बागलुङ, ८ साउन -बडीगाड गाउँकार्यपालिकाको नियमित बैठक शनिबार सम्पन्न भएको छ । बैठकले बडीगाड गाउँपालिकाको लागी ग्वालीचौरको न्वार, खौलार, खार, रिखेटारी, जोगीबगरमा स्थानियले उपलब्ध गराउने भनेको जग्गा स्वीकार गर्ने निर्णय गरेको छ । जसअनुसार खार बजारमा गाउँपालिकाको कार्यालय, न्वारमा क्याम्पस र खौलारमा अस्पताल स्थापना गर्ने तथा रिखेटारी र जोगीबगरमा पछि आवश्यक पर्ने कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । प्रत्येक स्थानवाट झण्डै १० रोपनीको दरले जग्गा प्राप्त भएको हो । गाउँपालिकाका प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष विष्णुप्रसाद भुसालका अनुसार गाउँपालिकालाई स्थानिय जग्गा धनीहरुको निर्णय सहित बुझाईएका फाइल अनुसार यहि साउन १० गते भित्र सम्बन्धित जग्गा धनीले गाउँपालिकाको कार्यालयमै पुगी सम्झौता गर्नुपर्ने र १३ गतेसम्म गाउँपालिकाको नाममा रजिष्ट्रेशन पास गरिसक्नुपर्ने निर्णय गरिएको छ । यदि समयमै गाउँपालिकाको नाममा रजिष्ट्रेशन नभएमा कार्यालयको स्थान परिवर्तन गरिने समेत गाउँकार्यपालिकाले निर्णय गरेको छ । त्यस्तै गाउँपालिकाको बजेटबाट सम्बोधन गर्न नसकिएका तथा ठूला आयोजनाहरु निर्माण गर्नको लागी गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाको संयोजकत्वमा ७ सदस्यीय टोली काठमाडौंमा डेलिगेशन जाने निर्णय गरेको छ । डेलिगेशन टोलीमा विष्णु भुसाल, अर्जुन खरेल, वीरेन्द्र वुढा, बमबहादुर थापा, खड्क पुन, र कर्मचारीको तर्फबाट नासु थम्मनबहादुर रेश्मी रहेका छन् । त्यस्तै शनिबारैको वैठकले गाउँपालिका भित्रका नागरिकहरु जटिल रोगहरु (क्यान्सर, मुटु, अल्जाइमर, मृगौला) बाट ग्रसित हुन पुगे अस्पतालको सिफारिसमा २० हजारदेखि ३० हजारसम्म सहयोग गर्ने र सो अधिकार अध्यक्षलाई दिने निर्णय गरेको छ । बैठकमा पहिलो गाउँ सभाको समिक्षा समेत गरिएको थियो । समिक्षामा सबै वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुले प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकले गाउँ सभा सफल रहेको निष्कर्ष निकालेको थियो । त्यस्तै बैठकले संवैधानिक व्यवस्था अनुसार न्यायीक समितिलाई पूर्णता दिएको छ । जसअनुसार गाउँपालिका उपाध्यक्ष अम्मरबहादुर श्रीस संयोजक, अर्जुनप्रसाद खरेल सदस्य तथा हिमाकुमारी खरेल सदस्य रहेका छन् । बैठक गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता, तथा ना.सु थम्मनबहादुर रेश्मीको संचालनमा सम्पन्न भएको थियो ।