बागलुङ, १० साउन – गत बैसाख ३१गते सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरु मार्फत गठन गरिने जिल्ला समन्वय समिति निर्माण प्रकृया शुरु भएको छ । निर्वाचन आयोगले समिति गठनका लागि आवस्यक काम थालिसकेको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले बताए । आईतवार कार्यालय स्थापना भएको र अन्य प्रकृया पनि थालिएको उनले जानकारी गराएका हुन् । उनका अनुसार ५ दिन भित्र निर्वाचन कार्यक्रम तालिका सार्र्वजनिक गरेर १० दिन भित्र ९ सदस्य रहेको समन्वय समिति गठन गर्ने तयारी छ । जिल्ला समन्वय समितिको रुपमा नामाकरण भएपछि यो समितिले जिल्लाको विकास निर्माण र अन्य प्रशासनिक काममा सबै नगरपालिका र गाउँपालिकासँग समन्वय गर्ने व्यवस्था हुनेछ । समन्वय समितिका लागि सबै नगर र गाउँ सभाका सदस्य मध्येबाट १ प्रमुख, १ उपप्रमुख, १ दलित, १ अल्पसंख्यक समुदायका व्यक्ति, ३ महिला र ३ जना अन्यलाई निर्वाचित गर्ने प्रावधान छ । गत निर्वाचनमा निर्वाचित भएका ४ सय ६९ जना प्रतितिधिबाट उमेदवार बन्न पाईनेछ भने मतदान हरेक नगर र गाउँपालिकाका प्रमुख उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षले मात्र गर्न पाउने छन् । गत निर्वाचनमा बागलुङको ४ तहमा कांग्रेस, ४ तहमा एमाले, एक तहमा माओवादी र १ तहमा राजमोले जितेको छ ।
Previous Articleकर व्यवहारिक नभएको भन्दै आपत्ति प्रकट
Next Article अन्तरजातिय प्रेमका बाधा र बाधक