ध्रुब भट्टराई
विराटनगर, २० साउन – मोरङको वुढीगंगा गाउँपालिका-६ मा १५ करोडको लगानीमा मनमोहन पार्क निर्माण कार्य सुरु गरिएको छ ।
पूर्वाञ्चलमा पहिलो पटक यति ठूलो लगानीमा पार्क निर्माण कार्य सुरु गरिएको हो ।
जिल्ला समन्वय समिति मोरङले वुढीगंगा-६ स्थित मनमोहन मेमोरियल पोलिटेक्निकको हाताभित्र रहेको ६ विघा जग्गामा शैक्षिक संग्रालयसहितको पार्क निर्माण गर्न लागेको हो ।
पर्यटन मन्त्रालयबाट गत आर्थिक वर्षमा प्राप्त १ करोड बजेटबाट अहिले निर्माण कार्य सुरु गरिएको स्थानीय विकास अधिकारी शोभाकर रेग्मीले जानकारी दिए । ‘पाच वर्ष भित्र पूर्ण रुपमा पार्क निर्माण कार्य पूरा गर्ने गरी काम अघि बढाइएको छ,’ उनले भने, ‘गत वर्ष प्राप्त बजेटबाट यो वर्ष नै पार्क सञ्चालनमा ल्याउने गरी काम गर्न निर्माण कम्पनीलाई ठेक्का दिइएको हो ।’
मनमोहन पोलिटेक्निकका पि्रन्सिपल डा. सुरेश पोख्रेलका अनुसार दुई चरणमा सम्पन्न गरिने योजनासहितको मनमोहन पार्कमा १ वर्ष भित्र सञ्चालनमा आउने गरी १ करोडको लागतमा बोटिङ गर्न मिल्ने गरी पोखरी, सभा हल, फिटनेस क्लव, लङटेनिस, फुटसल, व्याडमेन्टन सहितको पार्क निर्माण गरिने छ ।
त्यसैगरी दोश्रो चरणमा पार्क भित्र मिथिला र मोरङका थारु संस्कृतिको जातीय संग्रालय, वैज्ञानिक पार्क, मनमोहन अधिकारी सम्वन्धी अनुसन्धानमूलक म्युजियम निर्माण गरिने छ । पोख्रेलका अनुासर बैज्ञानिक पार्क निर्माणका लागि नाष्टसंग छलफल भइरहेको छ ।