बागलुङ, १४ असार – स्थानीय तहको निर्वाचन अन्तर्गत दोस्रो चरणमा बुधबार प्रदेश नम्बर १, ५ र ७ मा अहिले विहान ७ वजेवाट मतदान हुदैछ । निर्वाचन आयोगले बुधबार विहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानको समय तय गरेको हो ।
बुधबार ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुने निर्वाचनका लागि चार हजार ५८१ मतदानस्थल र आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनको सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी परिचालन गरिएको छ । निर्वाचनमा एक लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन हुने जनाएको छ ।
३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका बुधबार मतदान हुन लागेको हो । बुधबारको निर्वाचनबाट १५ हजार ३८ पदाधिकारीलाई निर्वाचित हुनेछन् । निर्वाचनमा ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी मैदानमा छन् । निर्वाचन आयोगकाअनुसार यी तीन प्रदेशमा ६४ लाख ३२ हजार ६५ मतदाता रहेका छन् । निर्वाचन आयोगले मंगलबार पत्रकार सम्मेलन गरी निर्वाचनको तयारीबारे जानकारी दिएको थियो ।
पहिलो चरणमा प्रदेश नम्बर ३, ४, ६ को स्थानीय तहको निर्वाचन वैशाख ३१ गते सम्पन्न भएको थियो । पहिलो चरणमा सम्पन्न निर्वाचनबाट निर्वाचिन दुई सय ८२ स्थानीय तहका जनप्रतिनिधिहरुले कार्यभार सम्हालिसकेका छन् । आन्दोलनरत राजपाका कारण प्रदेश नम्बर २ को निर्वाचन भने तेस्रो चरणमा असोज २ गते गरिने भएको छ ।
राष्ट्रिय जनता पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले निर्वाचन बहिष्कार गरेकाले सम्भावित घटना हुन नदिन बुधबार हुने निर्वाचनका लागि सुरक्षा ब्यवस्था अत्यन्तै कडा पारिएको गृह मन्त्रालयले जनाएको छ ।
प्रदेश नम्बर १, ५ र ७ मा विहान ७ बजेदेखि मतदान
Previous Articleगोरखा जेल ब्रेकको ‘झुटो’ फिल्ड रिपोर्टिङ
Next Article बुटवल उपमहानगरमा मत हाल्न तीन घण्टा पैदल