बागलुङ, २६ असार – नेपाल पत्रकार महासंघ बागलुङ शाखाको १७ औ स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी आइतबार मनाएको छ । शाखाको १७ औ स्थापना दिवस प्रभातफेरी समेत सम्पन्न गरिएको थियो । शाखाका अध्यक्ष दिल शिरिषको नेतृत्वमा शाखाका पदाधिकारी सल्लाहकार कार्यसमिति लगायत बिभिन्न संचारमाध्यममा आबद्ध पत्रकार लगायतको टोलीले प्रभातफेरी सम्पन्न गरी मुल समारोहमा परिणत भएको थियो । ‘व्यवसायिक पत्रकारिताको आधार र श्रम अधिकार’ भन्ने नाराका साथ संचालित मुल समारोहमा बोल्ने वक्ताहरुले पत्रकारिता क्षेत्रको बिकासको लागि सबै संग समन्वय र सहकार्य गर्नुपर्ने बताए । समाजका हरेका परिवर्तनका लागि पत्रकारिता क्षेत्रको बिकास हुनुपर्ने भन्दै सहभागीले पत्रकारको उचित पारिश्रमिक र पेशागत सुरक्षाका लागि सम्बन्धीत निकायको ध्यान जानुपर्नेमा जोड दिएका थिए । ¥यालीपछि आयोजित कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले विद्यमान समाजमा भएका बिषयहरुको उठानका लागि सरकारी निकायसंग साँझेदारी गर्न पत्रकारहरुलाई आग्रह गरे । पत्रकारहरुको क्षमता बृद्धि विकासका लागि अहिले भएका समस्यालाई समाधान गरी अगाडी बढ्नुपर्ने उनको भनाई थियो । प्रजिअ तिवारीले स्थापना दिवस केही संस्थाहरुले मात्र मनाउने भएकाले आगामी दिनमा पत्रकारहरुको हक अधिकार र संस्थागत विकासको योजनालाई अगाडी सार्न आग्रह गरेका थिए । कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले जिल्लाको पत्रकारीताको विकासका लागि खोजमुलक समाचार खोज्नुपर्ने एवं स्थानीय तहलाई हरेर जनतालाई सुसूचित बनाउनुपर्ने बताएका थिए । उनीहरुले प्रतिष्पर्धी समाजमा सिर्जनशिल भएर लाग्नुपर्ने भन्दै सहि पत्रकारिताको अभ्यास र अध्ययन गर्न आवश्यक रहेको बताएका थिए । कार्यक्रममा स्थानीय विकास अधिकारी रामप्रसाद आचार्य, बागलुङ नगरपालिकाका कार्यकारी अधिकृत सुवासकुमार लामिछाने, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, सल्लाहकार कोपिला कँडेल, गल्कोट सुचना तथा सञ्चार सहकारीका पुर्वअध्यक्ष राज थापा, प्रेस युनियनका उपाध्यक्ष प्रदिप पन्त लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम महासंघका अध्यक्ष दिल श्रीषको अध्यक्षता, उपाध्यक्ष उषा पौडेलको स्वागत र सचिव राम थापा अबिरलको सञ्चालनमा सम्पन्न भएको थियो ।