बागलुङ, २२ असार-प्रस्तावित ६.६ मेगावाटको बडीगाड जलविद्युत आयोजना सम्बन्धि बुधबार बुर्तिबाङमा अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले आयोजनाले स्थानीय जनजीवन र पर्यावरणीय असर पार्न नहुनेमा जोड दिएका छन् । उक्त कार्यक्रममा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको प्रमुुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि नेपालीले दुर्गम क्षेत्रमा विकास कार्य गर्नु स्वागतयोग्य कुरा भएपनि आयोजनाले स्थानीय जनताको जनजीवन र पर्यावरणमा क्षति तथा नोक्सान पुग्ने गरि काम गर्न नहुने भन्दै स्थानीय जनतालाई फाइदा पुग्ने गरि सबैको साझा सहमती र सहकार्यबाट मात्र गरिनुपर्ने बताए । नेपालीले भने– ‘हामी कोही पनि विकास विरोधी हौइनौं तर विकासले विनाश ननिम्ताउने गरि व्यापक छलफल र साझा सहमतीबाट गरिनु पर्छ । स्थानीयको हित हुने गरि निश्चित शेयर खरिद गर्न पाउने र रोजगारीको अवसर सिर्जनामा समेत आयोजनाले सहयोग पुराउनु पर्छ ।’ त्यसको लागि नगरपालिका र स्थानीय एउटा टिम आयोजनाको इन्जिनियर सहितको टिमसंगै अन्य ठाउँको अवलोकन भ्रमण गरेर यस क्षेत्रमा यसप्रकारको आयोजनाबाट हुन सक्ने फाइदा, संभावना र चुनौतीको बारेमा राम्ररी बुझ्न जरुरी रहेको नेपालीले बताए । त्यसैगरि कार्यक्रममा बोल्दै वाटर इनर्जी नेपाल प्रा.लि.का अध्यक्ष चिरन्जीवी थापाले आफूहरुले आर्थिक जनजीवनलाई अस्तव्यस्त हुनेगरि र पर्यावरणीय प्रभाव पर्ने गरि कुनै कार्य नगर्ने बताउँदै सरकारी मापदण्डमा रहेर स्थानीय जनताको हित हुने गरि सबैको चित्त बुझाएर सबैसंग सहकार्य गरि काम गर्ने प्रष्ट पारेका थिए । कार्यक्रममा आयोजनाको बारेमा योजना प्रमुख एवं कार्यकारी अधिकृत यज्ञप्रसाद सुवेदीले जानकारी गराएका थिएभने योजनाका साइट इन्चार्ज गजेन्द्रप्रसाद गुप्ताले विद्युत आयोजनाको ऐतिहासिक पृष्ठभूमि र संभावनाहरुको बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा एकीकृत सेवा केन्द्रका प्रमुख जनक थापा, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना, नेपाली काँग्रेसका सालिकरा शर्मा, नेकपा एमालेका ज्ञान प्रसाद कँडेल, माओवादी केन्द्रका शेरमान घर्ती, नेकपा क्रान्तिकारी माओवादीका गुञज बहादुर भण्डारी, राष्ट्रिय जनमोर्चाका चुनमान दर्जी, समाजसेवी निल बहादुर पुन, रितुवर्ण पौडेल, यामु पौवी, दल बहादुर भण्डारी, अशोक वि.क., राम प्रसाद आचार्य लगायतले आ आफ्नो धारणा व्यक्त गरेका थिए । प्रस्तावित उक्त ६.६ मेगावाटको बडीगाड जलविद्युत आयोजनाको लागत १ अरब ३० करोड रहने बताइएको छ भने २ वर्ष्भित्रमा योजना पुरा गरिसक्ने लक्ष्य रहेकोे छ । आयोजनाको लागि भुजीखोला र तमानखोलाको दोभान देखि केही तल तारिखेत नजिकै २.५ मिटर उचाई र ३० मिटर लम्बाई सहितको बाँध बाधेर खोलाको पानीलाई १ हजार १ सय ३० मिटर लामो नहरबाट सेराफाँटदेखि केही तल बडीगाड खोला किनारमा स्टेशन बनाई विद्युत उत्पादन गरि वितरण गर्ने योजना रहेको आयोजनाले जनाएको छ । यसभन्दा पहिला पनि सर्वे भई सोही योजना सेरा हाइड्रो पावरको नामले नापजाँच भइसकेको र स्थानीयबासीहरुको व्यापक विरोधका कारण पटक पटक काम सुरु गर्न लाग्दा पनि स्थानीयले काम सुरु गर्न नदिए पछि २ वर्ष यता आयोजना अलपत्र भएको थियो तर अहिले सेरा हाइड्रो पावरले सेयर विक्रि गरि नयाँ निर्माण कम्पनी मार्फत ६.६ मेगावाट वडीगाड जलविद्युत आयोजनाको नामबाट आयोजनाको कार्य प्रारम्भ गर्ने तयारी गरिएको हो । निर्माण कार्यका लागि वाटर इनर्जी नेपाल प्रा.लि. काठमाडौसंग संझौता भइसकेको बताइएको छ । सो अन्तरक्रिया तथा सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयवासीले मिश्रित प्रतिक्रिया दिएका छन् । केही व्यक्तिहरुले मापदण्ड अनुसार पर्यावरण र स्थानीयवासीलाई नोक्सान नपुग्ने गरि निर्माण कार्य सम्पन्न गर्दा विद्युतको आपुर्तिका साथै स्थानीयबासीलाई दीर्घकालीन फाइदा पुग्ने बताएका छन्भने उता केहीले भने आयोजनाले स्थानीय जनतालाई क्षति पुग्न सक्ने भन्दै काम अगाडि नबढाउँदा राम्रो हुने सुझाव दिएका छन् । उता निमार्ण कम्पनीले भने योजनाले कुनैपनि हानीनोक्सानी नपुराउने र स्थानीय जनता र समग्र ढोरपाटनवासीको हितमा आयोजना रहेको बताएको छ ।