बागलुङ, २४ साउन – साउनको १ गतेदेखि निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक सुरु गरेसँगै बागलुङमा सोमबारसम्म ४ हजार बढिले नाम दर्ता गराएका छन् । साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालय र साउन १५ गतेदेखि जिल्लाका १० वटै स्थानिय तहमा फोटोसहितको मतदाता नामावली संकलन गएसँगै सवै स्थानमा मतदाता नामावली दर्ता गराउनेहरुको भिड लागेको छ । हालसम्म जिल्ला निर्वाचन कार्यालय र स्थानिय तहमा गरी चार हजार ९ सय १३ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । सोमबारसम्म जिल्ला निर्वाचन कार्यालयमा एक हजार ८३ जना पुरुष र एक हजार १० जना महिलाले मतदाता नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बागलुङले जनाएको छ । यस्तै १० वटै स्थानिय संरचनामा हालसम्म दुई हजार आठ सय २० जनाले नाम दर्ता गराएका छन् । मतदाता नामावलीमा सवै भन्दा धेरै बडिगाड गाउँपालिकामा नाम दर्ता भएको छन्भने सवैभन्दा कम काठेखोला गाउँपालिकामा दर्ता भएका छन् । बडिगाड गाउँपालिकामा दुई सय ९३ जना पुरुष र दुई सय ८२ जना महिलाले नाम दर्ता गराएका छन्भने काठेखोलामा ५७ जना पुरुष र ५२ जना महिलाले मतदाता नामावली दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय बागलुङका सूचना अधिकृत श्यामकुमार थापाले जानकारी दिए । यस्तै गल्कोट नगरपालिकामा दुई सय ३७ जना पुरुष र एक सय ८९ जना महिला, जैमिनी नगरपालिकामा एक सय ३५ जना पुरुष र ६७ जना महिला, ढोरपाटन नगरपालिकामा दुई सय ६५ पुरुष र दुई सय ७९ महिला, तमानखोला गाउँपालिकामा एक सय ५१ जना पुरुष र ९३ जना महिला, ताराखोला गाउँपालिकामा दुई सय २९ जना पुरुष र एक सय ९० जना महिला, निसीखोला गाउँपालिकामा ९५ जना पुरुष र ६८ जना महिला र बरेङ गाउँपालिकामा ८९ जना पुरुष र ४९ जना महिलाले नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावली संकलन साउन मसान्तसम्म संचालन गरिने निर्वाचन कार्यालले जनाएको छ ।