पछिल्लो समय कृषियोग्य जमिन अव्यवस्थित रुपमा खण्डीकरण भएको छ । शिक्षा, स्वास्थ्य, यातायात, खानेपानीजस्ता सुविधाका कारण धेरैको रोजाई अहिले देशका ठूला शहर गन्तव्य बन्न थालेका छन् । कृषियोग्य जमिन अव्यवस्थित ढंगबाट खण्डीकरण हुँदै जान थालेपछि कृषियोग्य जमीन मासिदै गएको छ । खेतीका लागि उर्वर भूमी मासेर प्लटिङ गर्ने क्रम बढ्दो छ । अहिले ठूला शहरमा जग्गा कारोबार पनि उत्तिकै बढेको छ । पछिल्लो तथ्याङकलाई हेर्दा जग्गा खरिद बिक्री निकै बढेको देखिन्छ । शहर बजारमा जग्गाको मूल्य बढेपछि कृषियोग्य जमीन मासेर खण्डीकरण गरेर बिक्री हुँदै आएको छ । भू–उपयोग नीति बनेपनि ऐन आउन नसक्दा कृषियोग्य जमिन अव्यवस्थित रुपमा खण्डीकरण भएको हो । सरकारले विसं २०६९ वैशाख ४ गते राष्ट्रिय भू–उपयोग नीति स्वीकृत गरेको थियो । नीतिमा भूमिलाई बनोट, क्षमता, उपयुक्तता र आवश्यकताका आधारमा वर्गीकरण गर्ने, सो बमोजिम उपभोगका लागि भू–उपयोग योजना तयार गरी कार्यान्वयन गर्ने उल्लेख छ । भूमि तथा भूमिस्रोतको महत्व उपयोगका लागि कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, वन, सार्वजनिक उपयोग र आवश्यकताअनुसार तोकिएका अन्य क्षेत्र गरी भूमिको वर्गीकरण गर्ने नीतिमा उल्लेख छ ।
२० वर्षपछि हालै स्थानिय तहको चुनावबाट जनप्रतिनिधि चुनिएका छन् । उनीहरुले आफ्नो क्षेत्रलाई कसरी समृद्वि बनाउने भन्ने विषयमा पनि बहसमा जुटेका छन् । गलकोट क्षेत्र खेतपातीका लागि उर्वर क्षेत्रको रुपमा चिनिन्छ । गलकोट नगरपालिका बनेपछि त्यहाँका जनप्रतिनिधिहरुले गल्कोट नगरपालिकाभित्रका खेतीयोग्य जमिन मासेर घडेरी बिक्री गर्न प्लटिङ गर्नेक्रम बढेपछी गलकोट नगरपालिकाले जमीन खण्डीकरणमा रोक लगाएको छ । एकै वर्षमा तीनखेती गर्न सकिने गल्कोट क्षेत्रका उर्वरभुमी मासेर प्लटिङ गर्दै घडेरी बिक्री गर्ने क्रम बढेपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो । जुन निकै नै स्वागत योग्य छ । गलकोट नगरपालिकाको बिशेष बैठकले दुदिलाभाटी, नरेठाँटी, हटिया, हरिचौर, मल्म, काँडेबास, पाण्डवखानी, रिघा गाविस गाँभेर नगरपालिका घोषणा गरेपछि खेतीयोग्य जमिन मासेर अव्यवस्थित रुपमा प्लटिङ गर्न थालेकाले त्यसो गर्न रोक लगाइएको हो । खेतीयोग्य जमिनमा कृषिजन्य बालीे उत्पादन वृद्धि गर्नुपर्छ जसले आयातलाई प्रतिस्थापन गर्न ठूलो मद्दत पु¥याउँछ । त्यसैले जथाभावी जग्गा प्लटिङ गर्ने काम अन्य ठाउँमा पनि रोकिनु पर्छ । हामीले आफ्नो उर्वर भुमीको बेवास्ता गर्दै छिमेकी देशबाट आएको अन्न किनेर जीवन चलाई रहेका छौ । हामी कहिलेसम्म परनिर्भर बन्ने ? त्यसैले खेती योग्य जमीनलाई खण्डकीकरण होइन अन्न उब्जनी गरेर आत्मनिर्भर बन्नुपर्छ । गलकोट क्षेत्रका धेरै युवाहरु वैदेशिक रोजगारीमा जाँदा त्यहाँका थुप्रै खेतीयोग्य जमीनमा हनुमान झारले ढाकेको छ । त्यस्ता बाँझा जमीनमा पनि खेती गर्नको लागि नगरपालिकाले प्रेरित गर्नुपर्छ । गलकोटले थालेको जग्गा खण्डीकरणको अभियानलाई अन्य नगरपालिकाले पनि सिको गर्नुपर्छ । जसले उर्वरभूमीमा कंक्रिटको जंगल हुनबाट रोक्न सकिन्छ ।
Previous Articleउत्तर कोरियासंग युद्व भयो भने…
Next Article बाँच्नैका लागि मृगौला बेच्न नपरोस्