लक्ष्मी श्रीस , बागलुङ, ३ असोज-जिल्ला कृषि विकास कार्यालयले यो बर्ष किसानका लागि सुन्तलाका ४० हजार विरुवा वितरण गरेको छ । कार्यालयले ३६ हजार विरुवा अनुदान र बाँकी ४ हजार किसानले पैसा तिरेर लगेको बागवानी विकास अधिकृत महिमा बज्राचार्यले बताईन् । एकजना किसानले २ सय देखि ३ सयवटा सम्म विरुवा लगेका छन् । व्यवसायिक रुपमा उत्पादन गरेका, समुह निर्माण गरेका किसानले ती विरुवा लगेका हुन् । नेपाल सरकारले संचालन गरेको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्र्तगत बागलुङमा सुन्तला खेती विस्तार अभियानलाई तीव्रता दिइएकोले बिरतण र उत्पादन बढाउने कार्यक्रम पनि थालिएको उनले जानकारी दिइन् । परियोजना अन्र्तगत बागलुङको सिगाना, तित्याङ, भकुण्डे र बिहुँको १ सय हेक्टरमा लगाइएको सुन्तलालाई ब्लकको रुपमा विकास गर्ने सरकारी योजना रहेको छ । त्यस्तै १० हेक्टर सम्मको क्षेत्रफलमा लगाइएको खेतीलाई पकेट क्षेत्रको रुपमा लिइन्छ । बागलुङको दमेक, सर्कुवा, हटिया र सिसाखानीलाई पकेटको रुपमा विकास गर्न लागिएको उनले जानकारी दिईन् । यो बर्षदेखि जिल्ला भित्रै कम्तिमा २५ हजार गोटा सुन्तलाको विरुवा उत्पादन हुने नर्सरी स्थापना पनि गर्न लागिएको छ । कृषि विकास कार्यालयकै अगुवाईमा भकुण्डेका रनबहादुर थापाको नर्सरीमा विरुवा जमाइएको हो । गत आर्थिक बर्ष बागलुङमा ३५ हजार मेट्रिकटन सुन्तला उत्पादन भएको तथ्यांक छ । व्यवसायिक खेती गरेका किसानले बर्षेनी लाखौं रुपैयाँ सुन्तलाबाट आम्दानी गर्न सफल समेत भएका छन् । प्रशिक्षार्थी
Previous Articleशिव मन्दिरमा भक्तजनको भिड
Next Article गौरीधाम मन्दिरमा लाखौंको पूर्वाधार