बागलुङ, २२ साउन – दुई दिनको अवधिमा बडिगाड गाउँपालिकामा २ सय ३४ जनालाई नागरिकता प्रमाणपत्र वितरण गरिएको छ । एकिकृत सेवा केन्द्र बुर्तिवाङको सहयोग तथा बडीगाड गाउँपालिकाको समन्वयमा घुम्ति सिविरको आयोजना गरि सो नागरिकता वितरण गरिएको हो । १६ वर्षदेखि ७५ वर्ष उमेर समुह नागरिकहरुलाई नागरिकता वितरण गरिएको एकिकृत सेवा केन्द्रका प्रमुख जनक थापाले जानकारी दिए । सो शिविरमा बृद्ध तथा अपांगता भएकाहरुलाई प्रहरीको सहयोगमा विशेष सुविधासहित नागरिकता वितरण गरिएको थापाले बताए । शुक्रवार दिउँसोदेखि सुरु गरिएको नगरिकता वितरण कार्य शनिबार साँझ झण्डै ८ बजेसम्म चलेको गाउँपालिका प्रमुख मेहरसिंह पाइजाले जानकारी दिए । त्यस्तै १६ गतेदेखि सुरु भएको फोटो सहितको मतदाता नामावली संकलन कार्य जारी रहेको छ । शनिबार मात्रै २ सय बढिको फोटो खिचिएको गाउँपालिका का कार्यकारी अधिकृत दुर्गा पौडेलले जानकारी दिएका थिए । यसैबीच, खर्वाङ बजार व्यवस्थापन समितिको बैठकले हरेक हप्ताको सरसफाई कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्ने निर्णय गरेको छ । बैठकले हरेक शनिबार बिहान ७ बजे वातावरणीय सरसफाई गर्ने, निर्णय गरेको छ । त्यस्तै बैठकले घरको छतको पानी सडकमा नफाल्ने विद्युत पोलहरुलाई व्यवस्थित गर्ने, यात्रु वाहक सवारी साधनले जथाभावी फोहोरमैला बजार क्षेत्रमा फाल्ने तथा यातायात व्यावसायीका काउन्टरहरुले बजार हित विपरित काम गरेको पाइएकोले सम्वन्धित निकायमा ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठक बजार व्यावस्थापन समितिका अध्यक्ष टंक भुजेलको अध्यक्षता तथा विष्णुप्रसाद खरेलको संचालनमा सम्पन्न भएको थियो ।
Previous Article२०७४ साउन २२ गते आईतबारको राशिफल
Next Article तेस्रो एभरग्रिन कप क्याम्पसचोकलाई