म्याग्दी, १७ असार – जिल्लाको बेनी नगरपालिका–९, नेप्टेचौरमा शनिबार सहयोग रकम हस्तान्तरण तथा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । काउलेगौंडा युवा क्लब केवाईसी घतानको आयोजनामा भलिबल खेलाडीको आमा बचाउ अभियानको रकम हस्तान्तरण गरिएको हो । केवाईसी घतानका भलिबल खेलाडी सुजन चोखालको आमा बालकुमारी चोखालको उपचारका लागि क्लबले विगत ४ महिनाअघि सहयोग अभियान सञ्चालन गरेको थियो । क्यान्सरपीडित बालकुमारीको उपचार गर्न भन्दै स्वदेश तथा विदेशमा गरी कुल ४ लाख ७२ हजार ९६३ रुपैयाँ सङ्कलन गरिएको केवाईसीले जनाएको छ । कार्यक्रममा नगर उपप्रमुख बरुवाल, शान्ति कोषका अध्यक्ष शाक्य, बेनपा–९, का वडाध्यक्ष बेलबहादुर चोखाल र जिल्ला शिक्षा कार्यालयका स्रोतव्यक्ति मोहन बानियाँले स्व. बालकुमारीको परिवारलाई संयुक्तरुपमा उक्त रकमको फ्लेक्स चेक हस्तान्तरण गरेका थिए । तर, उपचारकै क्रममा चोखालको निधन भएको थियो । सहयोग रकमको फ्लेक्स चेक हस्तान्तरण गर्दै बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवालले युवा क्लबले समाजमा उदाहरणीय कार्य गरेकोमा प्रशंसा गरेकी छिन् । उनले आर्थिक रुपमा पछाडि परेका समुदायलाई सबैले सहयोग गर्नुपर्ने भन्दै उनले नगर क्षेत्रको जनचाहना अनुसार काम गर्ने बताइन् । ओमकुमारी शान्ति कोषका अध्यक्ष राजेश शाक्यले आर्थिक अभावकै कारण कुनै पनि म्याग्देलीले अकालमै मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यसहित शान्ति कोषलाई स्थापित गरिएको बताए । उनले हालसम्म कोषमार्फत विभिन्न ४२ जना बिरामीलाई उपचार गरिएको बताउँदै १ करोड ५० लाखको अक्षयकोषमा अहिले ७२ लाख सङ्कलन भैसकेको जानकारी दिएका छन् । केवाईसीका अध्यक्ष चिरञ्जीवी सुवेदीको अध्यक्षता र संस्थापक अध्यक्ष तेजेन्द्र बानियाँको सञ्चालनमा सम्पन्न कार्यक्रममा सामुदायिक अध्ययन केन्द्र घतानका अध्यक्ष यामबहादुर चोखाल, वडा सदस्य मैना बानियाँ कार्की, क्लब सल्लाहकार रुद्र रेग्मीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको अवसरमा आर्थिक सङ्कलन संयोजक समेत रहेका तेजेन्द्र बानियाँले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Previous Articleशिक्षकहरुको मर्यादाक्रमको सवाल
Next Article नरेठाँटी स्वास्थ्य चौकीलाई औषधि प्रदान