काठमाडौं, २२ वैशाख– पत्थरीको अपरेशन गर्दा बिरामीको मिर्गौला झिकेको मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालले आफ्ना तर्फबाट कुनै लापरबाही नभएको दावी गरेको छ । नुवाकोटका शिव प्रसाद रिमालको पत्थरीको अपरेशन गर्ने क्रममा अस्पतालले मिर्गौला झिकेको भन्दै आलोचना भइरहँदा अस्पतालले विज्ञप्ति जारी गरेर आफ्ना तर्फबाट कुनै लापरबाही नभएको दावी गरेको हो ।
अस्पतालका प्रशासक रामप्रसाद गजुरेलको हस्ताक्षर रहेको विज्ञप्तिमा ‘अस्पतालले पत्थरी झिक्नुपर्नेमा मिर्गौला झिके’को भनि प्रकाशित–प्रशारित समाचारमा गम्भीर ध्यानाकर्षण भएको समेत जनाइएको छ । विज्ञप्तिमा पत्थरीको अपरेशन गर्ने क्रममा मिर्गाैला निकालिएको विषय साँचो भएको पनि उल्लेख गरिएको छ । तर, पत्थरीको शल्यक्रियाको क्रममा मिगौलाबाट रगत बगेर बिरामीको ज्यानै जान सक्ने खतरा बढेपछि परिवारकै सहमतिमा मिर्गौला झिकिएको अस्पतालको दावी छ ।
विज्ञप्तिमा भनिएको छ, ‘बिरामीको दुबै मिर्गौलामा पत्थरी भएका देब्रे मिर्गौलाको २ सेन्टिमिटर लम्बाईको पत्थरी निकाल्ने तयारी हुँदा परीक्षणबाट उक्त मिर्गौला सामान्य अवस्थामा भन्दा तल मुत्र थैलीको नजिकमा रहेको देखिँदा निज विरामीको सीटी स्क्यान र आईभीयु गरी स्वास्थ्य परीक्षण गरिएको थियो,’ अस्पतालले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘अपरेशन अघि नै बिरामी र बिरामीका आफन्तलाई अपरेशन जटिल र जे पनि हुन सक्ने भनि सम्झाएको भवितब्य परी केहि भएमा दोष दिने छैनौं भनि बिरामी र विरामीका आफन्तले सहि गरेको प्रष्ट छ । त्यसपछि अपरेशन गर्दा असामान्य स्थानमा रहेको मृर्गौलाबाट अत्याधिक रक्तश्राव भई ज्यानै जानसक्ने परिस्थितिको सिर्जना भई अनेक उपलब्ध वैज्ञानिक उपाय गर्दा पनि रगत नरोकिएकाले परिवारकै सहमतिमा मिर्गौला झिकिएको हो ।’ अस्पतालले बिरामीको झिकिएको मिर्गौला सुरक्षित रुपमा राखिएको पनि बताएको छ ।