बागलुङ, १ साउन-जिल्ला पशु सेवा कार्यालयले आर्थिक बर्ष २०७३÷७४ मा ९८ प्रतिशत आर्थिक र भौतिक प्रगती गरेको छ । आर्थिक बर्षको अन्तिम दिन शनिवारै खर्च तथा सम्पन्न भएका कार्यक्रम सार्वजनिक गर्दै बरिष्ठ पशु विकास अधिकृत डा. गोपाल गिरीले कुल कार्यक्रम र खर्च सार्वजनिक गरेका हुन् । सरकारी तथा सार्वजननिक सेवाका कार्यालयले नियमित खर्च सार्वजनिक गर्ने नीति अनुसार उक्त जानकारी दिईएको गिरीले बताए । झण्डै शतप्रतिशत आर्थिक र भौतिक प्रगती गर्ने जिल्लामा यो कार्यालय अगुवामा पर्ने बताइएको छ । कार्यालयले पशुसेवा प्रसार चालु तर्फ २ करोड ९१ लाख, पशु सेवा प्रसार पूजिगत तर्फ ३ लाख ६४हजार, पशु सेवा विकास चालु तर्फ २ करोड १२ लाख र पूजिगत तर्फ ५ लाख ८० हजार खर्च गरेको हो । त्यस्तै पशु स्वास्थ्य आहाराका लािग चालु तर्फ १ करोड ३७ लाख र पूजिगत तर्फ २ लाख खर्च भएको हो । त्यस्तै कुखुरा, बंगुर सहकारी खेती, राष्ट्रिय पुन निर्माण प्राधिकरणको योजना पुरा गर्न, पशु सेवा विभागको ओभिओटी, राष्ट्रिय स्वयंसेवक कार्यक्रम, औषधि उपचार समेत गरी ७ करोड १२ लाख रुपैयाँ बजेट मध्ये ७ करोड २ लाख खर्च भएको हो । कार्यालयले ९८ दशमलब ३२ प्रतिशत आर्थिक खर्चमा त्यतिकै प्रतिशत भौतिक प्रगती पनि गरेको हो । त्यस्तै कार्यालयले जिल्ला दूध उत्पादनमा आत्म निर्भर भएको बताएको छ । एक जनालाई बार्षिक ९१ लिटर दूध भए पुग्नेमा बागलुङमा वार्षिक प्रतिव्यक्ति ९४ लीटर पुग्नेगरी दूध उत्पादन भैरहेको हो । उक्त परिणामको दूध मध्ये केही छिमेकी जिल्लामा विक्रि हुने गरेको छ । कार्यालयले जिल्लालाई अण्डा र मासुमा पनि आत्ननिर्भर बनाउने गरी अभियान संचालनको तयारी गरेको छ । आंशिक रुपमा अण्डा र कुखुराको मासु आयात गर्न नपरेको गिरीले बताए । खसीबाख्राको मासु भने अझै छिमेकी जिल्लाबाट आइरहेकोले उत्पादन बढाउनुपर्नेमा उनले जोड दिए । कार्यालयले बाख्रा फार्मका लागि पनि अनुदान दिएको छ । प्रतिव्यक्ति बार्षिक १४ केजी मासु आवस्यक पर्नेमा १० केजी उत्पादन भएको हो । ४ केजी बराबरको मासु आयात भैरहेको पनि उनले ब ताए । बागलुङमा दैनिक ५ हजार लिटर दूध उत्पादन भएर विक्रि भैरहेको छ भने मासुका लागि ६१ वटा बाख्रा फार्म संचालनमा छन् । त्यस्तै ७१ वटा गाईभैसी फार्म, ३८ वटा बंगुर फार्म संचालनमा आएका छन् । मध्यपहाडी बजार केन्द्रीत दूध उत्पादन अभियान पनि कार्यालयले संचालन गरेको छ । ‘सवारी साधन पाएर छिटो गन्त्व्यमा पु¥याउन सकिएमा दूधले बजार पाउँछ’ गिरीले भने, ‘किसानको चाहना पशु फार्ममा केही अनुदान पनि दिएका छौं ।’ स्थानीय जातका कुखुरा पाल्ने चलन भएपनि व्यवसायिक बन्न नसकेकोले लेयर्स र बोइलरनै पाल्ने क्रम बढेको समेत उनले बताए । उक्त अवसरमा सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीले सूचनाको हक पाउने नागरिक अधिकारलाई सम्मान गर्न कार्यालय सफल भएको बताए । साथै उनले आर्थिक र भौतिक प्रगती सँगै कार्यक्रमको प्रभावकारिता बढाउनुपर्नेमा पनि जोड दिए । साथै उनले बजार र उपभोक्ताको प्रभाव कस्तो छ त्यो समेत छलफल गर्न सकेमा भौतिक र वित्तिय प्रगतीको औचित्य पुष्टी हुने धारणा राखे । साथै आगामी दिनमा गुणस्तरीय उत्पादनका लागि पनि कार्यालयले पहल गर्नुपर्ने उनले सुझाव दिए । बरिष्ठ पशु विकास अधिकृत डा. गोपाल गिरीको अध्यक्षता, पशु विकास अधिकृत निलकण्ठ शर्माको संचालनमा सम्पन्न कार्यक्रममा पत्रकारहरुले अन्तरक्रिया पनि गरेका थिए । कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले खर्चको पारदर्शीताले कर्मचारीको इमान्दारीता प्रस्तुत गर्ने भन्दै सूचनाको नियमित सार्वजनिक गर्न पनि आग्रह गरे ।
Previous Articleदरमखोलामा झोलुंगे पुल
Next Article बागलुङ नगरको बजेट ६९ करोड सार्वजनिक