बागलुङ, १२ असार – पाठशाला भन्ने वित्तिकै हामीले बालबालिका पढ्ने विद्यालय मात्र सम्झन्छौं तर लेखानीका किसानले लामो समय देखि आधुनिक प्रविधिको खेतीपाती कसरी गर्ने भनेर पाठशालामा पढीरहेका छन् । कृषि उपजलाई बैज्ञानिक ढंगले उत्पादन गर्ने, बजार विस्तार गर्ने र सहज रुपमा विक्रि गरेर आयआर्जन बढाउने उद्देश्यले यस्तो पाठशाला संचालनमा ल्याइएको हो । लेखानीको लाली गुराँस महिला कृषक समूहमा आवद्ध भएका किसान तथा अन्य गरी ३० जनाले पाठशालामा अध्ययन गरिरहेका हुन् । जिल्ला कृषि विकास कार्यालयले लेखानीमा विशेषगरी बेमौषमी र उन्नत जातको करेला उत्पादनमा पाठशाला संचालनमा ल्याएको समूहकी अध्यक्ष कमला रोकाले बताईन् । कृषि उपजमा लाग्ने रोक किराको बारेमा सबै किसानले बुझ्न सकिने गरी सिकाईने, कुन जातको फसलमा कति मल तथा विऊ प्रयोग गर्ने, पानी तथा मलको मात्रा बारे जानकारी पाउने लगायतका विषादीको प्रयोग, सिंचाई जस्ता प्राविधिक ज्ञान दिन पाठशाला संचालनमा ल्याइएको बागवानी विकास अधिकृत महिमा बज्राचार्यले बताईन् । यसरी कृषि कर्म गर्दा किसानले परंपरागत पेशाबाट भन्दा धेरै फाइदा कमाउन सक्ने उनको जानकारी दिईन् । ‘कृषिलाई पेशा बनाएका किसानलाई धेरै फाइदा पुग्ने गरी उत्पादन गर्न सक्ने बनाउनु हाम्रो कर्तव्य हो’ बज्राचार्यले भनिन्, ‘फाइदा पुग्छ भन्ने थाहा पाएपछि बल्ल हौसिएका छन् ।’ लेखानीका किसानले पाठशालाबाटै धेरै सिकेर व्यवसायिक फसल उत्पादन गरेर आयआर्जन गर्न थालेको समूहकी सचिव श्री पुनले बताईन् । पाठशाला सँगै बेमौषमी तरकारी खेतीमा पनि कार्यालयले सहयोग गरेको छ । यो अभियानमा लेखानीबाट २६ केजी रायो सागको बीऊ उत्पादन भएको, मकैको बीऊ पनि १ क्विन्टल, १५क्विन्टल केराउ र ३० क्विन्टल प्याजको बीऊ उत्पादन भएर विक्रि भएको किसानले बताए । किसानहरुको चाहना भएमा प्राविधिक सहयोग, बीउविजनमा समेत अनुदान दिएर उत्पादनको बजार खोज्न पनि सहयोग गर्ने बरिष्ठ कृषि विकास अधिकृत दिनेश आचार्यले बताए । लेखानीका किसानले पाठशालाको अनुभवबाट पाली र पिपल जातको करेला, प्लाष्टिक घरमा गोलभेडा लगाएर फाइदा कमाउन थालेका हुन् । पाठशालामा सहभागिहरुले घरघरमै उत्पादन गरेर लाखौं कमाउने योजना समेत बनाएको स्थानीय मिना पुले बताइन् ।