बागलुङ, १४ असार – यातायात व्यवस्था कार्यालय खुलेको दशक पुग्नै लाग्दा बागलुङमा पहिलो पटक स्मार्ट लाईसेन्स वितरण शुरु भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक रुप नारायण भट्टराई, प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी र विभागकै प्राविधिक निर्देशक प्रेमकुमार सिंहले संयुक्त रुपमा मंगलवार लाईसेन्स हस्तान्तरण गरेका थिए । उक्त लाईसेन्समा व्यक्तिको सबै विवरण समावेश गरिएको हुन्छ । लाइसेन्समा राखिएको चिप्सले देश विदेशमा पुगेर पनि सजिलै जानकारी दिन सक्ने व्यवस्था मिलाईएको उनले जानकारी गराए । लाईसेन्स वितरणमा हुने अनियमितताको अन्त्य गर्दै पारदर्शी बनाउनका लागि यो लाईसेन्स उपयोगी हुने उनले बताए । त्यस्तै नियमित रुपमा लाईसेन्सको परिक्षा संचालन गर्ने गरी अभियान संचालन हुने पनि उनले प्रतिवद्धता जनाए । बर्षौदेखि रोकिएको लाईसेन्स परिक्षालाई अव नियमित गरिने, कार्यालयले नगरेको खण्डमा कारण सहित स्पष्टीकरण दिनुपर्ने प्रावधान ल्याएको पनि उनले बताए । सेवा ग्राहीले परिक्षा दिएको २ महिनामा स्मार्ट लाईसेन्स आइपुग्ने गरी काम भएको उनको भनाई थियो । केही समय भित्रै यो क्रम एक महिनामा झार्ने योजना पनि उनले सुनाए । हुलाक सँग सम्झौता गरेर स्मार्ट लाईसेन्स बनेको भोलीपल्टै पठाईदिने व्यवस्था गर्ने उनले बताए । विभागमा ४ वटा मेसिन रहेकोमा थप ४ वटा ल्याएर दैनिक २ हजार लाईसेन्स दिन सक्ने बनाउने योजना राखेको छ । महंगो र प्राविधिक रुपमा जटिक मेसिन भएकोले अञ्चल तहमा पु¥याउन नसक्दा केही ढीलाई भएको उनले बताए । जिल्ला तथा अन्तर जिल्लागत सडकमा सवारी अनुमति दिंदा सडकको अवस्था बारे अध्ययन गर्नुपर्ने, सिट संख्या भन्दा बढी यात्री चढाएको र समायोजन भएको भाडा प्रयोगमा नआएको देखिएमा अनुगमन गरेर कारवाही गर्न पनि निर्देशन दिएका थिए । बस लगायतका सवारी साधनमा छत राख्न नपाउने व्यवस्था भैसकेकोमा अनुगमन र अनुमति दिंदा त्यो ध्यान दिन पनि उनले आग्रह गरेका थिए । ‘छत हटाएमा पनि ग्रामीण क्षेत्रमा २० प्रतिशत दुर्घटना कम हुने देखिन्छ’ भट्टराईले भने, ‘विभागले अहिले जिरो टोररेन्समा काम गरिरहेको छ, त्यो उलंघन भएमा कडा कारवाही हुन्छ ।’ अञ्जानमा भएका गल्ती भए माफी दिइन्छ, नियोजित रुपमा वा जानेर गल्ती गरेको भेटिएमा कर्मचारी, सवारी धनी र चालकलाई पनि कारवाही गर्न विभाग पछाडि नपर्ने उनले स्पष्ट पारेका थिए । विभागकै प्राविधिक निर्देशक प्रेमकुमार सिंहले बैज्ञानिक भाडादर कायम भएको स्थानमा बढी र जथाभावि भएको पाएमा विभागले तत्काल कारवाही गर्ने बताए । बागलुङमा पनि त्यो दर उलंघन भएको उजुरी आएको समेत बताए । सवारी साधनको गुणस्तर खस्केको भेटिएकोले तत्काल कार्यालयले कारवाही गरेर नगए विभागलेनै कारवाहीको दायरामा ल्याउने, आवस्यक परे रुट परमिट खारेज गर्न सक्ने सम्मको कारवाही गरिने पनि उनले दावी गरे । कार्यालयका नायव सुब्बा बाबुराम सुवेदीको संचालन र रामप्रसाद शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।