बगलुङ, १२ साउन-गलकोट नगरपालिकाका फाँटमा लगाइएको धान खेतीमा समस्या देखीएको छ । डेढ महिनाअघि रोपिएको धान गोड्ने समयमा एकाएक समस्या देखीए पछि किसानहरु चिन्तित भएका छन् । हटिया कृषि सेवा केन्द्रका प्रमुख प्राविधिक डम्बर नारायण दाहालका अनुसार फुट रोट र ब्राउन लिप स्पट नामक ती रोगले उत्पादनमा कमी आउने बताए । ‘गलकोटमा अहिले धानको फेद कुहिने ,धानको पातमा धब्बाहरु लाग्ने समस्या देखिएको छ यसको उपचारका लागि हामीले तयारी थालेका छौं’ दाहालले भने, ‘किसानलाई पनि समयमै उपचारका लागि सक्रिय बन्न आग्रह गरेका छौं ।’ पातमा देखिने धम्बाको समयमै उपचार गर्न सकेमा उत्पादनमा १० देखि १५ प्रतिशत मात्र क्षति पुग्ने र फेद कुहिएका बोट भने पुरै नष्ट गर्नुपर्ने उनले बताए । अघिल्लो बर्ष पनि छिटफुट रुपमा यो समस्या केही स्थानमा देखिएको थियो । तर यो बर्ष भने धेरैजसो स्थानमा देखिन लागेकोले जिल्ला कृषि विकास कार्यालयमा समेत जानकारी गराएको उनले बताए । त्यसका लागि फेद कुहिने रोगका लागि साफ र पातको धब्बा हटाउनका लागि डेभिस्टीन नामक औषधि प्रयोग गर्नुपर्ने उनले बताए । धान उत्पादनमा कमी आउने भएपछि किसानहरु चिन्तामा परेका छन् । ‘समयमै रोपाई सकियो भनेर खुसी भएपनि रोग लागेर खेती सखाप हुने भयो’ गलकोट नगरपालिका ६ हरिचौरकी दर्गाकुमारी बस्नेतले भनिन्, ‘रोगको उपचारको खोजीमा हिडेका छौं ।’ सयममा उपचार गर्न नसके सबै धान सखाप हुन सक्ने उनीहरुले चिन्ता गरेका छन् । जिल्लामा धेरै धान उत्पादन हुने स्थानको रुपमा गलकोट क्षेत्र गनिन्छ । यहाँ जेठ दोश्रो सातादेखिनै धान रोपाई हुन्छ । असार पहिलो सातासम्ममा सबै किसानले रापाई सक्ने गर्छन् । अघिल्लो बर्ष नेपालको पूर्वि पहाडी क्षेत्रमा पनि यस्तो रोग देखिएको थियो । समयमा उपचार पाएमा धेरै क्षति नहुने दाहालले जानकारी दिए । प्रशिक्षार्थी