बागलुङ, १४ असार – नेपालका १ करोड ४ लाख युवा मध्ये अहिले पनि २६ प्रतिशत बेरोजगार रहेकोले उनीहरुलाई रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिइएको छ । जिल्ला युवा समितिको कार्यालयले आयोजना गरेको अन्तरक्रियत तथा युवा उद्यमी पुरस्कार कार्यक्रमका सहभागिले उद्यमशिलता र रोजगारीको अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले युवाहरु सक्रिय भएका देश अगाडि बढेको र युवा निस्कृय भएका देशहरु विकासको गतिमा पछाडि परेको बताए । साथै उनले रोजगारी र उत्पादनमुखी अभियानमा लगाउन नसके सम्म युवा पलायन रोक्न नसकिने पनि बताए । ‘अवसर सिर्जना गर्न सरकारी, गैरसरकारी संस्था र नीजि क्षेत्र मिलेर अगाडि बढ्नुपर्नेछ’ तिवारीले भने, ‘रचनात्मक काम गर्नेलाई सम्मान र प्रेरित गरेर पनि उद्यमशिलतामा आर्कषित गर्नुपर्छ ।’ राज्यले अवसर सिर्जना गरेपछि युवाले उत्पादनको क्षेत्रमा राज्यलाई योगदान दिन सक्ने उनले बताए । कार्यक्रममा समितिका प्रमुख कुश्मराज उपाध्यायले आगामी दिनमा युवालाई रोजगारीको क्षेत्रमा लाग्न सक्ने गरी तालिम दिएर दक्ष बनाउन विशेष कार्यक्रम ल्याउने धारणा राखे । सिलाई, व्युटिपार्लर, ल्पम्बीङ, टिभी तथा मोटरसाईकल मर्मत, हाउस वायरिङ र होटल म्यानेजमेन्ट लगायतका ८ बिधाका तालिम दिएर स्वरोजगार बनाउन बिऊ पूजिं समेत दिन कार्यालयले कार्यक्रम ल्याएको उनले स्पष्ट पारेका थिए । यो बर्षका लागि पनि तीनवटा समूहलाई तालिम दिने योजना बनाएकोमा ७ वटाले निवेदन दिएको उनले जानकारी दिए । निवेदन दिनेमा भकुण्डेको कुखुरा तथा बंगल पालन समूह, भैरव सूचना प्रविधि समूह बलेवा, भगवती किसान समूह जैदी, देउराली बाख्रा पालन समूह गाजा, बडिगाढ युवा कृषि समूह दगातुम्डाँडा, जनजाती किसान समूह रणसिंह किटेनी र शिवशक्ति किसान समूह देविस्थानले निवेदन दिएको उपाध्यायले जानकारी दिए । छनौटमा परेका समूहलाई ५ लाख रुपैयाँ सम्म निव्र्याजी पूजि दिने व्यवस्था छ । मंगलवारै आयोजित एक कार्यक्रममा उत्कृष्ठ व्यवसाय गर्ने बानपा २ को होटल पिस प्यालेस, ढाका कपडा बुनाई र उत्पादनमा लागेकी जैमिनी १० की लालीमा थापा र विज्ञान प्रविधि अन्र्तगत मोटरसाईकलको ईन्जिनबाट कार बनाउने गलकोट १० कांडेवासका भीम सुनारलाई ७ हजार नगद रुपैयाँ सहित सम्मानित गरिएको थियो । त्यस्तै समितिले आयोजना गरेको प्रतिभा पहिचान कार्यक्रम अन्र्तगत जिल्ला स्तरीय निवन्ध लेखनका बिजयी युवालाई पनि पुरस्कार वितरण गरिएको थियो । १६ देखि ४० बर्षका युवाहरु बीचमा ‘समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिका’ बिषयक प्रतियोगितामा गरेको थियो । सहभागि ११ मध्ये प्रथम भएका छिस्तीका दामोदर पौडेललाई ४ हजार, द्वितिय हुने वानपा ७ का सञ्जु शर्मालाई २ हजार ५ सय, तृतिय हुने बानपा ७ का हरिप्रसाद गौतम र सान्त्वना हुने बनपा ४ की टिकाकुमारी सापकोटालाई ७ सय रुपैयाँ नगद सहित पुरस्कार दिईएको थियो । समितिका प्रमुख कुश्मराज उपाध्यायको अध्यक्षता, जिल्ला शिक्षाका श्रोत व्यक्ति ढकबहादुर पुनको संचालन र लेखा अधिकृत कृष्णप्रसाद आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा जिल्ला खेलकुँद विकास समितिका अध्यक्ष धनबहादुर परियारले युवालाई सक्रिय बन्न दिन सकेमा मात्र राष्ट्र अग्रगतिमा चलायमान हुने बताए । पुरस्कृत दामोदर पौडेलले पनि युवालाई आर्कषण गर्न सकेको खण्डमा पलायन रोकिने धारणा राखेका थिए ।
Previous Articleधान रोपाई हुने खेतमा आलु र मकै
Next Article बागलुङमा स्मार्ट लाइसेन्स वितरण शुरु