पर्वत, ४ साउन – सदरमुकाम कुश्मा बजारका एक अपाङ्गता भएका युवालाई एक महिला समितिको सक्रियता तथा प्रवासीको सहयोगमा आर्थिक सहयोग प्रदान गरिएको छ । पर्वतमा गठित धौलागिरि बहुउद्देश्यीय महिला समितिको पहलमा कुश्मा नगरपालिका–४ का २८ बर्षिय अर्जुन गुरुङलाई सहयोग प्रदान गरिएको हो । कुश्मा बजारमा घर भई हाल बेलायतमा रहेका मनु गौडेल तथा सुवास न्यौपाने र सृष्टि न्यौपानेले गुरुङको औषधोपचारका लागि २१ हजार ११ रुपैंया सहयोग प्रदान गरेका हुन् । २०६९ सालमा खेल्नेक्रममा लडेर घाइते भएपछि पक्षघात भएर कम्मर भन्दा तलको भाग चल्नै नसक्ने अवस्थामा रहेका गुरुङलाई महिला समितिका पदाधिकारी तथा सदस्यहरुले समेत १२ हजार ५ सय ५० रुपैँया सहयोग संकलन गरेर गुरुङलाई हस्तान्तरण गरेका थिए । दुर्घटना पछि तत्काल औषधोपचारमा पोखरा, काठमाण्डौ लगायतका स्थानमा पु¥याएपनि पूर्ण निको हुन नसकेपछि गुरुङ अहिले ओछ्यानमा नै छन् । ‘अर्जुनका बुवाले मजदुरी गरेर सामान्य खर्च धानिएको छ’ आमा राममाया गुरुङले भनिन् ‘घरमा अन्य आम्दानीको श्रोत नहुँदा साह्रै समस्या परेको छ’ उनले अन्य सहयोगी मनहरुलाई सहयोग प्रदान गर्न समेत आग्रह गरिन् । करिव ५ बर्ष देखि पक्षघातको पिडा खेपिरहेका गुरुङ कक्षा १२ मा पढ्दा पढ्दै दुर्घटनामा परेपछि अहिले घरपरिवारको साहरामा जीवन गुजारी रहेका छन् । गुरुङको त्यो अवस्था देखेर आफुहरुमा सहयोगी भावना जागेपछि सहयोगदाताहरुलाई अनुरोध गरेर औषधि उपचारका लागि सहयोग प्रदान गरिएको समितिकी अध्यक्ष कलावती पुरीले जानकारी दिइन् । संस्थाकी संस्थापक अध्यक्ष सरस्वती शर्मा जिज्ञासुले सञ्चालन गरेको कार्यक्रममा सहयोग दातालाई धन्यवाद ज्ञापन सँगै कदर पत्र प्रदान गरिएको थियो ।
Previous Articleमन्त्रालय भागवण्डा टुंगो
Next Article नगर विकासमा जनप्रतिनिधिको भूमिका