बागलुङ, ४ साउन – मंगलवार बिहान ७ बजेपछि ठूलो आवाजका साथ ढलेको रुखले बागलुङमा विद्युत अवरुद्ध भयो । तर त्यो भन्दा धेरै रामरेखाका बोहोरा कुलको गला पनि अवरुद्ध भयो । धेरैले आफ्नो आस्थाको केन्द्र रहेको मन्दिर र एशियाकै ठूलो भनेर दाबी गरिएको रुख ढलेको खवर सुनाए । त्यो खबरले धेरै महिला तथा पुरुषहरु स्तब्ध भए । लिखित तथ्यांक नभएपनि ७ सय बर्ष पुरानो मानिएको बागलुङ नगरपालिका–१ रामरेखामा रहेको टुनीको रुख नपत्याउने गरी ढलेको थियो । उक्त रुख ढल्दा वरपरका घरहरुमा खासै क्षति पुगेन । राज्यले सबैभन्दा कम क्षति हुने गरी कुनै निर्माणको काम गरेझै प्रकृतिलेनै उक्त रुखबाट हुन सक्ने संभावित घटनामध्ये सबैभन्दा कम क्षति हुने गरी रुख ढलेको थियो । रुख ढल्दा बागलुङका लागि प्रसारण भएको विद्युत लाईनमा सामान्य क्षति भएको छ । रुख ढलेलगत्तै रामरेखाका सयौं मानिस जम्मा भए । रुख ढलेको शोकमा रामरेखाका सयौंले मंगलवार खाना पनि खाएनन् । धेरैले नुहाएर सुन झाँक्रीलाई धुप हालेका छन् । सात पुस्ता देखि रामरेखाका बोहोरा र अन्य सबै जातीले सुनझाँक्री र ब्रम्हा झाँक्रीको पुजा गर्दै आएका छन् । २०५६ सालमा पुनःनिर्माण भएको सुनझाँक्रीको मन्दिर समेत रुख ढल्दा क्षतविक्षत भएको छ । रुखको जरामा भएकोले मन्दिरमा क्षति पुगेको हो । तीन बर्षअघि हावाहुरीले एक भाग ढलेको यो रुखको बाँकी भाग जरै समेत मंगलबार ढलेको हो । सुन झाँक्रीको मन्दिर सँगैको यो रुखमा रामरेखाबासीले हरेक बर्ष उधौली र उभौली तथा फागुनको पहिलो साताको शनिवार कुल पूजाको रुपमा झाँक्रीको पूजा गर्दै आएका थिए । यो रुख ढल्दा सयौं बर्षको इतिहास समेत ढलेको स्थानीयले अनुमान गरेका छन् । ‘धार्मिक आस्थाको कारण यो रुख बर्षौदेखि ठडिएको थियो’ स्थानीय सुन झाँक्री व्यवस्थापन समितका अध्यक्ष सूर्यबहादुर बोहोराले भने, ‘जिल्लाको पहिचान बोकेको रुख ढल्दा हाम्रो इतिहास पनि ढलेको छ ।’ यो इतिहासलाई जोगाई राख्नका लागि पुनःनिर्माण मार्फत सुनझाँक्रीको मन्दिर बनाउन जरुरी छ । यो रुखले झण्डै २ रोपनीजमिन समेत ओगटेको थियो । हाल पक्की घेराबार लगाएर मन्दिरको रुपमा पूजा गरिएको स्थान पनि १ रोपनी छ । कम्तीमा सात पुस्ता अघिदेखि बोहोरा थरीहरुले यो रुखको फेदमा सुन झाँक्रीको पूजा गर्दै आएको स्थानीयले बताए । ‘मैले मात्र नभएर हाम्रा जिजुबाजेले पनि पूजा गरेको ठाउँ हो’ स्थानीय रामबहादुर बोहराले भने, ‘रामरेखाबासीको झाँक्री प्रति ठूलो विश्वास छ ।’ आँटे ताकेको आकांक्षा राखेर भाकल गरेपछि ताकेको पुग्ने विश्वास रहेको उनले बताए । अधिकांसले कुनैपनि साईत गर्दा, ठूलो काम गर्दा, विदेश जाँदा होस् वा रोजगारी खोज्दा पनि सुन झाँक्रीको भाकल गर्ने गरेका छन् । विवाह, ब्रतवन्ध, जन्म र मृत्यु भएको समयमा पनि झाँक्रीलाई सम्झेर धुप दिने, पूजा गर्ने चलन छ । यसरी पूजा गर्दा शुभ फल मिल्ने जनविश्वास रहेको पूजारी दुर्गाबहादुर बोहोराले बताए । रुख ढलेको थाहा पाउने वित्तिकै नेपाल प्रहरी र नेपाली सेनाका जवानहरुले प्रारम्भिक उद्दारको काम गरेका थिए । विद्युत र सडक अवरुद्ध भएकोले पहिलो चरणमा उनीहरुले विद्युत आपूर्तिलाई सूचारु गराउने काम गरेका थिए । त्यस्तै सडक खुलाउन पनि रुखका हाँगा काटेर पन्छाएको प्रहरी उपरिक्षक चन्द्रकुवेर खापुङले बताए । उक्त स्थानमा ढलेको रुखको पुरै भाग हटाउनका लागि भने एकसाता बढी लाग्ने अनुमान गरिएको छ ।
रुखको आयु कति ?
सामान्यतया रुखहरु १ सय बर्ष बाँच्छन् । बुढापाकाका अनुसार सालको रुखलाई एक सय बर्ष खडा रहने, लडेर पनि एकसय बर्ष नकुहिने र त्यपछि काठको रुपमा प्रयोग गर्दा पनि एकसय बर्ष खप्ने किंवदन्ती छ । बर र पिपल जस्ता रुखहरु ३ सय बर्ष सम्म खडा भएको पाइएको जिल्ला भू संरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले बताए । केही स्थानमा बैज्ञानिकहरुले ५ सय बर्ष सम्म बाँचेको रुखको व्याख्खा गरेको पाइन्छ । अमेरिकाको क्यालिफोर्नियामा १ हजार बर्ष पुरानो रुख केही समय अघि ढलेको खवर पनि आएको थियो । नेपालकै गोरखामा पनि ३ सय ७० बर्ष पुरानो रुख ढलेको खवर छ । एशियाकै ठूलो मानिएको बागलुङको यो रुख पनि स्थानीयले ७ सय बर्ष पुरानो भनेका छन् । यद्यपी बैज्ञानिक रुपमा पनि ३ सयबर्ष पुरानो हुन सक्ने श्रेष्ठको भनाई छ । प्राकृतिक र दैवी शक्तिले यो रुख लामो समय बाँचेको हुन सक्ने अनुमानलाई श्रेष्ठले पनि स्विकारेका छन् । वन अध्ययनमा ‘पालियो क्लाइमेटिक प्रोक्सी इण्डकेटर’ अर्थात प्राग ऐतिहासिक सहायक सूचक नामक परिक्षणले पनि २ सय बर्ष पुरानो हावापानीको अध्ययन गर्न सक्ने उनले दावी गरे । वन विभागको ल्यावमा लगेर उक्त रुखको जराको परिक्षण गरेमा रुखको आयु र बागलुङमा २ सय बर्ष अघिको हावापानीको बारेमा पनि थाहा पाउन सकिने उनले बताए ।