लालबहादुर ऋतम्भरा
वितिसकेछ सिंगै आधा जुनी
एउटा सुन्दर फूल झरेको पनि
त्यो झर्यो तर झरेन भुईमा
ओइलिएर मिलेन माटोमा
बरु हाम्रा शिरहरुमा सजिएर
उत्तिकै मगमगाउदो छ आजपनि
उत्तिकै ताजा अहिले पनि, जहिले पनि
जस्तो कि वसन्त क्रृतुको लालीगुँरास त्यस्त
क. पुष्पलाल
जो बाँचिरहेछन्, जीवन्त यादहरुमा
पुरानो नहुने संझनाहरुसँगै
मृत्युलाई पनि जित्ने विजेताहरु
महान् योद्धाहरु
साथमा हुन्नन् र पनि सबैका माझमा हुन्छन्
जस्तो कि क. पुष्पलाल
एउटा व्यस्तचोकमा ट्राफिक प्रहरीले जस्तै हात हल्लाइरहेछन्
हामीलाई र हाम्रो क्रान्तिलाई बाटो देखाउन
इन्जिनियरले नयाँ घरको नक्सा कोरेजस्तै
कोरेर देखाइरहेछन् हामीलाई हाम्रो भोली
गुरुले शिष्यलाई पढाएजस्तै
हामीलाई पढाइरहेका छन्, हाम्रो इतिहास र विश्व क्रान्ति
उनले मागेनन् गुरुदक्षिणा द्रोणाचार्यले जस्तो
महान् छन् क. पुष्पलाल
त्यसैले त उनको संझनामा रसाउँछ छाती र भिज्छन् परेलीहरु ।
उनकै सपनाको आकासमा
पंक्षीहरु कावा खाएका छन्
हाम्रा ज्ञानका परेलीहरुमा
उनकै रचनाहरु जगमगाएका छन्
हामीले पल्टाउने प्रत्येक स्मृतिका पानाहरु
भरिएका छन् उनकै नामले, उनकै योगदानले ।
खारेर विचार र संघर्षको भट्टीमा
मनमौजी मन र वचपना उमेर
समर्पित गरेर क्रान्तिमा
वैशालु वैयक्तिक रहरहरु
भन्दै जनताको मुक्ति र समाजवाद
भन्दै न्याय, समानता र स्वन्त्रतता
अनुवाद गरे विश्वकम्युनिष्ट घोषणापत्र
बनाए, कम्युनिष्ट पार्टी
तिनै एक हत्केला मानिसले बनाएको पार्टी
लाखौ मुठ्ठीमा कस्सिएको छ र भन्दैछ यतिवेला
इन्कलाव जिन्दावाद
पुष्पलाल जिन्दावाद
कालो रातमा जन्मिए
र सुन्दर विहानीको खोजीमा
अविरल बगिरहे पुष्पलाल
सिञ्चित गर्दै बञ्जर भूमि
भत्काउदै साँघुरा साँध, सिमाना
अप्ठ्यारा गल्छी र कुइनेटाहरु छिचोलेर
शिखरित भइरहे पुष्पलाल
पहाड जत्रा समस्याहरु बोकेर
दुःखको सगरमाथा चढिरहे पुष्पलाल
रोेग, भोक र शोेकलाई कुल्चेर पाइतालामुनि
आधीहुरी र चट्याङका तोडमा पनि
सतिसाल जस्तो बाँचिरहे निष्ठाको जिन्दगी
शिरोपर गर्दै मूल्य र मान्यता
बोकेर अटल आस्था र विश्वास
जुधिरहे संघर्ष मैदानमा
मुस्कुराइरहे लालिमा बोकेर अनुहारभरि
नछोड्ुन मार्ग लक्ष्यको भन्दै
हुन्छ जीत सत्यको भन्दै
लम्किरहे, चम्किरहे क. पुष्पलाल
यसरी उदाइरहे क. पुष्पलाल
आशाका किरण बनेर झुपडीमा
जहाँ हामीले सुकाइरह्यौ
तुषारोमा छोपिएको मन र पसिनाले निथु्रक्क भिजेको शरिर
‘पुष्प’ जस्तो कोमल
‘लाल’ जस्तो क्रान्तिवीर
भएर पुष्पलाल, बाँचिरहेका छन्
प्रेरणास्रोत बनेर, आजन्म आजन्म
हाम्रो संझनामा
धन्य पुष्पलाल
सलाम पुष्पलाल