घनश्याम सापकोटा
पृष्ठभुमी
सामान्यतया परिवारमा आमाबाबु र तिनीहरुका सन्तान रहेका हुन्छन् । आमाबाबु परिवारका संरक्षक, निर्देशक तथा पथप्रदर्शक पनिहुन् । जिम्मेवार अभिभावकत्वलाई जिम्मेवार आमाबाबु, जिम्मेवार संरक्षक जिम्मेवार अभिभावक जस्ता विभिन्न नामले चिनिन्छ । परिवारमा रहेका प्रत्येक सदस्यहरुका आ–आफ्नो जिम्मेवारी र भूमिका रहेका हुन्छन् । आमाबाबुका आ–आफ्ना जिम्मेवारी हुन्छन् भने बालबालिकाका पनि आ–आफ्ना जिम्मेवारी तथा कर्तव्यहरु रहेका हुन्छन् । आमाबाबुले आफ्ना सन्तानलाई जन्मदिएर मात्रजिम्मेवारी समाप्त हुँदैन आफ्ना बालबालिकाको रेखदेख स्याहारसुसार जस्ता कुराहरु गर्नुपर्ने हुन्छ । यी कुराहरु बाबु आमाका सामाजिक दायित्व भित्र पनि पर्दछन् । बाबुआमाले परिवारको वातावरणलाई स्वच्छ र सुमधुर बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । परिवारका आवश्यकता पूरागर्नु, बालबालिकालाई शिक्षा, स्वास्थ्य सेवा, मनोरञ्जन आदिको व्यवस्था गर्नु सबै आमा बाबुको जिम्मेवारी भित्र पर्दछन् । आमाबाबुले पारिवारिक नीति निर्माण गर्ने पारिवारिक योजनाहरु बनाउने, आफ्ना बालबालिकाहरुलाई असल आचरणमा राख्न परिवारिक वातावरण राम्रो बनाउने, नैतिक मूल्य मान्यताहरु सिकाउने, आफ्ना सन्तानहरुलाई आत्मविश्वासयुक्त नागरिक तयार गर्ने जस्ता कार्यहरु गर्नुपर्दछ ।
आफ्ना छोराछोरीहरुको उमेर अनुसारको उचित व्यवहार गर्नु बाबुआमाको कर्तव्य र दायित्व भित्र पर्दछ । विशेष गरी किशोर अवस्था प्रवेश गरेका बालबालिकाहरुलाई उचित सल्लाह, सुझाव र व्यवहार गरी गलत बाटो समाउनबाट जोगाउनु आमाबाबुको कर्तव्य हुन आउँदछ । परिवारलाई पहिलो पाठशालाको रुपमा पनि हेरिन्छ । बाबुआमाले आफ्ना सन्तानलाई विद्यालय जानुभन्दा अगाडि दिनुपर्ने ज्ञान र व्यवहार जस्तै सामाजिक संस्कार, शिष्टाचार, अनुशासनजस्ता कुराहरु उचित तरिकाले प्रदान गर्न सक्नुपर्दछ । कतिपय कुराहरु बालबालिकाले विद्यालयबाट प्राप्त गर्न सक्दैनन् त्यसैले त्यस्ता कुराहरु घरमा नै आमाबाबुले दिनसक्नु पर्दछ । आजका बालबालिका भोलिका परिवारका आशा हुन्, समाजका ऊर्जाशीलजन शक्ति हुन् भने देशका बलिया कर्णधार पनि हुन् । त्यसैले आमाबाबुले आफ्नो दायित्व बुझेर उनीहरुलाई उचित व्यवहार र वातावरण सिर्जना गरी भविष्यमा असल आमाबाबु बन्न सक्षम बनाउनु पर्दछ ।
(क) सन्तानप्रति दायित्व
सन्तानप्रति आमाबाबुका दायित्वहरु विभिन्न प्रकारमा रहेका हुन्छन् । केही प्रमुख उत्तरदायित्वहरुलाई बुँदागत रुपमा निम्न अनुसार उल्लेख गर्न सकिन्छः आमाबाबुले परिवारको आयस्रोत र परिवारको आकारबीच सन्तुलन कायम गरी जीवनस्तर उकास्न हरसम्भव प्रयास गर्नुपर्दछ । बालबालिकालाई असल नैतिक आचरण, अनुशासन आदि सिकाई विद्यालय जानुपूर्व विभिन्न तयारी गरी बालबालिकाहरुलाई उचित शिक्षाको व्यवस्था गर्नुपर्दछ । गाँस, बास, कपास, स्वास्थ्य, सरसफाइको उचित व्यवस्था गरी बालबालिकालाई मनोवैज्ञानिक सुरक्षा प्रदान गर्नुपर्छ । परिवारलाई व्यवस्थितसँग सञ्चालन गर्न आमाबाबुले बेलैमा परिवारको आकारको सम्बन्धमा निर्णय लिनु पर्दछ । अर्थात् सानो र सुखी परिवार निर्माण गर्न बेलैमा निर्णय लिनु पर्दछ । बालबालिकाको उचित लालनपालन एवम् आमा र बच्चाको स्वास्थ्य स्थिति सुदृढ गर्न उचित जन्मातर कायमा राख्नुपर्छ । अर्थात् ४÷५ वर्षको फरकमा मात्र बच्चा जन्माउनु पर्दछ । सामाजिक मूल्य मान्यता र अनुशासन सिकाई बालबालिकाको सामाजिकीकरणमा सहयोग गर्नुपर्दछ । विभिन्न रोगविरुद्ध खोपहरु, व्यक्तिगत सरसफाइ, पौष्टिक आहार, शारीरिक परीक्षण आदिको व्यवस्था मिलाई बालबालिकाहरुको स्वास्थ्य स्थिति सुदृढ बनाउनु पर्दछ । परिवारका सदस्यहरुबीच असल समझदारी, विश्वास, सम्मान, भावनात्मक एकता, माया, ममता, आदिको वातावरण सिर्जना गरी परिवारका सदस्यहरुबीच असल सम्बन्ध कायम राख्नु पर्दछ । छोरा र छोरीबीच भेदभाव नगरी उनीहरुलाई समान माया, ममता र अवसर प्रदान गरी लैङ्गिक समानताको वातावरण सिर्जना गर्नुपर्दछ । बालबालिका तथा किशोर किशोरीका समस्याहरु पारस्परिक छलफल र सहयोगबाट समाधान गर्नुपर्दछ ।
(ख) आमाबाबुको भूमिका
परिवारमा आमाबाबुको भूमिकालाई निम्नअनुसार उल्लेख गर्न सकिन्छः
नीति निर्माणः परिवारको मुख्य व्यक्तिको नाताले आमाबाबुले परिवारको उन्नतिका लागि नीति निर्माण गर्ने, लक्ष्यहरु तय गर्ने र प्रयोगमा ल्याउने कार्य गर्नुपर्दछ । परिवारका समस्याहरु पहिचान गरी समाधानका उपायहरु अवलम्बन गर्नु पर्दछ ।
अनुकरणीय व्यक्तित्वः परिवारमा अनुशासन र स्वच्छ वातावरण कायम राख्न आमाबाबुहरुले उदाहरण प्रस्तुत गरेर देखाउन सक्नु पर्दछ । जस्तै धुम्रपान तथा मद्यपान लगाएत समाजले स्वीकार नगरेका कार्यहरु नगर्ने आदि कार्यबाट बच्चाहरुलाई सकारात्मक प्रभाव पार्न सकिन्छ ।
पथप्रदर्शकः बालबालिकाहरुलाई नैतिक शिक्षा, अनुशासन जस्ता कुराहरु सिकाई आमाबाबुले असलमार्ग निर्देश गर्नुपर्छ । आमाबाबु नै बालबालिकाका प्रथम गुरु हुन् त्यसैले बालबालिकाहरुको बाटो बिराएर गलत काम गर्न लागे भने आमाबाबुले उनीहरुलाई पथ प्रदर्शक भई सही बाटो देखाउने कामगर्नु पर्दछ ।
उत्प्रेरकः आमाबाबुले उत्प्रेरकको भूमिका पनि निर्वाह गर्नु पर्दछ । आफ्ना बालबालिकाहरुलाई अनुशासित तथा कर्तव्यनिष्ठ बनाउन आमाबाबुले उत्प्रेरणा जगाउनु पर्दछ । जब बालबालिकाहरु कुनै काममा असफल हुन्छन् र दुःखी हुन्छन् त्यस्तो बेलाबाबु आमाले उनीहरुलाई हौसला प्रदान गरेर उक्त काममा फेरी लगनशील भएर लाग्ने वातावरण बनाउनु पर्दछ ।
मित्रः बाबुआमा बालबालिकाका असल र नजिकका साथी हुन् । आमाबाबुले समय र परिस्थिती अनुसार आफ्ना बालबालिकाहरु सँग साथीको जस्तो व्यवहार प्रदर्शन गरी उनीहरुका समस्या समाधानगर्नु पर्दछ ।
Previous Articleथाइराइडले हुन सक्छ बाँझोपन
Next Article विषाक्त फलफुलले जनस्वास्थ्यमा असर