बागलुङ, १२ असार – केही समयदेखि लगातार बर्षात भएपछि जिल्ला भू संरक्षण कार्यालयमा डालेघाँस, फलफूल लगायतका विरुवा लिन आउनेको भीड लागेको छ । बाढी पहिरो नियन्त्रणका लागि समूह मार्फत तालिम दिएर तारजाली तथा बिउ पूजि समेत दिने कार्यालयले हजारौं विरुवा समेत वितरण गरेको हो । विशेषगरी नयाँ सडक खनिएका स्थानमा पहिरो जान सक्ने भएकोले कार्यालयले व्यक्ति देखि समूह समेतलाई ती विरुवा वितरण गरेको जिल्ला भू संरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले बताए । चालु आर्थिक बर्ष पनि कार्यालयले बागलुङ बजार र गलकोट स्थित मल्ममा उमारेको ८० हजार विरुवा जिल्ला भर वितरण गरेको छ । सदरमुकामबाट पायक पर्ने बिहुँ, पाला, भकुण्डे, बलेवा, मालिका, तित्याङ लगायतका स्थानमा वितरण गरेको हो भने गलकोटबाट सो क्षेत्र र पश्चिमका क्षेत्रमा विरुवा वितण गरेको हो । विशेषगरी राईखन्यु, निवारो जस्ता घाँसका विरुवा देखि पहिरो रोकथामका लागि अम्रिसो र बाँस पनि वितरण गरिएको हो । त्यस्तै स्थानीय किसानको समूहले माग गरेको आधारमा अलैंची, सुन्तला, कागती र जुनारका विरुवा समेत वितरण गरिएको भू संरक्षण अधिकृत शम्भुशंकर झाले बताए । केही उपभोक्ताहरुले गाउँमा खेतीपाती नगरेको कारण बाँझीएको जमिनमा डालेघाँस लगाएर हरियाली बढाउने उद्धेश्य समेत राखेका छन् । पशुपालनमा बढ्दो आर्कषण र खेतीपाती घटेकोले डालेघाँस बढी उपयोगी भएको पनि उनले बताए । कार्यालयले ती बाहेक फुल र सजावटका विरुवा पनि उत्पादन र वितरण गर्छ । अधिकांस मागको आधारमा वितरण गरिने भएकोले डालेघाँसमै माग बढेको पनि श्रेष्ठले जानकारी दिए । विरुवा रोप्ने अभियानलाई जनप्रतिनिधिहरुले पनि चासो राखेका छन् । वडा अध्यक्षहरुले माग गरेर गाउँमा लगेर रोप्नका लागि वितरण गर्ने काम पनि गरेको पाईएको हो । गाडिमा लगेर गाउँमै वितरण गर्न लगाइएको काठेखोला ७ का अध्यक्ष प्रेम लामिछानेले बताए ।