डिल्लीप्रसाद गौतम
लामो समय जनप्रतिनिधी बिहिन अवस्थामा रहेको बागलुङ नगरपालिकाले करिब २० वर्ष पश्चात यहि वैशाख ३१ गतेको नयाँ संघीय प्रणाली अनुसार सम्पन्न भएको स्थानिय निर्वाचन पश्चात जन प्रतिनिधी प्राप्त गरेको छ । लामो समयसम्म कर्मचारी प्रशासनद्धारा सञ्चालित नगरपालिकाको दैनिक क्रियाकलाप जनताद्धारा अनुमोदित जनप्रतिनिधीहरुले सञ्चालन गर्न थाली पनि सकेका छन् । तर पनि नयाँ नीति, कानुन तथा स्थानिय निकाय सञ्चालन सम्बन्धी ऐन तथा कानुनको अभावमा त्यति जन चाहना अनुसारको काम कार्वाही अगाडि बढ्न सकिरहेको छैन । जनताका इच्छा र चाहना अनि निर्वाचनको म्याण्डेड अनुसार जनप्रतिनिधीहरुले काम गर्न नसकेको आमगुनासाहरु पनि सार्वजनिक भैरहेका छन् । उसो त स्वयं निर्वाचित जनप्रतिनिधीहरु नै आफुले आवश्यक साधन स्रोत या नीति तथा ऐन, कानुनको अभावमा काम गर्न नसकिरहेको गुनासो पनि गरिरहेका छन् । सरकारले स्थानिय निकायको निर्वाचन गर्नु पूर्व नै निर्वाचित जनप्रतिनिधीहरुले लिने सपथ लगायत गर्नुपर्ने काम, कर्तव्य र अधिकार सम्बन्धी स्थानिय निकाय सञ्चालन नियमावली तयार गर्नु पर्नेमा सो गर्न नसकेका कारण स्थानिय निकाय सञ्चालनमा कठिनाई उत्पन्न भएको हो । यसी आवश्यक नीति नियम नहुँदा कुन परिधि वा मापदण्डमा रहेर कति काम गर्ने भन्ने दुविधाका बिच निर्वाचित जनप्रतिनिधीहरुले आफ्ना दैनिक सञ्चालन गरिरहेका छन् ।
स्थानिय निकाय सञ्चालनको कुरा गरि रहँदा बागलुङ नगरपालिकाका निर्वाचित जन प्रतिनिधीहरुको पनि नियति उहि रहेको छ । एकातिर आवश्यक नीति नियम तथा ऐनको अभाव त अर्को तर्फ चुनावको बेलामा आमनागरिकका सामु आफुले बाचा–कबुल गरेका सम्भव हुने वा नहुने खालका आश्वासनले निर्वाचित जनप्रतिनिधीहरु दोहोरो दबाबमा तड्पिरहेका छन् । यहि विविध अभाव, पिडा र छट्पटाहट बीच नयाँ संरचना अनुसारको बागलुङ नगरपालिकाको वार्षिक नगर परिषद समेत सम्पन्न भएको छ । प्रत्येक वडाबाट सम्भावित तथा आवश्यक योजना तथा माग माथि छलपलबाट पारित भै नगर सभामा पठाइएका मागहरुको पोको आवश्यक बजेटहरु समावेश गरि निर्वाचित जनप्रतिनिधी सम्मिलित नगर परिषदमा नगरपालिकाका तर्फबाट निर्वाचित मेयर श्री जनक पौडेलमार्फत उपमेयर सुरेन्द्र खड्काले सभामा पेश गरी छलफल भै पारित भैसकेको छ । यसरी आगामी आ.व. ०७४÷०७५ का लागि आवश्यक नगर क्षेत्र भित्रका १४ वटा वडाका लागि आवश्यक योजनाको छनोट र बजेटको उपलब्धताका विषयमा उक्त नगरपरिषदले आवश्यक छलफल गरि पारित पनि गरेको छ । यसरी वार्षिक बजेटको तयारी गरिरहँदा बागलुङ नगरपालिकाले दुई वटा मापदण्ड अंगीकार गर्नुपर्ने देखिन्छ । प्रथम तः बागलुङ नगरपालिका २०५४ सालमा नै नगरपालिका घोषित भै आफ्नो क्रियाकलाप सञ्चालन गर्दे आईरहेको पुरानो नगरपालिको हो भने दोस्रो यस नगरपालिकामा संघीय संरचनानुसार गाबिन आएका ७ वटा वडा साविक गाविसबाट नगरमा प्रवेश गरेका वडाहरु हुन । यसरी एकातिर पुरानो नगरपालिका जसले एक प्रकारको भौतिक पूर्वाधार र आवश्यक जनशक्ति तयार गरि विकासका आवश्यकता पहिचान गरेर अगाडि बढि सकेको छभने भर्खरै मात्र साविक गाविबाट नगरको वडामा प्रवेश गरेका कतिपय वडामा आवश्यक नगर वडाको भवन, फर्निचर र आवश्यक जनशक्ति नै छैनन् । त्यति मात्र हैन पूर्ववतः नगरपालिका पुरानो वडामा कच्चीबाटोको ट्रयाक पुरा गरी कालोपत्रे गर्ने योजनामा छभने नयाँ वडामा बाटोको ट्रयाक समेत नखुलेका वडाहरु पनि छन् । त्यसैले विकासको मापदण्ड र बजेट विनियोजन गर्दा यि कुरामा विशेष ध्यान पु¥याउन आवश्यक छ । विकासका योजना बनाउदा कुनै भावना वा कसैको इच्छा र पहुँचको आधारमा नभै आवश्यकता र वास्तविकतामा निर्भर हुनुपर्दछ ।
बागलुङ नगरपालिकाको पुरानो वडा खास गरी १, २, ३ र ५ नं. को केही भाग बजारसँग जोडिएका वडाहरु हुन । यो बजार क्षेत्र विभिन्न समस्या नै समस्याले झेलिएको क्षेत्र हो । पुरानो मापदण्ड अनुसार बनाइएका घरहरु अति अव्यवस्थित ढल निकास, अव्यवस्थित विद्युत, टेलिफोन, केबल लगायत इन्टरनेटका तारहरुले बजारक्षेत्रलाई नै कुरुप बनाईदिएको छ । दैनिक रुपमा घरहरुबाट निस्कने फोहोरमैला व्यवस्थापन पनि यहाँको प्रमुख समस्या बनेको छ । बागलुङ बजार नगरपालिका भएर पनि गाउँले मोडलमा सञ्चालित नगरपालिका हो । बजारको सानो भाग मात्र समथर भू–भग रही त्यसैमा बजार व्यवस्थापन भएता पनि यहाँको सम्पुर्ण कारोबार गाउँसँग हुने गरेको छ । पछिल्ला दिनहरुमा आईपुग्दासम्म बागलुङ बजार व्यवसायिक हिसाबले निकै पछाडि परिरहेको छ । बागलुङ बजारदेखि पश्चित दक्षिणमा विस्तार भएको सडक सुविधाले बागलुङ बजारलाई व्यवसायिक हिसाबले निकै पछाडि परेको पाइन्छ । त्यति मात्र हैन मालढुङ्गा–बेनी सडकले बागलुङलाई म्याग्दी र मुस्ताङसँगको सम्बन्धमा कमी ल्याईदिएको छ । आफै पछिल्लो अवस्थामा प्रशासनिक निकायको सेवा विस्तार सँगै यहाँको भविष्यका बारेमा प्रश्न उठ्ने गरेको पाइन्छ । अहिले आएर संघिय संरचनानुसारको स्थानिय निकायको निर्वाचन पश्चात गाउँपालिका र नगरपालिकाको केन्द्र समेत परिवर्तन भै बागलुङ बजारसँग व्यापारिक सम्बन्ध स्थापित भएका साविक गाविसहरु समेत बागलुङ बजारदेखि सम्बन्ध टुट्ने अवस्थाामा पुगेका छन् ।
यसरी विविध परिवेशका कारण बागलुङ बजारक्षेत्र दिनहुँ साँघुरिदै गैरहेको छ । खासगरी गाउँ–गाउँबाट आएर व्यापार व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु एकातिर दैनिक रुपमा घट्दो व्यापार त अर्कोतर्फ स्थानिय घरधनीहरुले लिने गरेको अपारदर्शि भाडाको दोहोरो मारमा परिरहेका छन् । यसै क्रममा केही व्यवसायीहरुले आफ्नो आधार–इलाकातर्फ पाइला लम्काई सकेका छन्भने केही व्यवसायी पर्खिरहेको स्थितिमा छन् । बागलुङ बजारमा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका अधिकांश व्यवसायी बजार क्षेत्रभन्दा बाहिरबाट आएर कारोबार गरिरहेका र अहिले व्यवसायिक कारोबार खस्केको हुनाले बागलुङ बजारको भविष्यसँग यिनै व्यवसायीहरु जोडिएका छन् । त्यसैले यस नगरपालिकामा निर्वाचित जनप्रनिधीहरुले यस बागलुङ बजार क्षेत्रको विकास र व्यवसाय विस्तारमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने देखिन्छ । उसो त अहिले निर्वाचित नगरपालिका मेयर तथा उपमेयर दुवै बजार क्षेत्र भित्रकै बासिन्दा र बजारको पुरानो र वर्तमान अवस्थासँग अनभिज्ञ पनि हुनुहुन्छ । आम नगरबासीहरुले उहाँ प्रति निकै सद्भाव र भरोसा पनि राख्नुहुन्छ । त्यसैले निर्वाचित जनप्रतिनिधीहरुले यस नगरक्षेत्रको विकास तथा व्यवसायि क्षमता विस्तारमा विशेष पहलकदमी चाल्नु पर्ने देखिन्छ । उसो त बागलुङ बजार क्षेत्रको भविष्यबारे बेला–बेलामा सरोकार निकायहरुमार्फत टिका–टिप्पणी हुने गरेको पनि हो । तर पनि जिम्मेवार राजनीतिक दल, उद्योग वाणिज्य संघ, स्थानिय जग्गाधनी वा व्यापारी, व्यापारीहरुको छाता संगठन उद्योग वाणिज्य संघ वा नागरिक अगुवाहरु कसैले पनि बजार क्षेत्रको भविष्यबारे जिम्मेवारी पुर्ण भुमिका निर्वाह गर्न सकेनन् । अन्ततः बागलुङ बजार क्षेत्रको इतिहास नै संकटमा पर्ने अवस्था सिर्जना भएको छ ।
बजार क्षेत्रको भविष्य नै संकटमा परिरहेको अवस्थामा निर्वाचित जनप्रतिनिधीहले तत्कालको लागि उद्योगी व्यापारीहका समस्या समाधान स्वरुप घर–धनी तथा भाडामा व्यवसाय सञ्चालन गरेका व्यवसायीहरु बीच छलफल चलाउन आवश्यक छ । तत्पश्चात नगर क्षेत्र भित्रका व्यापारिक असुविधाहरु सडक पेटी खुल्ला गराउने, उचित ढल व्यवस्थापन, नियम र मापदण्ड विपरितका भौतिक पूर्वाधार हटाउने, व्यवसायिक दोहोरो–तेहोरो करलाई व्यवस्थापन गर्ने, नयाँ–नयाँ व्यवसायिक करको पहिचान गर्नेबागलुङ बजार क्षेत्रलाई आसपासका जिल्ला वा गाविससँग जोड्ने झोलुङ्गे पुल वा आकाशे पुल निर्माण गर्ने, पर्यटकहलाई बागलुङ बजारमा प्रवेश गराउने पहल गर्ने र गन्तव्यहरको पहिचान गरी प्रचार–प्रसार गर्ने जस्ता व्यवसाय प्रर्वद्धन गर्ने खालका क्रियाकलाहरु सञ्चालन गरी बागलुङ बजार क्षेत्रको अस्तित्व यथावत कायम राख्न निर्वाचित जनप्रतिनिधीको हैसियतले पहल गर्नुपर्ने देखिन्छ ।