कृष्ण प्रसाद शर्मा
गरीब अमेरिकामा पनि छन्, अनि बेलायतमा पनि छन् । बेलायतको अक्फोर्ड स्ट्रिटदेखी अमेरीकिको वाल स्ट्रिटसम्म छन् । छिमेकी मुलुक भारतमा त हाम्रो देशको सम्पुर्ण जनसंख्या जति त्यहाँ गरीबहरू छन् अझ भनौं मागेर सडकमा तीन पुस्ता बिताएका छन् । त्यसको तुलना नेपाल कम होला तर पनि ठूला सपना होईन बाँच्नैका लागि शरीरका अंग बेच्न बाध्य छन् यहाँका कैयौं मान्छेहरू । नेपालमा मृगौला प्रत्यारोपण केवल दुई ठाउँमा मात्र हुन्छ तर यो अत्यन्तै संवेधनशील बिषय पनि हो । पछिल्लो समय मृगौलाले काम नगरेर अरूको मृगौलाले बाँच्न खोज्नेको संख्या पनि अत्याधिक छ । केपी ओली पनि उहाँको एक नातेदारले मृगौला दान गरेका कारण अहिलेसम्म बाँच्नु भएको छ । मृगौला चोरीका घटना पनि बढ्दो छ तर मृगौला बाहिर जनमानसमा जसरी आलु गोलभेडा जस्तो फ्रीजमा राख्न मिल्ने कुरा पनि होईन जसरी डाक्टर मृगौला चोरे भनेर समाचारमा आए जस्तो पनि छैन नेपालभित्र । तर पनि डाक्टरका लापरवाही भने पक्कै छन् । हामी पनि अलिबढी नै उच्श्रृंखल हुन्छौ जसका कारण अस्पतालमा तोडफोड समेत गर्न पछि पर्दैनौं ।
आज यहाँ चोरीका मृगौलाका कुरा गर्न लागेको होईन कि जानाजान आफ्नो मृगौला बेचेर जीवन गुजारेका बारे लेख्दैछु । सन् २०१५ मा चीनको पुर्विय भागमा दुई जना व्यक्तिले आफ्नो मृगौला बेचेर आईफोन सिक्स एस किन्न अस्पताल पुग्दै गर्दा प्रहरीले समातेको समाचार आएको थियो । तर यो घटना हाम्रो देशमा बेच्न तयार भएका मृगौलाको कहानी जस्तो नभई दर्दनाक छ । यस्तै सन् २०१२ मा एक गरीब इरानी आमाले आफ्नो छोरीको बिहेमा दाईजो दिनको लागी आफ्नो एउटा मृगौला बेचेकी थिइन् । ईरानमा यस्तो गतीविधी धेरै हुन्छन् । नेपालमा गरीबीका कारण मृगौला बेच्ने गरेको कुरा धेरै कमलाई थाहा होला वा सम्बन्धित निकायले थाहा पाएर पनि रोक्न कुनै चासो दिएको छैन । नेपालमा कतिपय गाउँमा मृगौला बिक्री गराउन दलालहरू रहेको मानिन्छ । यस्तै उदाहरणमध्ये काभ्रेको होक्सीङ गा.बि.स की ३७ बर्षिय गीता जसका चार वटा बालबच्चा छन् तर पनि उनले सन् २०१५ मा गएको ठूलो भुकम्पले सबै सखाप पारेपछि आफ्नो मृगौला बेच्न भारत गईन र एउटा मृगौला १ लाख पचास हजारमा बेचेर आईन र त्यही पैसाले अहिले एउटा सानो छाप्रो हालेर बसेकी छन् । यो एउटा प्रतिनिधी उदाहरण मात्र हो । यो गाउँका करीब ९० प्रतिशत मान्छेको एउटा मात्रै मृगौला छ भनिन्छ । यहाँ भुकम्पले गर्दा मात्रै होईन करीब दश बाह्र बर्षदेखी यहाँका मान्छेहरू मृगौला बेच्दै आएका छन् । यो गाउँ “मृगौला गाउँ” का नामले चिनिन्छ । यो राज्यलाई र सम्पुर्ण समाजलाई लज्जाको बिषय होभने जनता मृगौला बेच्न बाध्य छन् नेताहरू सेवा सुविधा थप्दै छन् । देशभित्र कतै कसैको मृगौला फेल भयो भने प्रत्यारोपण गर्न मृगौला छैनन् भने कतै गरीबीका कारण मृगौला बेचिएका छन् । माथी पेश गरेको उदाहरण एउटा नमुना मात्र हो । त्यो पनि बिदेशका ठूला मिडियाले बाहिर ल्याएपछि मात्रै थाहा भयो तर भित्र–भित्र कति जिल्ला होलान् जसले मृगौला बेच्न बाध्य छन् ।
बेच्न मिल्ने नमिल्नेदेखी बेच्न हुने नहुनेसम्म सबै बेचेकै छन् तर नेताहरू त्यसप्रति कत्ति पनि किन्चित गर्दैनन् किन कि उनीहरूको आफ्नो परिवारमा परेको छैन । दुई दिन अगाडी एउटा ठुला मिडियाले छापेको थियो कि सरकारले करीब चार लाखलाई गरीबी परिचयपत्र बाँढ्ने तयारीमा छ भन्ने । सरकारमा भएका नभएका सबैको घोषणापत्रमा समृद्धीका कुरा लेखेको छ तर जनतालाई गरीबी परिचयपत्र बाँड्ने यो कस्तो दुर्भाग्य होला । जनतालाई केही सामान्य सेवा सुविधा समेत दिन संकिदैन भने बरु खुला गर्दिनुस् कि जनताले मन लागेको आफ्ना अंग बेचेर बाँच्न सकुन । आफ्नै अंग बेच्न पनि लुकीछीपी भारत पुग्नु पर्ने । यस्तै एकपटक एक जना मृगौला बेच्न भारत पुगेछन् । गाउँमा मृगौलाको दलाली गर्न आएको मान्छेले उनलाई असी हजार भारु दिने भनेर लगेको रहेछ तर पछि उनलाई बीस हजार भारूभन्दा नदिएपछि प्रहरीमा उजुरी हालेका थिए । बेच्ने बेलामा कसैलाई थाहा नदिए पनि अब समस्या आएपछि उजुर नगरी भएन । त्यसरी ठगिएका कति छ कति । राज्यले खुलेआम चेलीबेटी बेचबिखन गरेको समेत रोक्न नखोजेर एनजीओ आईएनजीओलाई जिम्मा छोड्छ भने सुटुक्क बेच्ने मृगौलाको के कुरा गर्नु ।
राजधानीबाट धेरै टाढा नरहेको धादिङ जस्ता जिल्लामा पनि मान्छेहरू गरीबीको चरम पिडाबाट गुर्जिएका छन् । धेरै बर्ष अघि एउटा पत्रिकामा लेखेको थियो कि पढ्न र खान समेत धौ–धौ परेकोले छोरीलाई जानाजान बाउआमाले बेचेका थिए भनेर । यो बेचिएकी एउटी चेलीको दर्दनाक कथा थियो । कुन आमा–बालाई मन होला की पैसाको अभावमा छोराछोरी अरूलाई बेचेर गुजारा चलाउन परोस् तर अझैपनि धेरै गाउँहरू छन् जहाँ आधुनिक कमराकमारीका रुपमा आफ्नो सन्तान ऋण लिए बापत बेचेका छन् । भोली यिनीहरूको मृगौला सध्ये होला भन्नेमा विश्वास छैन ।
अरुको अभाव र पीडाले हामीलाई छुन पनि छोडी सक्यो । पहिला पहिला गाउँमा अधिकांशको घरमा आगो मागेर पैचों गरेरै कति सामिप्यता थियो तर हाल यो सबै हरायो । एउटा नेपालीले अर्को नेपालीको मृगौलाको व्यापारमा कमिशन खोज्ने भई सकेको छ समाज । यति ठुलो समाचार आएपछि राज्यले कुनै पनि ठाउँमा मृगौला बेच्न बाध्य नहुने गरी केही काम गर्नु पथ्र्यो तर राज्यलाई चासो छैन । जनता एकातिर अंग बेच्ने उच्च पदस्थहरू फ्रीज भएको रकम सक्न भन्दै बिदेश जाने वातावरण भएको छ । गरीबलाई बाँच्न पाउने संवैधानीक हक भए पनि व्यवहारिक रुपमा कठीन छ । यदि बिकसित देश भएको भए आज जनताले जुनसुकै कारणले अंग बेचेको भएपनि त्यहाँका जनप्रतिनिधीहरू हत्या सरहकै मुद्धामा जेल पर्थे तर विधम्बना हामी गणेशमानले भनेझै भेडा नै हौ । अझै पनि हामीले समाजमा देखेका यस्ता दुखत घटनाबारे सम्बन्धितको जवाफ मागौं । सरकार अझै कहिलेसम्म हामी बाँच्नैका लागी मृगौला बेचौ ? जबाफ दे !