मौसम अगावै वा बेमौसमी सिजनमा बजारमा भेटिने अधिकांश फलफुलमा बिषादीको प्रयोग हुने गरेको छ । बजारमा अहिले असारको तेश्रो हप्तादेखि चौथो हप्तामा पाक्ने आँप जेठ महिना सुरु नहुँदै बजारमा धमाधम बिक्रिवितरण भैरहेको छ । बेमौसमीका फलफुलमा हानिकारक रसायन हुने भएकाले त्यस्ता फलफुल खाँदा मानव स्वास्थ्यमा गम्भिर असर पर्ने चिकित्सकहरुको भनाई छ । कार्बाइड नामक रसायन काँचो आँपमा राख्दा चौबिस घन्टामै पाक्छ र व्यापारीले बढी आर्थिक लाभ लिने सोचले रसायन हाली बिक्री गर्दै आएका छन् । प्राकृतिक रुपमा आँप पाक्ने समय असार महिनाको अन्तिमदेखि भदौ महिनासम्म हो । तर वैशाखको सुरुदेखि नै रसायन हाली पकाएका आँप धमाधम बिक्री भैरहेको छ । विषालु रसायनयुक्त आँपप्रति धेरैले ध्यान नदिँदा हानिकारक मन्द विष हालेर बिना रोक बजारमा आँप बिक्री भइरहेको छ । यस्ता आँप खाँदा पेट दुख्ने, बान्ता आउने तथा स्वास्थमा प्रतिकूल असर पर्ने लगायत दीर्घकालीन गम्भीर स्वास्थ्य समस्या देखिने चिकित्सकहरु बताउँछन् ।
आँप पकाउन प्रयोग हुने क्याल्सियम कार्बाइड नामको रसायन जसले मुटुरोग निम्त्याउन सक्ने तथा कलेजो र मष्तिष्कमा समेत असर गर्ने चिकित्सक बताउँछन् । फलफूलमा एकैनासको तर फरक–फरक आकर्षक रङ देखियो, टल्कियो, कालो थोप्ला, कुनै भाग गलेको, कुनै भाग साह्रो भएको, बाहिर पहेँलो तर भित्र काँचो भए, स्वाद खल्लो, मधुरो वा बिग्रेको तथा छाम्दा रस नभरिए जस्तो भेटिए कार्वाइडले पकाएको हुन्छ । घरमा राखेको २÷३ दिनपछि फलफूलको बोक्रामा कालो धब्बा देखिए रसायनद्वारा पकाइएको फल सम्झनु पर्छ । फलफूल खानुअघि सफा पानीले राम्ररी धुनुपर्छ । पानीमा केही मिनेट भिजाउनुपर्छ, यसो गर्दा बोक्राको रसायन सफा पानीले पखालिन्छ । कम्तीमा ८ घन्टा पानीमा भिजाए मात्र रसायन हराउन सक्छ । बेमौसमी वा समय अगावैका फलफुल नखानु नै बेस हुन्छ । जनस्वास्थ्यमा गंभीर असर गर्ने यस्ता विशाक्त फलफुल बजारमा खुलेआम बिक्री भईरहँदा पनि सरोकारवाला निकायले केही गर्न सकेका छैनन् ।
विषादीयुक्त फलफुल बिक्री भईरहँदा स्थानिय प्रशासन, नागरिक समाज र उपभोक्ता मञ्च भने मौन छन् । ठूलालाई सक्दिन सानालाई राख्दिन भन्ने सोचका साथ अघि बढेका सरोकारावाला निकायले जनस्वास्थ्यमा घातक असर गर्ने फलफुल नियन्त्रण गर्नुपर्छ । होइन भने मन्द विषले नागरिकको स्वास्थ्यमा छिटोढिलो गंभीर असर गर्नेछ । बजारमा अहिले मन्द विष भएका फुलफुलको बजारले कब्जा जमाएको छ । यतातिर उपभोक्ता मञ्चले विशेष चासो दिन जरुरी छ । जनताको उपभोग अधिकारको क्षेत्रमा काम गर्ने मञ्चले आफुलाई यस्ता कुराबाट पन्छाउन मिल्दैन । फलफुल मात्रै होइन दैनिक भान्सामा प्रयोग हुने तरकारीमा पनि आजभोलि व्यापक रुपमा विषादी प्रयोग गर्ने प्रचलन बढेको छ । तरकारी अर्गानिक रुपले पनि उत्पादन गर्न सकिन्छ । यसतर्फ सरोकारवाला निकायले ध्यान दिन जरुरी छ । छिटो पैसा कमाउने नाममा हामीले आफैमाथि खेलवाड गर्न मिल्दैन । सम्बन्धित निकायको ध्यान जाहोस् ।
Previous Articleपरिवारमा अभिभावकको भूमिका
Next Article मिठो बोलेर सेवा दिँदा के गुम्छ ?