बागलुङ, ३१ असार – ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले सहकारीबाट देशको आर्थिक विकास सम्भव भएको बताएका छन् । खुंगा ढोरपाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शुक्रबार औपचारिक उद्घाटनपछि बोल्दै नेपालीले निम्न आयस्तर भएका जनताको जीवनलाई उकास्नु नै बर्तमान अवस्थामा सहकारीको मूल मर्म हुनुपर्ने धारणा राखे । उनले संख्यात्मक रुपमा वृद्धि भैरहेका सहकारीहरुले उत्कृष्ट वित्तीय कारोवार गर्नको लागि सहकारीहरु बीच प्रतिस्पर्धा होइन, सहकार्य गरेर अगाडि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए । कार्यक्रमको अवसरमा उनले उक्त सहकारीमा रु. ३ लाखको सेयरसमेत राख्ने प्रतिवद्धता व्यक्त गरे । त्यस्तै, कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ इकाई समिति बुर्तिबाङका अध्यक्ष चिन्तामणी कँडेलले उद्योग वाणिज्य संघ र सहकारी संस्थाहरु वित्तीय हिसावले एक अर्काको परिपूरक भएकोले दुवै संस्थाको उद्देश्य आर्थिक विकासको माध्ययमबाट समाजको रुपान्तरण हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा प्रभु विकास बैंक बुर्तिबाङ शाखाका प्रमुख खिम केसी, त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाका सचिव कृष्णकुमारी आचार्य, ढोरपाटन नगरपालिका वडा नं. ७ का अध्यक्ष दिपक थापा, रेडियो ढोरपाटनका स्टेशन म्यानेजर छविलाल पाण्डे र संस्थाको तर्फबाट नरबहादुर क्षेत्रीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनमगर, नगरपालिकाभित्रका सवै वडाका अध्यक्षहरु, बुर्तिबाङस्थित विभिन्न बैंक तथा सरहकारी संस्थाहरुका प्रतिनीधिहरु, संस्थाका सेयर सदस्यहरु, स्थानीय बुद्धिजीवि, समाजसेवी र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । साथै कार्यक्रमको अवसरमा सहकारीको महत्वको भाव बोकेको गीत तथा नृत्य समेत प्रस्तुत गरिएको थियो । साथै संस्थाको औपचारिक उद्घाटन भएसँगै शुक्रबारैबाट बचत तथा ऋणको वित्तीय कारोबार शुरु भएको संस्थाले जनाएको छ । संस्थाका अनुसार निम्न आयस्तर भएकाहरुले पनि बचत गर्न सक्ने गरी रु. ५ हजारदेखि बढीमा ३ लाखसम्मको सेयर सदस्य बन्न सक्ने प्रावधान रहेको छ ।
Previous Article२०७४ असार ३१ गते शनिबारको राशिफल
Next Article साउनदेखि फोटोसहितको नामावली संकलन हुने