अमेरिकी शोधकर्ताहरुका अनुसार एचआइभी एड्स विरुद्धको खोप बनाउनमा गाई निकै सहयोगी सावित हुन सक्दछ । रोग प्रतिरोधी प्रणालीको रुपमा गाईले लगातार यस्ता विशेष एन्टीबडीज उत्पादन गर्दछ जसको माध्यमबाट एड्सका भाइरसलाई निर्मूल पार्न सकिन्छ । गाइको जटिल तथा ब्याक्टेरियायुक्त पाचन तन्त्रको कारणले गाईमा प्रतिरक्षा प्रणाली उच्चतहमा विकशित भएको हुन्छ । अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ हेल्थले यस नयाँ जानकारीलाई निकै फलदायी ठहराएको छ । एचआइभी नामक भाइरस एक घातक भाइरस हो जसले यति तीब्र रुपमा आफ्नो स्थिति बदल्छ कि भाइरसलाई मानिसको प्रतिरक्षा प्रणालीमा हमला गर्ने मार्ग प्रसस्त हुन्छ । एचआइभीले आफ्नो उपस्थितिलाई बदलिरहन सक्दछ । यस्तोमा एक भ्याक्सिनले विरामीको रोग प्रतिरोधक प्रणालीलाई विकसित गर्न सक्दछ र मानिसलाई संक्रमणको प्रारम्भिक अवस्थामै जोगाउन सक्दछ । इन्टरनेसनल एड्स भ्याक्सिन इनिसिएटिभ तथा द स्क्रिप्स रिसर्च इन्स्िटच्यूटले गाइको प्रतिरक्षा क्षमताको विषयमा परीक्षण सुरु गरे । एक शोधकर्ता डाक्टर डेभिन सोकले बीबीसीलाई भनेका छन्, ‘यसको परिणामले हामीलाई अचम्ममा पारेको छ ।’ जरुरी एन्टीबडीहरु गाइको प्रतिरक्षा प्रणालीले केही हप्तामै बनाउँदछ ।
डाक्टर सोक भन्छन्, ‘यो निकै नै खुसी तुल्याउने मौका थियो । मानिसमा यस्तो एन्टीबडी विकसित हुनलाई करीब ३ देखि ५ वर्षसम्म लाग्छ ।’ उनी अगाडि भन्छन्, ‘यो निकै महत्वपूर्ण यसकारण पनि छ की यसभन्दा पहिले यो यति सजिलो लागिरहेको थिएन । एचआइभीको उपचारमा गाइको योगदान हुनसक्छ भन्ने कसलाई थाहा थियो र ?’ नेचर जर्नलमा प्रकाशित शोध अनुसार गाइको एन्टीबडीहरुबाट एचआइभीको असरलाई ४२ दिनमै २० प्रतिशत सम्म कम गर्न सकिन्छ । प्रयोगशाला परीक्षणमा यो पत्ता लागेको छ की ३ सय ८१ दिनमा यो एन्टीबडीले एचआइभीलाई ९६ प्रतिशत सम्म नष्ट गरिदिन सक्दछ ।
–बीसीबाट