बागलुङ, १७ असार – बेनी नगरपालिका वडा नं. ९ घतानका महिलाहरु सहकारीमा आवद्ध भएर आयआर्जन वृद्धि गर्न र सामाजिक रुपान्तरणको अभियान जुट्न प्रतिवद्ध भएका छन् । समाज रुपान्तरणका लागि सहकारी भरपर्दो माध्यम भएकाले आफुहरु सहकारीमार्फत आयआर्जन र समाज रुपान्तरणको अभियानमा लाग्ने संकल्पका साथ अगाडि बढेको महिलाहरुले बताएका छन् । घतान सामुदायिक सिकाई केन्द्र मार्फत गाउँमा विभिन्न ३२ वटा समुह गठन गरी वचत तथा ऋणको कारोबारका साथै समाजमा हुने सामाजिक क्रियाकलापहरुमा सक्रिय रहदै आएका महिलाहरु सहकारी मार्फत अगाडि बढ्न लागेका हुन् । ९ जना मिलेर एउटा समुह गठन गरी मासिक वचत गर्दै आएका समुहमा १ लाख देखि ५ लाख सम्म वचत भएको छ । प्रत्येक समुहका सदस्यले मासिक ५० देखि ५०० सम्म वचत गर्दै आएको सामाजिक परिचालक यामकुमारी केसी चोखालले जानकारी दिइन् । ३२ वटा समुहमा क्रियाशिल २ सय ८८ जना महिलालाई सहकारीमा आवद्ध गराएर संगठित रुपमा आयआर्जनमा क्रियाशिल गराउने उदेश्यका साथ घतान सामुदायिक सिकाई केन्द्रले आयोजना गरेको महिला आयआर्जन तथा समुह शसक्तिकरण तालिममा सहभागी महिलाहरु सहकारीमार्फत अगाडि बढ्ने तयारीमा जुटेका हुन् । सहकारी सम्बन्धी तालिम लिएपछि आफुहरुलाई सहकारीमार्फत नै अगाडि बढ्ने प्रेरणा मिलेको शान्ति महिला समुहका अध्यक्ष शान्ति रोकाले बताइन् । तालिममा सहकारीको महत्व, उदेश्य र फाइदा लगायतका विषयमा सहजीकरण गर्दै राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले समाजमा रहेको श्रम, शिप र पूँजीलाई सही परिचालनका लागि सहकारी आवश्यक रहेको बताए । उनले सहकारीले सदस्यहरुलाई व्यवसाय गर्न सिकाउने र व्यवसायको मालिक समेत बनाउने भएकाले सहकारी व्यवसाय मार्फत आयआर्जनमा लाग्न महिलाहरुलाई आग्रह गरे । बेनी नगरपालिका वडा नंं ९ घतानका अध्यक्ष बेलबहादुर चोखालले महिलाहरुलाई राज्यका हरेक क्षेत्रमा अग्रसर गराउनका लागि सहकारी उत्तम विकल्प भएको बताए । घतान सामुदायिक सिकाई केन्द्रका अध्यक्ष यामबहादुर चोखालले समुहमा रहेको पूँजिलाई संस्थागत गर्न र महिलाहरुलाई आर्थिकका साथै नेतृत्वदायी भूमिकामा समेत अगाडि बढाउनका लागि सहकारीको आवश्यकता महसुस गरिएको बताए । ३ दिनसम्म सञ्चालन हुने तालिममा सहकारीका साथै साक्षरता, कृषि उत्पादन, पशुपालन लगायतका विषयमा सहजीकरण ग–स्रिने संस्थाका सचिव मनबहादुर खड्काले जानकारी दिए । ३२ समुहका अध्यक्ष र सचिव गरी ६४ जनाको सहभागिता रहेको तालिममा सहकारीका बारेमा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसी, साक्षरता सम्बन्धमा जिल्ला शिक्षा कार्यालयका विद्यालय निरिक्षक मोहनबहादुर बाँनिया र कृषि तथा पशुपालनका बारेका जिल्ला पशुसेवा कार्यालय म्याग्दीका नारायण दर्लामीले सहजीकरण गर्ने सचिव खड्काले बताए ।