अर्जुन कार्की
बागलुङ, १६ असार – बागलुङ नगरपालिका–१० भकुण्डेमा संचालित होमस्टे पर्यटकको रोजाईमा पर्न थालेका छन् । २०६८ सालमा भकुण्डेका ९ घरधुरीले स्थापना गरेको होमस्टेलाई २०७३ चैत्रमा नेपाल पर्यटन बोर्ड पोखरामा अतिथि सत्कार होमस्टेको नामबाट दर्ता गरेर संचालन गरिएको होम–स्टेहरुमा दिनहुँ स्वदेशी तथा विदेशी पर्यटकको आगमनसँगै व्यवस्थित हुन थालेका छन् । होम–स्टे पुग्ने पर्यटकबाट राम्रो आम्दानी भएपछि भकुण्डेबासीले आफ्नो सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउने योजनामा जुटेका छन् । अहिले दिनहुँ जसो स्थानीय पर्यटकहरु आउन थालेपछि व्यवस्थापन गर्न होम–स्टे व्यवस्थापन समितिले प्रत्येक हप्ताको शुक्रबार होमस्टे प्याकेज कार्यक्रम संचालन गरिरहेको होमस्टे व्यवस्थापन समितिका अध्यक्ष खिम थापाले जानकारी दिए । ‘हामीले शुक्रबार २ दिने प्याकेज कार्यक्रम संचालन गरिरहेका छौं’ अध्यक्ष थापाले भने– ‘भकुण्डे घुम्न आउने पर्यटकको ध्यानलाई मध्यनजर गर्दै २ दिने प्याकेजको कार्यक्रम अगाडी बढाइएको हो ।’ दुई दिने प्याकेजमा भकुण्डेको कला, संस्कृति झल्कने सालैजो, झ्याउरे, चुट्के लगायत ठाडो भाकाका गीतहरु तथा नृत्यहरु प्रदर्शन गरिने, पर्यटकलाई भकुण्डेका पर्यटकीय क्षेत्रहरुमा घुमाइने तथा बिहानको खाजा, खाना र बेलुकाको खानाको व्यवस्थापन गरिएको अध्यक्ष थापाले जानकारी दिए । समुन्द्री सतहदेखि २ हजार १ सयको उचाईमा रहेको उक्त स्थानबाट दुई दर्जनभन्दा बढी हिमाल अवलोकन गर्न सकिने मूलाबारीको भ्युटावर, बराह ताल, हिरा ताल, सौर्यमा पिकनिक खान, बागलुङ संग्राहलय, स्थानीय कला संस्कृति हेर्न पर्यटकहरु आउने गरेको अतिथि सत्कार होमस्टेकी संचालक अप्सरा थापाले बताइन् । होम–स्टेमा आर्गनिक खानाहरु आलु, भटमास, मकै, मुला, कोदोका परिकार, सिस्नो, गुन्द्रुकका परिकार तथा स्थानीय खानाहरुको परिकार बनाइने भएकाले बजारदेखि घुम्न र आर्गनिक खाना खानको लागि स्वेदशी तथा विदेशी पर्यटकहरु आउने गरेको संचालक थापाले बताइन् । अहिले होम–स्टेमा स्थानीय खाना खाने, पर्यटकीय क्षेत्र हेर्ने र रातमा क्यामफायर गर्ने गरि पर्यटक भकुण्डे पुग्ने गरेका छन् । ‘होम–स्टे संचालन गरेपछि घर खर्च राम्रोसँग पुगेको छ’ होमस्टे संचालक अप्सरा थापाले भनिन् ‘यसबाट सन्तुष्ट छु, तर पर्यटकको लागि अझै राम्रो सुविधा दिन नसक्दा दुःख लागिरहेको छ ।’ पर्यटकको लागि बाथरुम, ट्वाईलेटको राम्रो व्यवस्था गर्न र घर वरिपरी फुलको बगैचा बनाउने काम भईरहेको थापाले भनिन् । बागलुङ बजारदेखि यातायात साधनमा १ घण्टा ३० मिनेट र पैदल २ घण्टा लाग्ने उक्त स्थानमा जानको लागि अझै प्रचार–प्रसार नपुगेको अर्की होम–स्टे संचालक इन्द्र थापा मगर बताउँछिन् । ‘पर्यटकहरु आईराख्नु हुन्छ तर अझैपनि सोचे ल्याउन सकेका छैनौं’ संचालक मगरले भनिन् ‘यहाँको बारेमा प्रचार–प्रसार नभएको होकी भन्ने लागेको छ ।’ पर्यटकहरु भकुण्डे भ्यूटावरबाट देखिने दृश्यहरु हेर्नको लागि अघिल्लो रातनै होम–स्टेमा बास बस्ने जाने गरेको संचालक मगरले बताइन् । सुर्योदय र हिमश्रृंखला हेर्नको लागि पर्यटकहरुले भ्यूटावरमै खाजा लगेर जाने गरेका छन् । भकुण्डेमा मगरको बासस्थान रहेकाले प्याकेजमा आउने पर्यटकहरुलाई माला र भकुण्डेको मगरहरुको गीत र नाचले स्वागत गरिन्छ । भकुण्डेको मुलाबारीमा निर्माणाधिन भ्यू टावरको काम अन्तिम चरणमा पुगेको र त्यसको निर्माण सम्पन्न भैसकेपछि अझ धेरै पर्यटकहरु ल्याउन सकिनेमा होमस्टे संचालकहरु आशावादी छन् । भ्यू टावरदेखि धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण लगायतका दुई दर्जन हिमाल देख्न सकिन्छ । सुरुका वर्षमा गाउँमा नै भकुण्डे महोत्सव गरी स्थानीयले सञ्चालन गरेका होमस्टेको प्रचारप्रसार तथा प्रवद्र्धन गरिएको थियो । हाल बागलुङ घुम्न आउने पर्यटकले एक रात भकुण्डेमै बिताउने गरेका छन् । हाल भकुण्डेको साविकको वडा नम्बर १, २ र ३ वडाका ९ घरथुरीले होमस्टे संचालन गरिरहेका छन् ।