बागलुङ, १७ साउन – राष्ट्रिय आविष्कार केन्द्र खोल्ने अभियान बोकेका महाविर पुनको अभियानलाई बागलुङका युवाहरुले सहयोग थालेका छन् । सहयोग गर्न गठन भएको ‘महाविर पुनलाई हाम्रो साथ’ अभियानका सदस्यहरुले यो अभियान थालेर ६० हजार रुपैयाँ संकलन गरिसकेका हुन् । महाविरको यो अभियानले युवाहरुको रोजगारीमा समेत सहयोग पुग्ने देखेर साथ अभियान थालेको संयोजक सोम शर्माले बताए । एक महिना अघि युवाहरुले पुनकै उपस्थितिमा अभियानको औपचारिक थालनी गरेका थिए । तीज लगायतका चाडपर्वको अवसर पारेर हुन लागेका मेलामा पनि स्टल राखेर युवाहरुले सहयोग अभियान थाल्ने बताएका छन् । पहिलो दिनमा संकलन भएको रकम बाहेक अहिले सम्म जापानमा रहेका छिस्ती घर भएका सुवास पौडेलले ५ हजार ५ सय ५५ रुपैयाँ, कोरियामा रहेका बागलुङकै बाबुराम कार्कीले ५ हजार, क्षेत्री समाजले ५ हजार र अभियान सहकारी संस्थाले पनि ५ हजार रुपैयाँ सहयोग गरेको शर्माले जानकारी दिए । साथै सहयोग गर्न चाहनेलाई इमेज सहकारी संस्थाको खातामा १०४०३०१०००४१८२ मा पनि रकम जम्मा गरेर सहयोग गर्न सकिने शर्माले बताए । महाविर पुनले केही बर्ष देखि राष्ट्रिय आविष्कार केन्द्र स्थापनाको अभियान संचालन गरिरहेका छन् । यो अभियानलाई सरकारलेपनि ५ करोड रुपैयाँ सहयोग गरेको छ । उनको योजनामा भने ५० करोड आवस्यक छ ।