बागलुङ, २ असोज-सरकारले आंशिक प्राध्यापक सँग गरेको सम्झौता त्रिभूवन विश्व विद्यालयले पालना नगरेको भन्दै नेपाल आंशिक प्राध्यापक संघले धौलागिरी बहुमुखी क्याम्पस प्रशासनमा तालाबन्दी गरेको छ । आंशिक रुपमा काम गर्दै आएका प्राध्यापकहरुले करारमा नियुक्ती गर्नुपर्ने भन्दै बर्षौदेखि राख्दै आएको माग र सम्झौता पालना नभएपछि उनीहरुले आइतवार ताला लगाएका हुन् । तालाबन्दी तथा पेन डाउन कार्यक्रमले धौलागिरी बहुमुखी क्याम्पसको विज्ञान र व्यवस्थापन संकाय पूर्ण रुपमा ठप्प भएको छ । मानविकी र शिक्षा संकाय पनि आंशिक रुपमा प्रभावित भएको हो । देशभर १ हजार ४ सय २० जनाको दरवन्दी थप गर्ने आवस्यकता भएर पनि त्रिविले वेवास्ता गरेको उनीहरुको आरोप छ । खाली भएको दरवन्दीमा करारमा नियुक्ती गरेर शैक्षिक गतिविधि अगाडि बढाउन माग गरेपनि सुनुवाई नभएको संघका अध्यक्ष बिष्णु चापागाईले बताए । धौलागिरी बहुमुखी क्याम्पसमा मात्र २६ दरवन्दी खाली छ । ३३ जना आंशिक्षक शिक्षकले ती संकायमा पढाइरहेका छन् । विज्ञान र व्यवस्थापनमा आंशिकले काम नगर्दा पठन पाठन ठप्पै हुने गरेको हो । एक बर्ष देखि आंशिक रुपमा काम गरेका शिक्षकलाई त्रिविले करारमा नियुक्ती दिनुपर्ने प्रावधान भएपनि पालना नभएपछि ११ बर्षदेखि पढाएका शिक्षकको भविष्य अन्यौल भएको छ । २०६३ भदौ ६ गते सरकार र आंशिक शिक्षक विच सम्झौता भएको थियो । पुष्पकमल दाहाल, माधवकुमार नेपाल लगायतका प्रधानमन्त्री सँग पनि यस्तो सम्झौता भएको थियो । देशभरका ६० आंगिक क्याम्पसमा यो समस्या भएपनि धौलागिरीमा बढी भएको चापागाईले बताए । आंशिक शिक्षक अभावमा प्रमुख दुइवटा संकाय संचालन गर्न नै नसकिएको क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बताए । ‘दरवन्दी पाउने आसमै ५, ६ बर्ष अघि खुलेका विज्ञान र व्यवस्थापन संकायलाइ साह्रै समस्या भएको छ’ उपाध्यायले भने, ‘उहाँहरुको आन्दोलनमा हाम्रो पनि नैतिक समर्थन छ ।’ आंशिक शिक्षक विना कक्षा संचालननै नहुने भएपछि क्याम्पस प्रशासनले समर्थन गर्दै पटक पटक त्रिविमा डेलिगेसन पनि गएको उनले बताए । तर त्रिविका पदाधिकारीले छोटो समय दिएर आश्वासन बाँडेपनि पालना नभएको उनको भनाइ छ । त्रिविकै कार्यकारी परिषदले पास गरेर तोकेको दरवन्दी थप्न पनि पदाधिकारी तयार नभई केही स्थानमा आफ्ना मानिसलाई करारमा नियुक्त गरेको समेत भेटिएको चापागाईले बताए । यो समस्या प्रति आंशिक शिक्षकले ६ महिना देखि लगातार आन्दोलन गरिरहेका छन् । शुन्य दरवन्दीका कारण प्रमुख विषयको पढाई प्रभावित भएजस्तै त्रिविको आफ्नो पूर्ण कार्यक्रम भनेको शिक्षा संकायमा पनि अहिले दरवन्दी अभाव भएको उपाध्यायले बताए । त्रिवि पदाधिकारी संवेदनशिल नभएमा विद्यार्थीको शैक्षिक भविष्य अन्यौल हुने उनले चिन्ता व्यक्त गरेका छन् । साथै त्रिविले मोफसलका क्याम्पसलाई वेवास्ता गरेको पनि उनीहरुको आरोप छ । हाल खाली भएका दरवन्दीको ५० प्रतिशत मात्र जनशक्ति पाएमा पनि क्याम्पसको समस्या हल गर्न सजिलो हुने उनले बताए । धौलागिरी अञ्चलमै यो क्याम्पस त्रिविको एकमात्र आंगिक क्याम्पस हो । संघको केन्द्रीय कार्यक्रम अनुसार आइतवार र सोमबार देशैभरी प्रशासन र लेखामा ताला लगाउने कार्यक्रम रहेको केन्द्रीय अध्यक्ष शशीकुमार शर्माले बताए । उनीहरुले यसपटक सम्झौतामा हस्ताक्षर गरेपछि तत्काल कार्यान्वयन गर्नुपर्ने एक शुत्रिय माग राखेका छन् ।
Previous Articleकर कार्यालयको राजश्व संकलनमा ३७ प्रतिशतले बृद्धि
Next Article गुणस्तरहिन काम