के म मेरो पति र परिवारलाई खुसी राख्न सक्छु ? अक्सर नव–दुलहीको मनमा उठ्ने प्रश्न हो यो । र, यो स्वभाविक पनि हो । जब बुहारी बनेर अर्को घरमा प्रवेश गरिन्छ, सबै कुरा नौला हुन्छन् । परिवारका सदस्य, त्यहाँको वस्तुस्थिती, परिवारको रहनसहन, बानी व्यवहार, चालचलन भिन्न हुनसक्छ । अर्थात आफु हुर्किएको पारिवारिक वातावरणसँग मेल नखान सक्छ । यस्तो अवस्थामा हरेक नव–दुलहीले आफुलाई फरक परिवेश, फरक रहनसहन, फरक व्यक्तिहरुमाझ समायोजन गर्नुपर्ने हुन्छ । परिवारको रहनसहन बुझेर आफुलाई त्यही अनुरुप प्रस्तुत गर्नुपर्ने हुन्छ । कतिपय बुहारी यस्ता पनि हुन्छन्, जसले परिवारले मान्दै आएको संस्कार अंगाल्न चाहँदैनन् । यसले परिवारमा कलह हुन्छ । तर, कति बुहारी यस्ता हुन्छन्, जसले परिवारलाई थप सुमधुर र बलियो बनाउने भूमिका निर्वाह गर्छन् ।
घर आफ्नै होः नव दुलही बनेर जुन घरमा भित्रिएको हो, सुरुवाती दिनहरुमा त्यो घर बिरानो लाग्नसक्छ । त्यहाँको चालचलनमा अभ्यस्त हुन गाह्रो हुनसक्छ । यद्यपी, त्यो घरको साँचो त्यही बुहारीकै हातमा आउने हो र उनैले सम्हाल्ने हो । परिवारलाई कसरी स्वस्थ्य र खुसी राख्ने भन्ने कुरा उनैमा भर पर्छ । यहि मानसिकता बनाएर घर परिवारलाई सकेसम्म राम्रो बनाउने प्रयास गर्नुपर्छ ।
कसरी जित्ने परिवारको मन ?ः सबैभन्दा पहिला सासु र ससुरालाई आफ्नै आमाबुवा सम्झनुपर्छ । आमाबुवालाई जस्तै व्यवहार गर्नुपर्छ । देवर, नन्दलाई भाइ–बहिनीको जस्तै प्रेम गर्ने, मार्गदर्शन दिने । अरु सबैप्रति प्रेमपूर्वक समान व्यवहार गर्नुपर्छ । परिवारका सदस्यले के मन पराउँछ, के मन पराउँदैनन् ? ध्यान राख्नुपर्छ । उनीहरुलाई गुनासो गर्ने मौका दिनुहुन्न । तपाईको पतिसँग घरको सबै जिम्मेवारी हुन्छ । यदि तपाईको लागि समय निकाल्न सकेनन् भने रिसाउने वा गलत सोच्ने नगरौ । आखिर पति ले आफ्नो सम्पूर्ण जीवन तपाईसँग विताउने हो । पति को समस्या, भावना, जिम्मेवारीलाई बुझ्नुहोस् । यदि तपाई पति सँग बाहिर घुम्न जानुभएको छभने घरका सदस्यहरुका निम्ति केहि न केहि कोसेली ल्याइदिनुहोस्, यसले परिवारप्रति तपाईको समर्पण कति छ भन्ने कुरा देखाउँछ । एउटै छानोमुनी बसेपछि कहिले कहि ठाकठुक पर्छ, मनमुटाव हुन्छ । परिवारका सदस्यहरु आपसमा रिसाउन, झगडा गर्न सक्छन् । तर, यस्तो कुरा अर्कोलाई सुनाउने नगरौ । एउटाको कुरा अर्कोलाई सुनाउने प्रवृत्ति पनि राम्रो होइन । यसले तपाईप्रतिको विश्वास कमजोर हुन्छ । घरको चालचलन कस्तो छ, संस्कार के छ भन्ने कुरा जान्नैपर्छ । अतः परिवारको संस्कारलाई कुशलतापूर्वक सम्पन्न गर्न आफ्नो भूमिका के हुनसक्छ ? खोज्नुहोस् । यदि तपाई खाना बनाउन सिपालु हुनुहुन्छ भने, यहि माध्यामबाट परिवारको मन जित्न सक्नुहुन्छ । उनीहरुलाई मन पर्ने खाना तयार गर्नुहोस् । त्यस्तै घरको सरसफाई, सजावटमा पनि तपाईको कला देखाउनुहोस् । पहिरन सजिलो र छरितो लगाउनुपर्छ । बुहारी भएपछि पुरानो ढर्राको हुनुपर्छ भन्ने छैन । तपाई आफुलाई फेसनेवल देखाउन सक्नुहुनेछ । यद्यपी त्यो भड्किलो र नसुहाउने हुनुहुँदैन । शालिन पहिरन लगाउनुहोस्, जसले शुसिल देखियोस् । –एजेन्सीको सहयोगमा