर्घटना हुन्छन् तर हामी काठमाण्डौ आयो भने यसो दुई शब्द लेख्छौ तर अन्यत्रको वास्ता समेत गर्दैनौं ।
भनाई नै छ त धनी, हुने खाने र पहुँचवालाको मृत्यु भयो भने पार्थिव शरिर र गरीब मरे लास । हो देशमा सडक दुर्घटनामा अक्सर लासको चङ छ त्यसैले कसैको ध्यान छैन । त्रिशुलीमा पुर्व गृहमन्त्रीको मृत्यु भयो त्यसको छानवीनको टोली बन्यो । अहिले गाडी खसेको ठाउँमा बार पनि बनेछ तर यस्तै घटना देखै भरी कति भए कहिँकतै न जाँचबुझ न त सुधार । राज्यले स्वमं दुई थरीको जनता उत्पादन गरेको छ । एउटा पार्थिववाला अर्को लासवाला । अधिकांश लासवाला जो सडकमार्ग प्रयोग गर्छन जो हवाईमार्ग प्रयोग गर्छन उनीहरू पार्थिववाला हुन् । घटनाको गाम्भीयरता गीरब र धनी एउटै हुनुपर्ने हो तर हुन सकेको छैन । सरकार के लास बन्नेको बाँच्ने अधिकार छैन ?