उजिर मगर
२०५७ चैत १७ गते जेल ब्रेक गरेर भूमिगत भएका उमा भुजेल ‘शिलु’ सहित छ महिला बन्दीहरूको चर्चा चुलिएको थियो। जेलभित्रबाट सुरूङ खनेर भाग्नु चानचुने कुरा थिएन र यसले बाहिर सनसनी मच्चाउनु स्वाभाविक थियो। ती महिलाहरूले कसरी जेल ब्रेक गरे होलान्? उनीहरूको अनुभव छाप्न पाए त गजबै हुने थियो भन्ने लाग्यो मलाई।
‘तपाईंहरू कतै जानुपर्यो। नजिकै हो। तर, एकदम हतार छ।’ गोविन्द आचार्यले मलाई जनादेशबाट फोन गरे।
बीए दोस्रोे वर्षको परीक्षाका कारण मैले अफिसबाट बिदा लिएको थिएँ। असमञ्जसमा परेँ। भनें, ‘अफिसमा त छुट्टीमा छु, सर! पर्सि परीक्षा छ; जान सकिन्न।’
‘सबैको परीक्षाकै कारण अलिक समस्या भयो त!’ यति भनेर उनले फोन राखे।
केही बेरमा मलाई फेरि उनको फोन आयो, ‘परीक्षाको छुट्टीमा भए पनि अफिसमा सम्पर्क हुन सक्छ। दुई दिनजति सम्पर्कै नगर्नु। उता म र चन्द्रमान श्रेष्ठ जाँदैछौं। हामीले नै केही लिएर आउँछौं। जनादेशमा छाप्नु भन्दाअगाडि नै तपाईलाई दिउँला, कान्तिपुरमा छाप्नका लागि।’
म सहमत भएँ।
त्यसको दुई दिनपछि गोविन्दले फोन गरे, ‘तत्काल भेट्नुपर्यो।’
म बागबजार गएँ। उनीसँग जेल ब्रेक गरेका ती छ महिलाको फोटो रहेछ। उनले तिनीहरूको भाषण र अनुभव लगायतका सामग्री दिए। अफिस फर्केर मैले सामग्री बनाएँ।
जेल ब्रेकका क्रममा सुरूङ खन्ने कमला नहर्की ‘सपना’ को पूरै नङ खुइलिएको समेत लेखियो। ‘कोट’ मा थियो, ‘एक हातभन्दा छोटो रडको सहायताले सुरूङ खनेकी हुँ। सबै औँलाका नङ झरेका छन्।’
समाचारमा लेखेको थिएँ– २०५८ वैशाख १६ गते गोरखाको बगुवामा कार्यक्रम भएको थियो। सुरूङबाट बाहिर आउनेहरूमा सञ्जु अर्याल ‘निशा’, मीना मरहट्ठा ‘ज्याति’, रीता विश्वकर्मा ‘कविता’, एन्जिला विश्वकर्मा ‘शकुन्तला’ थिए। मुख्य कमान्डर भुजेल माओवादी वैकल्पिक पोलिटब्युरो सदस्य सुरेश वाग्लेसँगै मारिएका मध्यमाञ्चल सेना कमान्डर भीमसेन पोखरेलकी श्रीमती हुन् भनेर पनि लेखेको थिएँ। समाचार हेरेपछि गुणराज दाइले सोधे, ‘कहिले गा’को उजिर?’
‘अस्ति।’ मैले ढाँटें। ढुकढुकी बढ्यो।
‘यस्तो राम्रो न्युज त अलिक राम्रोसँग लेख्नुपर्छ नि! अनि बाहिर जाँदा हामीसँग सम्पर्क गरेर जानु नि! बाटामा केही भइहाल्यो भने अप्ठेरो हुन्छ। हामीलाई पनि अफिसमा पनि।’ गुणराज दाइले सम्झाए।
मनले भनिहाल्यो– गएको भए पो! तैपनि ‘हजुर, हजुर’ भन्दै थपिरहेँ।, अब त्यस्तै गर्छु, दाइ!’
भोलिपल्ट समाचार छापिएपछि सहकर्मी र साथीभाइसँगको भेटमा त्यही जेल ब्रेकको कहानी आइहाल्यो। जसले भेटे पनि सोध्न थालृ, ‘अहो, त्यस्तो सुरूङ खनेर जेल ब्रेक गर्न सक्ने महिलाहरू खतरा थिए होलान् है! अनि तपाईंहरूलाई त्यहाँ कसले लग्यो? फोटो खिच्न त सजिलै दिएछन्।’
‘उनीहरू खतरा थिए। हात बलिया। गुड गर्दा पनि दहे गरी हात मिलाए। जोशिला थिए। इतिहास रच्यौं भनेर खुसी थिए। अब, फेरि लड्ने हो भन्थे… …।’ यस्तै यस्तै तर्क दिएर तर्किएँ म।
‘कसैले सोधेका छैनन्? कस्तो छ समाचारको प्रतिक्रिया?’ गोविन्दले दिउँसो सोधे मलाई।
‘अफिसमा भनेर गएको भए हुन्थ्यो भन्ने कुरा भयो। बाहिर त कहाँ, कसरी गयौ भन्ने चर्चै छ, सर! गएको भए पो! यसो मिलाएर गफ दिइन्छ।’ मैले भनेँ।
उनी हाँसे मात्रै।
‘यो तपाईं–हामीबीचको कुरा मात्रै हो। यताबाट कहीँ कुरा जाँदैन। तपाईंले छापेर जे गर्नुभयो, ठीकै गर्नुभयो।’ उनले धन्यवाद शैलीमा औपचारिकता पूरा गरेँ।
(‘अंश’बाट)
गोरखा जेल ब्रेकको ‘झुटो’ फिल्ड रिपोर्टिङ
Previous Articleअल्पसंख्यक कुमाल र एकल महिला आयआर्जनमा
Next Article प्रदेश नम्बर १, ५ र ७ मा विहान ७ बजेदेखि मतदान