बागलुङ, १७ साउन – किसानलाई व्यवसायिक तरकारी उत्पादनमा आर्कषण गर्नका लागि बागलुङको अधिकारीचौरमा तीन महिने आइपिएम कृषक पाठशाला कार्यक्रम सम्पन्न गरिएको छ । पाठशालामा अधिकारीचौरका २५ जना किसानले भाग लिएका थिए । उनीहरुले मौषमी रुपमा मात्र उत्पादन गर्दै आएका कृषि फसललाई बेमौषमी समयमा उत्पादन गर्दा पाउने फाइदा तथा उन्नत जातको फसल उत्पादनको बारेमा सिकेका थिए । ‘पुरानो चलन अनुसार लगाइने तरकारी र कृषि फसल भन्दा नयाँ प्रविधिमा लगाइएकोबाट धेरै फाइदा कमाउन सकियो’ पाठशालाका अध्यक्ष श्रीकृष्ण कंडेलले भने, ‘कृषि विकास कार्यालयका प्राविधिक समेत आएर यो अभियानमा तीन महिना सम्म सहयोग गर्नुभयो ।’ अधिकारीचौरमा पाली जातको करेलाको व्यवसायिक खेतीका लागि यो पाठशाला आयोजना गरिएको थियो । कृषि सेवा केन्द्र बुर्तिवाङका प्राविधिक महेन्द्र अधिकारीले नियमित रुपमा पाठशालामा पुगेर किसानलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षण पछि बुर्तिवाङ बजारमा आउने तरकारीको मात्रा बढ्ने, बाहिरबाट खरिद गरिने फसलको सदुपयोग हुने विश्वास लिइएको छ । जिल्लाका सबै क्षेत्रमा त्यहीको माटो सुहाउँदो कृषि फसल उत्पादन गरेर किसानको आयस्तर बढाउने योजनाका साथ पाठशाला संचालन गरिएको कृषि विकास कार्यालयकी बागवानी विकास अधिकृत महिमा बज्राचार्यले बताईन् । बुर्तिवाङ बजारमा अधिकारीचौरको नाथुरी, सैखोलाबाट तरकारी आउने गर्छ । किसानले पनि पाठशालाबाट सिकेको शिपबाट आम्दानी भित्राउने पहल गर्ने विश्वास लिएका छन् ।
Previous Articleआविष्कार केन्द्रलाई सहयोग जारी
Next Article उत्तर कोरियासंग युद्व भयो भने…