बागलुङ, २२ असार-महिला तथा बालबालिका कार्यालय बागलुङको आयोजनामा बुधबार जिल्लाका अपाङ्गता भएका व्यक्तिहरुलाई उनीहरुको हक अधिकार तथा विद्यमान ऐन नियमको बारेमा जानकारी गराइएको छ । निमित्त महिला विकास अधिकृत सरस्वतीदेवी रेग्मीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उनीहरुको हक अधिकार तथा विद्यमान ऐन नियमको बारेमा जिल्ला अपाङ्गता सरोकार संघ बागलुङका कार्यक्रम संयोजक रामप्रसाद घिमिरेले प्रशिक्षण दिएका थिए । प्रशिक्षण पछि सहभागिहरुले आङ्गताहरुको लागि धेरै नियम भएतापनि त्यसलाई सम्बन्धीत निकायले कुनै पालना नगरेको भन्दै गुनासो गरेका थिए । उनीहरुले सवारी साधनहरुमा अपाङ्गको लागि सुविधा तथा भाडामा छुट भएतापनि अहिलेसम्म कुनै सवारीले त्यस्तो नगरेको भन्दै गुनासो व्यक्त गरेका थिए । यस्तै उक्त कार्यक्रममा निमित्त महिला विकास अधिकृत रेग्मीले महिला तथा बालबालिका कार्यालयले अपाङ्गता भएका व्यक्तिहरुको लागि कार्यालयले गर्दै आएको कामहरुको बारेमा जानकारी गराएकी थिइन । सहायक महिला विकास निरिक्षक रचना आचार्यको संचालनमा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य सहायक महिला निरिक्षक रश्मि गौतमले गरेकी थिइन ।