बागलुङ, १० साउन – ढोरपाटन नगरपालिकाले निर्धारण गरेको स्थानीय कर व्यवहारिक र बैज्ञानिक नभएको भन्दै स्थानीय राजनैतिक दलहरुले सोमबार आयोजित अन्तरक्रिया कार्यक्रममा आपत्ति प्रकट गरेका छन् । नगरपालिकाको आर्थिक वर्ष ०७४ र ७५ का लागि विनियोजित बजेटसंगै आन्तरिक राजश्व संकलनका लागि नीतिगत रुपमा विभिन्न शीर्षकमा कर लगाउने निर्णय भएको छ । नगर कार्यपालिकाले निर्धारण गरेको करका दायरा जनताले तिर्न नसक्ने गरि ल्याइएको भन्दै दलका नेताहरुले तत्काल उक्त निर्णयलाई सच्याएर जनतालाई सहज हुने गरि करको दायरा निर्धारण गर्न नगरपालिकाका प्रतिनिधिहरुलाई दवाव दिनुपर्ने कार्यक्रमका वक्ताहरुले बोलेका छन् । त्यससँगै उनीहरुले आर्थिक वर्षका लागि विनियोजन गरिएको वजेट समेत व्यवहारिक नभएको टिप्पणी गरेका छन् । नगरपालिकाका जनप्रतिनिधिहरु जनमुखी भएर कार्यक्रम गर्न नसक्ने भएपनि आफ्ना तर्फबाट निर्वाचित भएका प्रतिनिधिहरुलाई फिर्ता बोलाउन सक्ने समेत बताएका छन् । नगरपालिकाको कार्यालयबाट यस आर्थिक वर्षकालागि व्यवसायीक करतर्फ वार्षिक न्यूनतम १२ सय देखि अधिकतम ८ हजारसम्म करको दायरा तोकिएको छ । घरधुरी कर तर्फ वार्षिक न्यूनतम ३ सयदेखि ३ हजारसम्म निर्धारण गरिएको छ । यस्तै ५ प्रतिशतका दरले घरबहाल कर, एकीकृत सम्पत्ति कर, भूमीकर जडिबुटी, कवाडी तथा जीवजन्तु कर, सवारी साधन कर, विज्ञापन कर, मनोरञ्जन कर, बहाल बिरौटी शुल्क, पार्किङ शुल्क, सेवा शुल्क दस्तुर, पर्यटन शुल्क लगायतका १५ प्रकारका करका दायरा निर्धारण गरेको छ । त्यससँगै फोहोर व्यवस्थापन शुल्क समेत न्यूनतम २ सयदेखि १ हजारसम्म प्रतिमहिना प्रति घरधुरी तोकिएकोले उक्त शुल्क समेत बढी भएको भन्दै तत्काल व्यवहारिक ढंगले समायोजन गरिनु पर्नेमा जोड दिइएको छ । कार्यक्रममा काँग्रेसका शालिग्राम शर्मा, माओवादी केन्द्रका फारम बहादुर महत, राष्ट्रिय जनमोर्चाका गौरीश्वर पाण्डे, क्रान्तिकारी माओवादीका निलबहादुर पुन, नेपाल कम्युनिष्ट पार्टीका हरी कुवँर, बीरबहादुर विश्वकर्मा, दलबहादुर भण्डारी दुर्गादेवी घर्ती, होटल व्यवासायी समितिका धु्रव श्रेष्ठ, फेन्सी व्यवसायीका सविन अर्गेजा, शिवध्वज पुन र अशोक विश्वकर्माले आ आफ्ना धारणा राखेका थिए । कार्यक्रम बुर्तिबाङ राइजिङ युवा क्लवले आयोजना गरेको थियो ।