बागलुङ, ११ साउन – बेनी नगरपालिका–१ रत्नेचौरबाट बागलुङ नगरपालिका–४ कुडुले जोड्ने अग्लो झोलुङ्गे पुलको मंगलबार सर्वे गरिएको छ । स्थानीय विकास मन्त्रालयबाट खटिएको टोलीले रत्नेचौरको बुढाचौरबाट कुडुँलेको डिल जोड्ने गरी विस्तृत आयोजना प्रतिवेदन (डिपीआर) तयार गरेको छ । रत्नेचौरबाट बागलुङ जाने स्थानीयका साथै पर्यटकीय दृष्टिकोणले समेत महत्वपुर्ण मानिएको पुल निर्माणका लागि डिपिआर तयार भएलगत्तै थप छलफल हुने रत्नेचौरका सन्तोष रावलले बताए । रत्नेचौर, ज्यामरुककोट लगाएत आसपासका क्षेत्रका बासिन्दा सदरमुकाम बेनी भन्दा बागलुङमा आर्थिक कारोबार लगाएतका गतिविधि गर्ने भएकाले पुलले आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । करिव डेढ करोड लागतको अनुमान गरिएको पुल ३ सय ७० मिटर लम्बाईको हुने छ । समुन्द्री सतह देखी १ हजार ८० मिटर उचाईमा निर्माण हुने पुलका लागि स्थानीयस्तरबाट समेत सहयोग हुने रत्नेचौरका वडा अध्यक्ष टेकबहादुर रावलले बताए । पुल निर्माण पछि रत्नेचौरमा रहेको मैदान, अञ्चलकै सबैभन्दा ठुलो मानवनिर्मित बुढोपोखरीको प्रचारप्रसार हुने अपेक्षा गरिएकोछ ।