बलबहादुर थापा . बागलुङ, ३ असोज-क्षमता भन्दा बढी यात्री राख्ने, तोकिएको भन्दा बढी शुल्क लिने तथा ट्राफिक नियम उलंघन गर्ने सवारीलाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय बागलुङको नेतृत्वमा यातायात व्यवस्था कार्यालय धौलागिरी, पर्वत र बागलुङका ट्राफिक प्रहरी तथा राष्ट्रिय उपभोक्ता मंच बागलुङले सोमबार मालढुंगामा संयुक्त अनुगमन पछि उक्त कारवाही गरेको हो । नियम उलंघन गर्ने सवारी साधनबाट १८ हजार रुपैयाँ राजश्व समेत संकलन भएको उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले बताए । यात्रीहरुको गुनासो आएपछि प्रशासनको अगुवाईमा उक्त अनुगमन गरिएको थियो । सिट क्षमता भन्दा बढी यात्री राख्दा दुर्घटनाको खतरा बढेको, यात्रीले पनि सास्ती खेपेको गुनासो आएको थियो । अनिवार्य रुपमा पालना गर्नुपर्ने ट्राफिक नियम पनि उनीहरुले पालना नगरेको भेटिएको हो । धौलागिरी अञ्चलमा नियम उलंघन संगै पुराना सवारी पनि चल्ने गरेका छन् । साथै यात्रीको हितमा भन्दा चालकले मनोमानी गरेर चलाउने गरेको धेरैको गुनासो छ । ती सवारी साधनलाई जरिवाना गरेपछि आगामी दिनमा नियम कडाइका साथ पालना गर्न पनि निर्देशन दिइएको छ । पटक पटक नियम उलंघन गरेको पाइएमा थप कारवाही गरिने, रुट इजाजत रोक्न सक्ने जस्ता चेतावनी पनि दिइएको थियो । प्रशिक्षार्थी
Previous Articleम्याग्दीका द्वन्द्वपीडितले पाए साढे चार करोड
Next Article रोम विधान लागू गर्न माग