बर्षात लागेपछि धेरै सवारी दुर्घटनाका खवरहरु आइरहेका छन् । ती दुर्घटनामा धेरै मानिसको ज्यान गएको छ । अधिकांस दुर्घटनाहरु कच्ची सडक, ग्रेड नमिलेको, ब्रेक नलागेको र यात्री धेरै भएको जानकारीमा आएको छ ।
प्राय दुर्घटनाहरु हेर्दा लापरबाहीको कारण भएको सहजै अनुमान लगाउन सकिन्छ । बर्षात लागेपछि ग्रामीण सडकहरुको अवस्था निकै कमजोर भएको छ । हिउँदमा जवरजस्ती डोजर प्रयोग गरेर खनिएका सडक र पुरिएको माटो बर्षातमा बाढी पहिरोको रुपमा खसेर घर खेत बगाउने गरेको छ । बचेको सडक पनि निकै कमजोर भएकोले सवारी गुड्न लायक हुँदैनन् । तर हामी यात्री, चालक र सवारी धनी समेतले जवरजस्ती सवारी चलाउन प्रेरित गरिरहेका छौं । जसका कारण यस्ता प्रकारका दुर्घटना भएका छन् । दुर्घटनामा घाईते भएकाहरुको पनि टाउको र शरिरभरी लाग्ने चोटले जीवनभर अपांग भएर बस्नुपर्ने बाध्यता छ । ग्रामीण क्षेत्रका बासिन्दाहरुले जीवनभर अपांग भएर बस्दाको पिडा अर्को दर्दनाक छ । आर्थिक रुपमा मध्यम र न्युन वर्गमा मानिसले दैनिक मजदुरी र काम गरेर दुइछाक खाने गरेकोमा यस्ता घटनाले जीवन र परिवारै अपांग बन्छ ।
दुर्घटनाहरु आँफैमा खराव छन् । तर ती दुर्घटना निम्तने प्रमुख कारण अनुमति नभएको सडकमा गुड्नु हो । यातायात व्यवस्था कार्यालयले कुन सडकमा सवारी चल्न सक्छ ? कुनमा चल्न सक्दैन भन्ने मापदण्ड बनाउनुपर्ने कानून छ । तर अहिले सम्म धौलागिरीका कति किमी सडकलाई अनुमति दियो, कति दिएको छैन भन्ने कार्यालय सँग तथ्यांक छैन । अझ हाम्रा धेरै सवारी धनी, यात्री र चालकलाई अनुमति पाएको सडकमा मात्र सवारी साधन गुडाउनु पर्छ भन्ने हेक्का छैन । न त कर्मचारी, प्रशासन र प्रहरीले ती स्थानमा सवारी गुड्न रोक्नुपर्छ भन्ने सोचाई राखेका छन् । प्रहरी प्रशासनले कम्तिमा बर्षातका लागि तोकिएका सडकमा सवारी चलाउन मनाई छ भन्ने सूचना पनि जारी गरेको पाईदैन । गाउँ र नगरपालिकाको विकासे बजेट मध्ये सबैभन्दा धेरै सडक खन्नकै लागि प्रयोग भएको पाइन्छ । तर त्यसको गुणस्तर, ग्रेडिङ र क्षमताको बारेमा अहिले सम्म साविकका गाविस, गाउँ र नगरपालिका तथा त्यहाँ नेतृत्व गर्ने दलका प्रतिनिधिले पनि बोलेको पाईदैन ।
सवारी धनी र चालकले पनि आफ्नो सवारी कति पुरानो हो ? कति क्षमताको भार बहन गर्न सक्छ ? कुन स्थानको सडकमा गुड्दा कति यात्री राख्ने भन्ने पनि कुनै मापदण्ड बनाएका छैनन् । पैसा आउने भएमा जति सुकै यात्री र सामान राख्न उनीहरु तयार हुन्छन् । तसर्थ प्रशासन, प्रहरी र यातायात व्यवस्था कार्यालयले तत्काल जिल्लाका सडकको स्तर मापन गरेर प्रतिवेदन सार्वजनिक गर्न जरुरी छ । बर्षातमा कुनकुन सडकमा सवारी चल्न अनुमति दिने, कुनमा नदिने भन्ने स्पष्ट निर्देशन गर्न सकेमा दुर्घटनाबाट बच्न सकिने देखिन्छ । साथै कति बर्ष पुराना भएका सवारी चल्न पाउने भन्ने पनि न्युनतम मापदण्ड बनाएर सडक दुर्घटना न्युनिकरण गर्न सकिन्छ ।
Previous Articleनागरिक संवाद केन्द्रले अन्तरक्रिया गर्ने
Next Article कर व्यवहारिक नभएको भन्दै आपत्ति प्रकट