म्याग्दी, २२ साउन – जिल्लाको सदरमुकाम बेनीस्थित खुलामञ्चमा शनिबार सम्पन्न तेस्रो एभरग्रीन कप फुटबल प्रतियोगितामा क्याम्पसचोक युथ युनाईटेड क्लब च्याम्पियन भएको छ । ‘सामाजिक रुपान्तरण, हाम्रो अभियान’ भन्ने मूल नारासहित एभरग्रीन युवा क्लबको आयोजनामा गत मङ्गलबारदेखि सञ्चालित फुटबलको फाइनल खेल जित्दै क्याम्पसचोक युथ युनाईटेडले उपाधि हात पारेको हो । क्याम्पसचोक युथ युनाईटेड क्लब बेनी र माउण्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयबीच भएको प्रतियोगितामा क्याम्पसचोकले १–२ गोल गर्दै उपाधि चुमेको आयोजक क्लबले जनाएको छ । क्याम्पसचोक एफसीका खेलाडी रविन्द्र कुँवरले २ गोल गरेका थिएभने माउण्ट एभरेष्टका विजय श्रेष्ठले १ गोल फर्काएका थिए । प्रतियोगिताबाट विजेता र उपविजेतालाई क्रमशः नगद ८० र ४५ हजार, मेडल, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको छ । यसैगरी प्रतियोगितामा फ्युचर स्पोर्ट फुटबल क्लब बागलुङका सुरज हमाल र एभरग्रीनका साजन गर्बुजाले खेल अवधिभर ५÷५ गोल गरी सर्वाधिक गोलकर्ता घोषित भएका छन् । त्यस्तै उत्कृष्ट गोलकिपरतर्फ क्याम्पसचोक एफसीका विश्वास क्षत्री, डिफेन्डरमा एभरग्रीन युथ क्लब ‘ए’का सबिन खड्का, उत्कृष्ट स्टाइकर र खेलाडीमा माउण्टका विरन गुरुङ र विजय श्रेष्ठ घोषित भएका थिए । त्यस्तै बेष्ट टिम स्प्रिटतर्फ पिपलबोट युथ क्लब ‘सी’, बेष्ट ड्रेस टिम जनप्रिय युवा क्लब दरबाङ र अनुशासित टिम न्यु दोभान युवा क्लब भएका छन् । उनीहरुलाई क्रमशः नगद ३ हजार, ट्रफी, मेडल र प्रमाणपत्रले पुरस्कृत गरिएको आयोजक क्लबले जानकारी दिएको छ । अनुशासित टिमलाई १० हजार र उत्कृष्ट टिम परिचालन गर्नेलाई पाँच हजारसहित मेडल, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिएको क्लब सचिव धनबहादुर घर्तीमगरले बताए । विजयी टिम तथा खेलाडीलाई म्याग्दीका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, प्रहरी नायव उपरीक्षक बशुन्धरा खड्का, जिल्ला शिक्षा अधिकारी रामकुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान अधिकृत अर्जुन शर्मा, गुल्मपति अनिलकुमार बुढाथोकी, खेलकुद विकास समिति अध्यक्ष कृष्णकुमार विश्वकर्मा, क्लब अध्यक्ष ललित पूर्जालगायतले पुरस्कार वितरण गरेका थिए । खेलप्रति युवा पुस्तालाई आकर्षित गराई नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यसहित तेस्रो एभरग्रीन कप खुल्ला फुटबल प्रतियोगिताअन्तर्गत सेभेन ‘ए’ साइडको आयोजना गरिएको थियो । प्रतियोगितामा कुल ४२ टिमले सहभागिता जनाएका थिए । पुरस्कार वितरण कार्यक्रमको सञ्चालन क्लब सचिव धनबहादुर घर्तीमगरले गरेका थिए ।
Previous Articleबडिगाड गाउँपालिकामा नागरिकता वितरण
Next Article अन्तरक्रिया कार्यक्रम सकियो