बागलुङ, १५ असार-सहकारीमा विधि, नीति र प्रविधिको प्रयोग भएमात्रै सहकारीले फड्को मार्न सक्ने बागलुङमा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । ‘दिगो विकास, लक्ष्य प्राप्तीका लागि सहकारी’ भन्ने नाराका साथ बागलुङमा सञ्चालन भएको एक हप्ते सहकारी लेखा तथा व्यवस्थापन तालिम समापनका क्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । जिल्ला सहकारी संघ बागलुङको आयोजना र राष्ट्रिय सहकारी संघ ललितपुरको सहयोगमा तालिम सम्पन्न भएको हो । सहकारीमा आर्थिक पारदर्शिता कायम गरी विकासको बाटोमा अगाडी बढ्नका लागि प्रेरित गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको जिल्ला सहकारी संघले जनाएको छ । सहभागीले सहकारीलाई पारदर्शी बनाउन आवश्यक रहेको बताएका थिए । आमनागरिकको बिचमा ठुलो सञ्जाल निर्माण गरी पुँजी परिचालन गर्ने सहकारीको कार्य भएकाले आर्थिक नियम, अनुशासन र पारदर्शी रुपमा सहकारी सञ्चालन गर्नुपर्ने बताएका हुन् । कार्यक्रममा प्रशिक्षक गोपीकृष्ण भण्डारी, राष्ट्रिय सहकारी बैँकका सञ्चालक रामबहादुर जिसी, जिल्ला सहकारी संघका उपाध्यक्ष अशोकगोविन्द राजभण्डारी, कोषाध्यक्ष भुपाल चालिसे, सदस्य अञ्जु जिसी, सहभागीका तर्फबाट भोजराज रेग्मी, शिवकला थापाले बोलेका थिए । कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता र रेणु केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleसन्जीब पुडासैनीको मायाको गाँउमैमा
Next Article मोदीको प्रबक्तामा लामिछाने चयन