कृष्ण प्रसाद शर्मा
प्रसिद्ध साहित्यकार चिनुवा च्यवे ले “म्यारिज ईज अ प्राईभेट एफ्यर” अर्थात विवाह व्यक्तिगत मामला होभने झै प्रेम पनि व्यक्तिगत ममला नै हो । प्रेम हुने कुरा कोसँग कति बेला हुन्छ त्यसको कुनै साईत हुँदैन । प्रेम पछि विवाह नै हुनुपर्छ भन्ने बाध्यता पनि छैन । विवाह व्यक्तिको चाहनामा भर पर्छ । हरेक मान्छेको बाँच्ने तरिका फरक–फरक हुन्छ जसका लागी हामीले अरूको ढोकाको चुक्कुल छाम्न जरुरी छैन । अन्तरजातिय प्रेम सम्बन्ध प्रतिको धारणा आज भन्दा २० बर्ष पहिले जस्तो थियो त्यस्तो नभए पनि कतिपय घटनामा भने बीस बर्ष पहिलेको भन्दा कम छैनन् । अन्तरजातिय घटनाको एउटा पुराना घटना याद छ कि बागलुङको बानपा–१२ का एक गायक थर भएका केटाले बाहुन थर भएकी केटीसँग आजभन्दा २० बर्ष पहिला प्रेम गर्दा उनीहरुलाई गाउँ निकाला नै गरेका थिए आज उनीहरु प्रेमका आर्दश थिए भन्न समेत सकेका छैनौं । सार्वजनिक रुपमा बेईज्जत गरेर दुबैलाई जवरजस्ती छुट्टाए अपसोच म आज जसरी लेख्न संके त्यो बेला बोल्ने हिम्मत कसैको थिएन । किन कि हामी केटाकेटी नै थियौं । हो त्यसरी नै भर्खर मात्रै उच्च जातको केटासँग प्रेम गरेको निहुमा आफ्नै बाबुले कुटेको घटनाको भिडियो भाईरल भयो तर त्यो कथा बेच्ने पत्रिका धेरै भए तर तत्काल कसैले रोक्न सकेनन् वा चासो देखाएनन् तर मुद्धासम्म दर्ता भएको छ ।
अन्तरजातिय बिवाह गरेर सफल जीवन बिताएका प्रशस्तै उदाहरण छन् भने सफल हुनै नदिने आजको दिनमा पनि ठूलो जमात छ । अस्ति मात्रै फेसबुकमा मैले चुनाव जितेपछि नमस्कार गर्न पर्छ भनेर टिकट नदिने समाजमा अन्तरजातिय प्रेम गर्दा गाह्रो पक्कै हुन्छ भनेर लेखेको थिएँ । जसको टिप्पणीमा कसैले त्यस्तो नेपालमा छैन लेखे भने कतिपयले तपाई आफु गरेर देखाउनुस् समेत लेखे । मलाई लाग्यो आजको दिनमा दलितको नमस्कार बिटुलो सोच्ने यस्तै मान्छेहरू हुन । मेरै कतिपय विद्यार्थी र साथीले अन्तरजातिय प्रेमलाई सफल जीवनको रुपमा दाम्पत्य जीवन बेतित गरेका उदाहरण छन् त्यो कुनैदिन छुट्टै लेखौंला । अन्तरजातिय प्रेम बिवाह वा प्रेममा संधै उच्च जातबाटै बाधा पु¥याएको देखिन्छ चाहे त्यो उही जातमा किन नहोस् । जैसी बाहुनको छोरी समेत उपाध्य बाहुनले गर्न नदिने समाज छ । दलित र गैरदलित बीचको सम्बन्ध त अझ महापाप नै सम्झिन्छन् मान्छेहरू ।
केही दिन अगाडी एक एघार बर्षिय दलित बालिकालाई उच्च जातको केटाले बलात्कार गरे पछि गाउँ निकाला गरेको समाचार आएको थियो । यो घटना तपाई हाम्रो घरको भनेर सोच्नुस् त कस्तो संवेदनशील छ तर यो आफ्नो नभएको हुँदा हामी चुप लाग्यौ र भन्यौ यो प्रहरीले हेरी हाल्छ नी भनेर । अन्तरजातिय प्रेम खास गरी दलित र गैर दलितको बीचको सम्बन्धलाई राज्यले प्रोत्साहन स्वरुप एक लाख रुपैयाँ विवाहित जोडीलाई दिने भने पनि खासमा त्यसको समर्थन खुलेर गरिएको छैन । हामी रक्सीसंगै खाँदा जातभात केही नदेखे पनि भात र चिया खादाँ भने जातको आफ्नो रङ देखाई हाल्छौ । कतिपय मान्छेहरू अगुवा नै छन् जो जाँडसँगै खाए पनि भात संगै खान मान्दैनन् ।
राज्यले छुवाछुत प्रथा हटाई सकेको छ तर व्यवहारमा अझै धेरै ठाउँमा कायमै छ । हामीले अन्तरजातिय प्रेमका बारेमा समाजमा आवश्यक छलफल समेत गर्दैनौ । प्रेमका सफल कथा भन्दा बिफल गराईएका कथा मात्रै सुनाउँछौ । हालको बानपा–१२ का सुजन परियार भाईको अन्तरजातिय प्रेम विवाह थियो उनी अहिले सदरमुकाममा एक असल, उदाहरणीय र ईमान्दार एवं व्यवसाहिक रुपमा समेत सफल व्यक्तिका रुपमा परिचित छन्भने उनीहरूको जीवन एक आर्दश हो तर हामी उनीहरूको कथा सुनाउन चाहँदैनौ केवल बिफलका मात्रै कुरा गरेका हुन्छौं । पढेलेखेका मान्छेहरू अन्तरजातिय प्रेम वा विवाह यस बारेमा बहस गर्न खासै रुचाउँदैन किन कि अधिकांश बहसहरु प्रायोजित हुन्छन यसमा कतैबाट हालसम्म लगानी छैन बिना आम्दानीको बिषयमा धेरै उच्च बहस हामी कहाँ हुँदैनन् । राजनैतिक बहस निकै हुन्छ किन कि यसमा ठूलो लगानी छ अन्यत्रबाट । त्यसैले मौन बस्ने बुद्धीजीवीका कारण समेत यो समस्या जटिल बनेको छ । जातका बारेमा गरिएको अपव्याख्या र धर्ममा कम भएको तर ब्याख्यामा अतिरजिंत गरिएका कारण पनि अन्तरजातिय प्रेममा बाधा आएको छन् । पण्डित बन्नु र धर्मिक प्रवचनमा खटिएका केही धर्म गुरुहरूले अन्तरजातिय प्रेमको बारेमा गलत सन्देश दिईरहेका छन् । बुद्धले दलितको हातको पानी खाए भन्ने कुरालाई हामी उनका अरू दर्शनसंग जोडेर हेरेनौ । जुन सुकै धर्मले मान्छे बीच विभेद गरेको छैन तर व्याख्याले गर्दा आज धर्म र जातको उच नीच बनाईएको छ ।
समाजका अगुवाहरू जसले समाजमा राजनैतिक रुपमा र सामाजिक रुपमा अगुवाई गरेका छन् उनीहरूको स्कुलिङ नै गलत छ। अस्ति भर्खर घटेको घटनामा केटी पक्ष जो दलित थिए उनीहरूलाई नवनियुक्त जनप्रतिनिधिले जारीवाना नै तोके । यसबाट के देखिन्छ भने जनप्रतिनिधि नै स्वंम यस्ता घटनामा मलजल गरिरहेछन् । अक्सर अन्तरजातिय बिवाह वा प्रेमका घटना स्कुलको अन्तिम चरणमा वा कलेजको पहिलो चरणमा देखिन्छ । हाम्रा पाठ्यपुस्तक र शिक्षकहरू समेत यस्ता घटनामा रासायनिक मल बनेका छन् । अन्तरजातिय प्रेम भएको थाहा पाए पछि स्कुलमै शिक्षकबाट अपमानित भएका घटनाहरू छन्भने पाठ्य सामाग्रीमा प्रेमका बारेमा कहिंकतै त्यस्ता जीवन उपयोगी सामाग्री समेत छैनन् । माटाका भाँडा बनाउने शिक्षामा बजारबाट किनेर लगेर देखाएका भाँडावाला विद्यार्थीले धेरै अंक पाए जस्तै प्रेममा परेकाहरूलाई अंगाल्ने भन्दा बढी छोड्न बल पुग्ने गतिबिधी विद्यालयमा भएका छन् । स्वंम शिक्षक यसको बिपक्षमा उभिएर प्रवचन दिएको देखेका छौं ।
अन्तरजातिय प्रेम सम्बन्धका बारेमा सन्दर्भ सामाग्री समेत धेरै छैनन् हाम्रा पुस्तकालयहरूमा । हामीले रोमियो जुलियटका, लैला मजनु र मुन मदनका प्रेमका कुरा गरेपनि यी केवल आर्दशबादका तखतामा बसेका छन् । कसैलाई यो समस्या आए रावणको व्यवहार गर्छौंतर कुरा राम र सीताका उदाहरण दिन्छौं । हाम्रो योग्यतामा केवल वुद्धिको खोजी छ ज्ञानको छैन । कम पढेका वा नपढेका तर ज्ञान भएका यस्ता अन्तरजातिय प्रेमका कथालाई प्रेरणादायी कुराको रुपमा सुनाउ । समाजले वहिष्कार गर्छ भन्ने डरले होईन मनले जे भन्छ त्यो गरौं । प्रेममा जात हुँदैन । यो बिना रङको वेभलिङक हो । त्यसैले प्रेम गर्नु पाप होईन तर प्रेमका नाममा भोली गलत बाटोतर्फ लाग्दा भने यसमा मलजल गर्नेलाई खुराक पुग्छ त्यो भने बिचार गरौं । प्रेम बरदान हो पाप होईन । चाहेर मात्रै प्रेम हुँदैन जसको हुन्छ त्यो अमर हुनु पर्छ । जहाँ अन्तरमनले प्रेम गर्छ त्यसमा जातको पर्खाल हुनु हुँदैन । अरूले साथ नदिए पनि हामीले सधैं धाप मार्ने छौं । जय प्रेम !!