म्याग्दी, ४ साउन – जिल्लाका जनप्रतिनिधिले गाउँमै मतदाता नामावली संकलनको माग गरेका छन् । स्थानीय तहको निर्वाचन पछि केन्द्रको सुविधा गाउँमा पुगेको प्रचारप्रसार गरिएपनि मतदाता नामावली संकलन सदरमुकाममा गर्न खोजिएको भन्दै तत्काल छोटो समयमा लागि भएपनि गाँउपालिकाको कार्यालयबाट मिलाउनुपर्नेमा जोड दिए । ‘सडक अवरुद्ध छ, गाउँबाट सदरमुकाममा आउनै मुस्किल छ’ धौलागिरि गाउँपालिकाका उपप्रमुख रेशम छन्त्यालले भने । उनले गाउँपालिकाको गुर्जा, लुलाङ, मुदी, मल्कवाङ जस्ता विकट बस्तीबाट मतदाता नामावलीका लागि सदरमुकाम आउँदा धेरै सास्ती हुने भएकाले गाउँपालिकासम्म ब्यवस्था मिलाउन माग गरेका हुन् । उनले जिल्ला निर्वाचन कार्यालयमै पुगेर आफ्नो गाउँपालिकाको समस्याका बारेमा ध्यानर्कषण गराएका थिए । दुर्गम क्षेत्रमा चुनावी अभियानका क्रममा पुगेरका राजनीतिक दलका नेताहरूले मतदाता नामावलीमा नाम नभएका धेरै मतदाता भेटेको बताउँदै त्यस्ता मतदातालाई सुविधा दिन गाउँमै नाम दर्ताको वातावरण बनाउनुपर्ने बताएपनि जिल्ला निर्वाचन कार्यालयले जनशक्ती र आयोगबाट अनुमति नभएकाले कार्यालयमै ब्यवस्था गरिएको जनाएको छ । जिल्ला निर्वाचन अधिकृत केदारनाथ पौडेलले जिल्लाको समस्याका बारेमा जानकार भएपनि दुईवटा निर्वाचनको तयारी गर्नुपर्ने र गाउँबाट संकलन गरिएका मतदाताको नामावलीहरु रुजु गर्न समय लाग्ने भएकाले पनि यसपटक सम्भव नभएको बताउँदै राजनीतिक दल र स्थानीय संघसंस्थामार्फत सहयोगको अनुरोध गरेका छन् । निर्वाचन कार्यालय म्याग्दीले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनको प्रयोजनका लागि साउन १ देखी १५ गतेसम्मको समय अवधि समेत छोटो भएको भन्दै समय अवधी हेरफेरको माग समेत गरिएको छ । जिल्ला सदरमुकाम जोड्ने अधिकांस ग्रामिण सडक अवरुद्ध अवस्थामा छन् । सडक अवरुद्ध भएको कारण आवतजावतमा समस्या हुने र रोपाई समेत नसकिएकाले उमेर पुगेका मतदाता समेत छुट्ने सम्भावना देखिएको छ । म्याग्दीमा एक नगरपालिका र ५ गाउँपालिका रहेका छन् ।
Previous Articleनगर विकासमा जनप्रतिनिधिको भूमिका
Next Article इतिहास बोकेको टुनीको रुख ढल्यो