बागलुङ, २३ असार – जिल्लाको जैमिनी नगरपालिका–८ छिस्ती पालुङखोला लघुजलविद्युत आयोजनाको कुलो निरन्तरको बर्षाले भत्किएपछि विद्युत आपूर्ति बन्द भएको छ । बुधबार साँझ निरन्तरको बर्षाले कुलोको ९ मिटरको भाग पूर्ण रुपले भत्किएपछि विद्युत प्रशारण बन्द भएको हो । विं सं २०६२ साल भदौ २६ गतेबाट विद्युत आपूर्ति सुरु गरेको थियो । विद्युत बन्द भएपछि झन्डै आधा दर्जन बस्तीहरुमा विद्युत बन्द भएको छ । जैमिनी नगरपालिका–८ का ओइनकुना, मर्नास, थुम, जुङ चिल्धारा, रिठावोट, अदुवारी, मन्ताङ, सेल्टापु र तल्लो बोजका अधिकांश बस्तीहरुमा विद्युत पुगेको थियो । दुई बर्ष अघि स्थानीय ३ जना ठेकेदारहरु टिकाराम थापा, कर्णबहादुर थापा र बलबहादुर थापाले संयुक्त रुपमा जिम्मा दिइएको विद्युत आयोजनाले दैनिक बिहान र बेलुका गरी झन्डै १६ घण्टा बढि विद्युत छाड्ने गरेको थियो । निरन्तरको बर्षासहित आएको पहिरोले कुलो भत्काएको पालुङ खोला लघुजलविद्युत आयोजनाका अपरेटर भक्तबहादुर थापाले बताए । उनले कुलो मर्मत गर्न झन्डै दुई हप्ता लाग्ने बताए । ४४ किलोवाट विद्युत उत्पादन गर्ने उक्त आयोजना बन्द भएपछि त्यस क्षेत्र सुचना र सञ्चारबाट समेत बञ्चित हुनुपर्ने अवस्था रहेको आयोजनाका पूर्व समिति कोषाध्यक्ष दयाराम पौड्याले बताए । कुलो निर्माणका लागि वडा कार्यालय,नगरपालिका कार्यालय तथा सम्वन्धित सवै पक्षले सहयोग र समन्वय गर्नुपर्ने उनले बताए । यसैबीच, गल्कोट नगरपालिका–८ काँडेवासको पचुवामा आएको पहिरोले शिव माविको भवन लगायत स्थानीयका केहि घरहरु उच्च जोखिममा रहेका छन् । पहिरो बग्दै गरेकोले कुनैपनि समय ठुलो क्षति हुने संभावन रहेको प्रत्यक्षदर्शीले बताएका छन् । पहिरोले वामीटक्सार–काँडेवास–हटिया सडक अवरुद्ध बनाएको छ । साविक मल्म गाविसको गल्याङदेखी पचुवा जोड्ने दरमखोलाको मोटरेबल पुल निर्माण भैरहेकै ठाउँ देखी माथीबाट एक्कासी ठुलो पहिरो आएर शिव माध्यमिक विद्यालय, स्थानीय नरिश्वर चालिसे, नरहरि घिमिरे लगायतका घरहरु उच्च जोखिममा रहेको शिव माविका शिक्षक अर्जुनदत्त कँडेलले बताए । स्थानीयका अनुसार, मोटरेबल पुल निर्माणका कारण पहिरो गएको हो । पुल निर्माण गर्दा जथाभावी खन्ने कार्यगरिएकोले पहिरो गएर ठुलो नोक्सानी भएको पीडितहरुले बताएका छन् ।
Previous Article२०७४ असार २३ गते शुक्रबारको राशिफल
Next Article लेखा जोखा केन्द्रको उद्घाटन