बागलुङ, ३१ असार – जिल्ला निर्वाचन कार्यालय बागलुङले साउन १ गतेदेखि १५ गतेसम्म फोटो सहितको मतदाता नामावली संकलन गरिने भएको छ । निर्वाचन आयोगले प्रादेशिक र संसदीय निर्वाचनका लागि १५ दिनसम्मको लागि नामावली संकलन गर्नको लागि आग्रह गरेपछि कार्यालयले शुक्रबार राजनैतिक दलका प्रतिनिधि तथा पत्रकारहरुलाई बोलाएर मतदाता नामावली संकलन गर्न लागेको जानकारी गराएको हो । उमेर पुगेर पनि मतदाता नामावलीमा नाम लेख्न छुटेका कारण स्थानीय तहको निर्वाचनमा मतदान गर्न नपाएका नागरिकले साउन १ गतेपछि जिल्ला निर्वाचन कार्यालय पुगेर मतदाता नामावलीमा नाम लेखाएपछि प्रादेशिक र संसदीय निर्वाचनमा मतदान गर्न पाउनेछन् । उक्त कार्यक्रममा जिल्लाका राजनैतिक दलका प्रतिनिधिहरुले १५ दिनसम्मको समय कम हुने, निर्वाचन कार्यालयमा मात्र संकलन गर्दा गाउँका मतदाताहरु बजारमा आउन नसक्ने लगायतका असुविधा गरेको जनाएका थिए । उनीहरुले प्रत्येक वडासम्म पुग्न नसकेपनि संघिय संरचना अनुसार गाउँ तथा नगरपालिकाको कार्यालयसम्म पुगि फोटो सहितको मतदाता नामावली संकलन गर्नुपर्ने बताएका थिए । राजनैतिक दलहरुको ध्यानकर्षणपछि जिल्ला निर्वाचन कार्यालयले १५ दिनको समय थप गरि साउन मसान्तसम्म, प्रत्येक स्थानीय तहमा ७ दिनसम्म मतदाता नामावली संकलन गरिदिनको लागि अनुरोध गर्दै निर्वाचन आयोगमा पठाउनको लागि निर्णय गरेको छ । उक्त निर्णयको निर्वाचन आयोगबाट गर्नको लागि स्विकृत प्राप्त भएमा स्थानीय तहमै गई नामावली संकलन गर्ने नभए जिल्ला निर्वाचन कार्यालयबाट नै संकलन गरिने जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख विकासचन्द्र पौडेलले बताए । साउन १ देखि १५ सम्म १६ वर्ष पुरा भएका नागरिकहरुले फोटो सहितको नामावलीमा नाम दर्ता गराउने सक्ने, त्रुटि सच्चाउने, नामसारी गर्ने, दाबीविरोध गर्ने काम गर्ने निर्वाचन कार्यालय बागलुङले जनाएको छ ।
Previous Articleखुंगा ढोरपाटन सहकारीको उद्घाटन
Next Article लक्ष्यभन्दा बढी मुद्दा फर्छाैट