बागलुङ, १७ असार – ढोरपाटन नगरपालिका—५ सहिखोलास्थित स्वास्थ्य चौकीबाट प्रदान हुने सुरक्षित प्रसुतीे सेवा प्रवाहमा समस्या परेको छ । दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन हुन नसक्दा र भवनको अभाव हुँदा सेवा प्रवाहमा समस्या परेको स्वास्थ्य चौकीका सिनियर अहेव ललितकुमार यादवले बताए । ६ जना कर्मचारीको दरबन्दी रहेपनि हाल स्वास्थ्य चौकीमा कार्यलय सहयोगी सहित ४ जना मात्र कर्मचारीहरु रहेका छन् । लामो समयदेखि रिक्त रहेको एचए पद केही साता अघिमात्र पुरा भएको थियो । अहिले उक्त स्वास्थ्य चौकीमा २ जना अहेवमध्ये करारको १ जना अहेबको पद खाली रहेको छ । त्यस्तै सुरक्षित प्रसुति सेवा सम्बन्धिको तालिम प्राप्त १ जना अनमीको समेत अभाव रहेको छ । तर अहिले १ जना मात्र अनमी रहेका छन् । प्रसुति केन्द्रमा १ जना एस्विए तालिम प्राप्त अनमी हुनैपर्ने प्रावधान भएपनि उक्त पदको कर्मचारी व्यवस्थापन नभएको भर्खरै मात्र आएकी हेल्थ असिस्टेन्ट कल्पना घर्ति मगरले बताईन । त्यसैगरी भवनले गर्दा पनि सेवा प्रवाहमा समस्या परेको छ । अहिले स्वास्थ्य चौकीको भवनमा ३ वटा मात्र कोठा रहेको कारण समस्या परेको हो । नयाँ मापदण्ड अनुसारको भवन निर्माणको लागि ४ रोपनी २ आना जग्गाको व्यवस्थापन भैसकेकोले भवन निर्माणको लागि जति सक्दो छिटो पहल गर्ने ढोरपाटन नगरपालिका वडा नं. ५ का अध्यक्ष लक्ष्मण पुनमगरले बताए । वि.स. २०७२ सालबाट सुरक्षित प्रसुति केन्द्र सञ्चालनमा भएयता अहिलेसम्म ३४ जनाले मात्र प्रसुति केन्द्रमा आएर बच्चा जन्माएको सिनियर अहेव यादवले बताए । जसमध्ये ५ जना जटिल अवस्था भएका गर्भवती महिलाहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा रिफर गरिएको उनको भनाई छ । यस प्रसुति केनद्रबाट साविक अधिकारीचौरका गाविस र बोबाङका गाविसका केही वडाहरुका स्थानीयहरुले सेवा लिइरहेका छन् । तथापी महिलाहरुमा चेतनाको अभावको कारणले गर्दा अझै पनि प्रसुति केन्द्रमा आएर सुत्केरी हुने महिलाको संख्या कम रहेको प्रमुख कल्पना घर्तिमगरले बताईन् ।