काठमाडौं, ४ साउन – मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले चुनावमा जाने निर्णय सही भएको निष्कर्ष निकालेको छ । वैद्य माओवादीले पार्टी उपाध्यक्ष सीपी गजुरेलको नेतृत्वमा रहेको खुला मोर्चा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा’को नामबाट चुनावमा भाग लिएको थियो । तर, अपेक्षाकृत नतिजा आएन ।’ वैद्य माओवादीको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले मोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय सही भएको ठहर गरेको छ । संरक्षित, विशेष तथा स्वायत्त क्षेत्र नबनाई एकात्मकतावादी मान्यता अनुसार चुनाव भएको र नयाँ दल दर्ता र चुनाव चिन्ह नदिएर तीन दलले अधिनायकवाद लागू गरेको भन्दै वैद्य माओवादीको बैठकले भनेको छ, ‘यस्तो परिस्थितिमा निर्वाचन परीणाम बढी आउने अपेक्षा गरिएको थिएन र व्यवहारमा पनि त्यही नै भयो ।’ चुनावमा संसदवादी दलहरुले धाँधलीसँगै अपवित्र तालमेल गरेको र यो संसदीय व्यवस्थाको राजनीतिक पहिचानको संकट भएको वैद्य माओवादीको विश्लेषण छ । वैद्य माओवादीले पार्टी एकीकरण तथा ध्रुवीकरणका लागि सम्बन्धित क्रान्तिकारी कम्युनिष्ट पक्ष तथा समूहहरुलाई आह्वान पनि गरेको छ । दश वर्षे जनयुद्ध तथा विभिन्न जनआन्दोलनहरुले गम्भीर धक्का खाएको, राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्या झनै गम्भीर बन्दै गएको र दक्षिणपन्थी संशोधनवाद अत्यन्तै प्रभावी रहेको अहिलेको स्थितिमा एकताबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्ने उद्देश्य वैद्य माओवादीले लिएको छ । त्यसैले वैद्य माओवादीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘मार्कस्वाद–लेनिनवाद–माओवाद अवलम्बन गर्ने, नयाँ जनवादी क्रान्तिको कार्यदिशा स्वीकार गर्ने, क्रान्तिमा बल प्रयोगको सिद्धान्तलाई मान्ने, वर्तमान पश्चगामी संविधानलाई अस्वीकार गर्ने, वर्तमान सत्ता तथा व्यवस्थाको मन्त्रिपरिषदमा नरहने र जनवादी–केन्द्रीयताको सिद्धान्तलाई स्वीकार गर्ने निर्णय लिइएको छ ।’
Previous Article२०७४ साउन ४ गते बुधबारको राशिफल
Next Article घर–घरमा पुगेर वृद्व–वृद्वालाई सम्मान