बागलुङ, १६ असार – १४औं धान दिवश बागलुङमा पनि मनाइएको छ । जिल्ला कृषि विकास कार्यालय र मिर्मिरे कृषि सहकारी संस्थाको आयोजनामा बानपा–३ स्थित पावरहाउस नजिकै धुमधामका साथ दिवश मनाइएको हो । जिल्लाको ५ हजार ९ सय ९५ हेक्टर जमिनमा गरिने धानखेतीबाट बार्षिक १९ हजार ४ सय ८४ मेट्रिक टन धान उत्पादन हुने गरेको बरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यले बताए । जिल्लामा प्रति हेक्टर ३ दशमलब २५ मेट्रिकटन धान उत्पादन हुने गरेको तथ्यांक समेत उनले बताए । कृषि विकास कार्यालयले साविकको बानपा खहरे क्षेत्र सहित हटिया, हरिचौर, ग्वालीचौर, कुश्मिसेरा, नारायणस्थान लगायतलाई धानको पकेट क्षेत्रको रुपमा लिएको छ । ती स्थानमा धान बालीका सबै पक्षलाई उजागर गर्दै उत्पादन बढाउने अभियान थालिएको पनि उनले जानकारी दिए । दुईबाली धानको बिस्तार, आर्थिक समृद्धिको आधार भन्ने नारा सहति मनाइएको दिवशको अवसरमा सरोकारवाला, राजनीतिक दल समेतले सहभागि भएर उत्पादन बढाउने अभियानमा सहकार्य गर्ने प्रतिवद्धता पनि जनाए । एशियामा बस्ने मानिसको आडिलो खानाको रुपमा धानबाली प्रख्यात छ । खाद्य तथा पोषण सुरक्षाको दृष्टिले पनि धान आवस्यक पर्ने बालीको रुपमा चिनिन्छ । मानिसलाई आवस्यक पर्ने क्यालोरीको २० प्रतिशत हिस्सा चामलबाट पाइएको समेत आचार्यले जानकारी गराए । संसारको १६ करोड ३२ लाख हेक्टर क्षेत्रफलमा लगाइने धानबाट ७४ करोड ९ लाख मेट्रिकटन उत्पादन भैरहेको छ । त्यो मध्ये ९० प्रतिशत उत्पादन र खपत पनि एशियामै हुने गरेको हो । नेपालको कुल ग्राहस्थ उत्पादनको २९ दशमलब ४ प्रतिशत हिस्सा पनि कृषि क्षेत्रले ओगटेको पाईन्छ । धानबाटै नेपालको ६० प्रतिशत बढी जनसंख्या आश्रित छन् । तसर्थ धानखेतीलाई दुई बालीको रुपमा विकास गर्न सकेमा आर्थिक रुपमा पनि सबल हुने तथा खाने अन्नको पनि पर्याप्तता हुने बताइएको छ । नेपालले हरेक बर्ष १ दशमलब ५ अर्व रुपैयाँको धान आयात गरिरहेकोले उक्त रकम बचाउन पनि उत्पादन बढाउनुपर्नेमा सरोकारवालाको आग्रह थियो । धान दिवशको अवसरमा आयोजित कार्यक्रममा बागलुङका सहायक प्रजिअ धु्रव गिरीले उत्पादकत्व बढाएर नेपालीको आर्थिक अवस्था सुधार गर्न सकिने बताए । कृषिलाई व्यवसायिककरण गर्दै किसानलाई धनी बन्ने आधार सिर्जना गर्न सकेमा कृषि पेशा छाडेर कोही पनि कतै नजाने उनको धारणा थियो । स्थानीय विकास अधिकारी रामप्रसाद आचार्यको अध्यक्षता, कृषि प्रसार अधिकृत विप्लबप्रसाद अधिकारीको संचालन र बरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा कृषि विकास मन्त्रालयका बरिष्ठ कृषि प्रसार अधिकृत रविन्द्र सुवेदी, राजनीतिक दलको तर्फबाट माओवादी केन्द्रका कुमार विक्रम क्षेत्री, मिर्मिरे सहकारीका कोषाध्यक्ष थानेश्वर सुवेदी लगायतले बोलेका थिए । उक्त स्थानमा किसान, कर्मचारी र अन्य सामाजिक क्षेत्रका अगुवाले हिलो खेल्ने तथा धान रोप्ने गरेर दिवश मनाएका थिए ।
सहकारी शिक्षा तालिम सम्पन्न
धान दिबसको अवसर पारेर सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि. बागलुङले शुभकामना आदान–प्रदान तथा सहकारी शिक्षा तालिम कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको महिला विकास उपसमितिको संयोजनमा आयोजित कार्यक्रमका अवसरमा संस्थाका सल्लाहाकार देववहादुर श्रेष्ठ, जगन्नाथ आचार्य, म्याग्दी जिल्ला बचत तथा ऋण सहकारी संघ लि. का अध्यक्ष अमृता श्रेष्ठ लगाएतले धान दिवसको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा सिवाईसी साकोसले सञ्चालन गरिरहेका गतिविधि, संस्थाले प्रदान गर्दै आईरहेका बचत तथा ऋणका सेवा सुविधा, सामाजिक सुरक्षा तथा मानविय समवेदनमा संस्थाले उपलव्ध गराउने सेवा सुविधा लगाएतका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा संस्थाका सञ्चालक समिति, लेखा समिति, उपसमितिहरु, शेयर सदस्य र कर्मचारीहरुको उपस्थिती रहेको थिए ।
रोपाई महोत्सव
गल्कोटमा १४ औं राष्ट्रिय धान दिवस एवं रोपाईँ महोत्सव सभ्य र भव्यरुपमा मनाईएको छ । लक्ष्मीनारायण मन्दिर गुठी व्यवस्थापन समिति गल्कोट नगरपालिका ९ छिसको आयोजनामा गुठीको ७ रोपनी खेतमा धान रोपाई गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि गल्कोट नगरपालिकाका मेयर भरत शर्मा गैरेले कृषक मैत्री वातावरण निर्माण गरि कृषकलाई गर्ने सहयोगमा नगरपालिका सदैव प्रतिवद्ध रहने बताउदै कृषकलाई कृषि प्रति आकर्षित गराउनु आजको आवश्यकता रहेको कुरामा जोड दिए । त्यस्तै कृषि सेवा केन्द्र हरिचौरका प्रमुख डि एन दाहालले केन्द्रले कृषकलाई प्राविधिक सहयोग गर्ने प्रतिवद्धता जनाउदै गलकोटमा छिट्टै २ ओटा धान काटने मेसिन आउने जानकारी दिए । सो अवसरमा गलकोट नगरपालिका वडा नं ९ का अध्यक्ष तेज बहादुर थापा, वडा नं ९ का अध्यक्ष राम प्रसाद कककडेल र नेपाली काँग्रेस केन्द्रिय महाधिवेशन प्रतिनिधि मञ्जु शर्मा चालिसेले मन्तव्य राखेकी थिईन । सामुहिक धान रोपाईमा करिब १०० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा वडा अध्यक्षहरु, पत्रकार तथा अतिथिहरुलाई सम्मान समेत गरिएको थियो । दही चिउरा खाँदै मेयर, वडा अध्यक्षहरु र अतिथिहरु समेत रोपाईमा सहभागी भई उक्त धान दिवस मनाईएको थियो ।