सुबिन भट्टराई
धेरै यात्राहरु साथीसँग कुरा मिलेर शुरु हुन्छन्। र, धेरै यात्राहरु साथीसँग कुरा नमिलेकै कारणले रद्द हुन्छन्। एउटाले घुम्न जाने भन्दा सहमतिका हातहरु जति उठ्छन्, असहमतिका बातहरु पनि उतिकै उठ्छन्। यसरी समूहमा घुम्न जाने विषयमा एउटाको समय, अवस्था, इच्छा, पैसा, रुची अर्कोसँग मिलिदिँदैन। हो, यसै कारणले अधिकांश योजनाहरु शुरुमै तुहिन्छन्। र जसको यी कुराहरु एक अर्कासँग मिलिदिन्छ, तिनीहरु भाग्यमानी हुन्छन्।
यसपटक रारा घुम्ने रहरको मूल मुटुभित्र फुटेर आयो। इच्छाहरु यति रसाएर आए कि अनिच्छा र अल्छीका झिल्काहरुका लागि कुनै स्थान रहेन। यसपटकको भ्रमण—योजनालाई योजनामा मात्र सीमित नराखी, वास्तविक भ्रमणमै परिणत गरेर कालान्तरसम्म मीठो सम्झनाका रुपमा सजाउने रहर भयो।आँटियो। म र उनी दुइजनामात्र भयौँ यात्राका लागि।
यात्राको पहिलो पाइला हामीले काठमाण्डौँ—सुर्खेत रात्री बसबाट चाल्ने भयौँ ।
यात्रा जहाँ र जहिले गर्न पनि आतुर तर प्लेन चढ्न हामी दुवै काँतर। नेपालमा बारम्बार विमान दुर्घटनाका खबरहरुले प्लेन चढ्नु आतंक जस्तो लाग्थ्यो। अझै पनि लाग्छ। त्यसैले फ्लाइट सकभर हामी अभोइड गर्ने गर्छौँ। त्यसो त नेपालका सडकहरु पनि कौन सा सुरक्षित छन् र। कालै आए दैलोमा ठेस लागेर पनि मर्छन् भन्ने भनाइ नै छ।
तर बस चढ्नुको मुख्य कुरा अर्कै छ। यात्रामा फेरिरहने अनगिन्ती दृष्यहरुले मनलाई आल्हादित तुल्याउँछ। खोला, नाला, रुखहरु, पहाडहरु, सस्याना बजार, अनि बसको झ्यालबाट जंगलको स्वाद मिसिएर आउने हावा, आहा! यी चीजहरुले यात्रालाई थप रोचक बनाउँछ। मोहक बनाउँछ।
अतः आफू पूर्वको मान्छे, पश्चिमतिरको बस कुन राम्रो कुन नराम्रो कुनै ज्ञान थिएन। पाँच सात ठाउँ फोन घुमाएर बस टिकट बिक्रेताको नाउँ र नम्बर टिपेँ। तर पहिलो गाँसमै ढुँगा लाग्यो। यति नराम्रो बसको टिकट परेछ कि कुरै नगरौँ।
गाडीभित्र शुरुमा छिर्दा र बस्दै गएपछिको भिन्नता, शुरुमा बसभित्र बसिसक्नु भएन । सबैभन्दा राम्रो गाडी खोज्दा सबैभन्दा घटिया गाडी परेको थियो। सहनुको विकल्प थिएन। शुरुमा बसको सिटमा गएर बस्नै घीन लाग्यो। तर बसियो। त्यसपछि, बस्दै गएपछि, गाडी अगाडी बढ्दै गएपछि, घीन भन्ने चीज काठमाडौं खाल्डोमै कतै छुटिगयो।काँक्रेबिहार यातायाता। बाहिरबाट हेर्दा ठीकै देखिएपनि भित्र घुँडा समेत नअट्ने सिटको दुरी। अनि त्यहाँमाथि राती दुङ्दुङ रक्सी र अर्थोक के के को गन्ध। अधिकांश यात्रु मदिराको नशामा थिए।
त्यहाँमाथि पछाडी बसेको एउटा जँड्याहा यात्रु रातभरि मोबाइल ह्याण्डस फ्रि मा राखेर एउटी केटीलाई घरी घरी झपारिरहेथ्यो, ‘तलाइ काटौँ कि मारौँ के गरौँ’ भनेर। जति इग्नोर गरौँ भन्दा पनि आवाज कानसम्म आइहाल्थ्यो। सहियो।
सुर्खेत पुग्दा अर्को दिनको दुइ बजेको थियो।
सुर्खेत पुग्नेबित्तिकै त्यहाँको रोपाइँ गर्न मिल्ने स्थितिमा पुगेको हिले बसपार्कमा बुझ्न गयौँ। उनीहरुसित यस किसिमको संवाद भयो।
‘एकजनाको कति भाँडा ?’
‘मुगुसम्मको सत्र सय।’
‘कहिले पुर्याउँछ?’
‘यस्तो छ बाटो अहिले, बाटो ठीकै रह्यो भने पर्सी बेलुकीसम्म पुर्याउला।’
ज्या! गलत समयमा पो आइयो कि।
तापनि आँट गरेर हिँडियो।
भोलीपल्ट बिहान साढे आठमा गाडी छुट्यो। विल्कुलै नयाँ ठाउँ, नयाँ यात्रा। तेह्रवटा अञ्चल टेकिया थियो। आजबाट चौध अञ्चल नै टेकिने भयो। कर्णाली अञ्चल। कर्णाली अञ्चल यस्तो अञ्चल हो, जसको दुखःलाई एनजियो, आइएनजियो, कवि, लेखक, पत्रकारहरुले खूब बेचेका छन्। आफ्नो कवितामा कर्णालीबासीको आङ जति नै नाँगिन्छ, कविता त्यति नै सशक्त हुन्छ। आफ्नो कथामा कर्णालीबसीको पेट जति सक्दो भोको बनाउन सक्यो, त्यो सिर्जना यतिकै कलात्मक भैदिन्छ। आफ्नो तस्बिरमा कर्णालीबासीको चाउरी परेको गालालाई जति जुम गरेर खिच्नुहुन्छ त्यो तस्बिर त्यति नै धेरै जीवन्त हुन्छ। आफ्नो सिर्जनामा कर्णालीबासीको जति आँशु झा¥यो, त्यति नै आफ्नो खातामा पैसा सार्न सकिन्छ। थाहा छैन कर्णाली मानचित्रमा कसरी अटाएको छ, तर कर्णालीको दुखःले भने राम्रो बजार पाएको छ। अनेकन सर्जकहरुको आँखाले देखेको कर्णालीलाई मैलेपनि देख्न पाउँदै थिएँ।
साढे आठमा हिँडेको गाडी बडो लोसे पारामा हरेक मोड मोडबाट प्यासेञ्जर बटुल्दै साढे बाह्रमा दैलेखको कुनै एउटा ठाउँमा खाना खानलाई रोकियो। झिँगाहरुको बिग्बिगिका कारणले खाना खानका लागि बडो दिगमिग लागिरहेको थियो। तरपनि भोकले जित्यो। भोक लागेपछि पेटले दिमाग र जिब्रोको कहिल्यै सुन्दैन। खाइयो। बडो मिठो खाना। दाउरामा पकाइएको खानाको स्वादै भिन्न। लोकल कुखुराको मासु र भात। गाडीहरुले रोक्ने ठाउँको खाना यति मिठो भएको सायद जीवनमै पहिलोपटक थियो।त्यसपछि गाडीले एउटा रफ्तार पक्र्यो। उसको पेट अघि सुर्खेतको एउटा पम्पमा जो भरिसकेको थियो। अगाडी साँघुरो बाटो, दायाँ अग्लो पहाड अनि बायाँ निक्कै तल गहिरो कर्णाली नदी। बाटो यति साँघुरो थियो कि अर्को दिशाबाट अचानक कुनै गाडी आयो भने साइड दिनलाई कुनै कुनै बेला त दुइ तीन सय मिटर परै गाडी ब्याक गर्दै लैजानुपर्ने। टिकट काट्ने बेलामा गाडीवालाहरुले बेलुकी सात बजेपछि यो बाटोमा गाडी चल्न दिँदैनन् भनेका थिए। ठीकै रहेछ। यस्तो खतरनाक बाटोमा दिउँसै त गाडी खसेर मरिएलाजस्तो थियो, राती के हविगत होला।
थरी थरीका मानिसहरु गाडीमा चढे, ओर्ले। मानिसमात्र चढेनन्, भेडा बाख्रा, च्याङ्ग्रा पनि चढाइए, कुखुरा र हाँसपनि चढाइए। कालीकोटमुनिको एउटा खोँचमा गएर बस रोकियो। खोँच भएपनि एक साइडमा पाँच सात चियापसलहरु थिए। त्यहाँ गाडी साइड लगाएर चालक र खँलासी दुबै एकै स्वरमा भन्छन्, ‘यहाँभन्दा उता गाडी जाँदैन।’
बेलुकीको पाँचमात्र बजेको भएतापनि अग्ला अग्ला पहाडले घडीका सुइहरुलाई ठेलेर पर पुर्याइदिएजस्तो लाग्यो। बसमा मुगुसम्म यात्रा गर्ने त हामी दुइमात्र थियौँ। अरु सबै लोकल। हामी पर्यौँ अलपत्र । मुगु हिँडेका हामी दुइको मुटुले कामै नगर्लाजस्तो भयो। यस्तो ठाउँमा आएर कहाँ कसलाई कम्प्लेन गर्नू ?
ओर्लेर हतनपत उनीहरुका सामु परेर भनिहाल्यौँ, ‘अनि हामी चाहिँ कहाँ जानू?’
‘तपाइँहरुलाई अर्को गाडीमा हालिदिन्छौँ।’ उनीहरुको यति बचन सुनेपछि फोक्सोमा सास भरिएजस्तो लाग्यो।
बीस मिनेटपछि अर्को गाडी आयो। उनीहरुले हामीलाई भने, ‘यो गाडीमा जानुस्। आज मान्मातिर लगेर बसाउला। भोलि बिहान नाग्मोसम्म जानुहोला अनि त्यहाँबाट उता मुगु जाने गाडीमा चढ्नुहोला।’ उनीहरुले हाम्रो हातमा चौध सय हालिदिए जो चौँतिस सयबाट त्यहाँसम्मको भाडा कटाएर दिइएको थियो।
अर्को बस चढिसकेपछि बल्ल ढुक्क भयौँ। यो गाडीमा लोकलभन्दा पनि लामो दुरीका यात्रीहरुपनि देखिएका थिए। दुईजना गोरीहरुपनि थिए।
कर्णाली तरेर कालीकोटको सदरमुकाम मान्माको उकालो लाग्दै गर्दा बडेमानका भीर देखेर पनि त्यति अत्यास लागेन। यहाँ बाटो अलिकति राम्रो थियो। मान्मा पुग्दा झमक्कै भएको थियो। बस मान्मा भन्दा पाँच सात मिनेट केही परको ताडी भन्ने ठाउँमा गएर रोकियो।
‘ल आजको बास यहीँ।’
ठाउँ रमाइलो भएता पनि होटल देखेर बिरक्त लाग्यो। गुफाजस्तो घर। होटलवालाहरुले कोठामा लैजादै गर्दा हावा कतैबाट पनि पास हुने ठाउँ थिएन। चारैतिर अँध्यारो। जताततै चुरोटको गन्ध। ओसिलो भुइँ।
एउटा कोठामा लगेर देखाए, ‘ल यो कोठामा बस्नुस् तपाईंहरु।’
कोठामा एक बिचित्र किसिमको दुर्गन्ध व्याप्त थियो। एकाध चुरोटकको ठुटा खाटमा पनि थिए। ढोकामा चुकुल थिएन। गाइले बाँआआआ गर्दा खुलेको मुखजत्रो (अलिकति ठूलो हुँदो हो) एउटा सानो झ्याल (प्वाल भनेपनि हुन्छ)। त्योपनि नाङ्गै। त्यसमा न सिसा थियो न पर्दा। खाट दुईटा छ जसमा डस्नाले आधा आधा भागमात्रै ओगटेको छ। अनि मैलो कट्कटाउँदो तन्ना। ओछ्यानको फेसन देखेर उदेक लाग्यो। यो पनि कुनै कोठा हो। जिन्दगीभरि जे जति होटलका कोठामा जहाँ जहाँ जसरी बसियो सबैभन्दा निम्नकोटीको कोठा यही थियो। सबैभन्दा निम्नकोटीको बसाइ यहीँ हुँदै थियो।
‘अलिक राम्रो कोठा छैन?’ कोठा देखेर बिरक्तिएको म उनीहरुलाई सोध्न लागेँ।
‘तपाइँहरु परिवार भएकाले एउटा कोठा देको। एक्ला एक्लै आएकाहरुलाई लहरै एउटै कोठामा सुताउने गरेका छौँ यहाँ त।’
यो कुरा सुनेर म चुप लागेँ । पाएको यहि कोठापनि फुत्केला भन्ने डर भो। मनमनै चाहिँ खूब मुर्मुरिरहेको थिएँ। ए बा ! हामी कैदी कि यात्री!खाटमा बस्नै अफ्टेरो लागिरहेको थियो। बस्यौँ। एकछिन बसेपछि केही लागेन। सिरक तानेर ओढ्नै घिन लागिरहेको थियो। तानेर ओढ्यौँ। एकछिन ओढेपछि घिन हट्यो। खाना पनि खानु कि नखानु भइरहेको थियो। भान्सामा गयौँ, खायौँ। खाएपछि मिठो लाग्यो। सुतिन्छ सुतिन्न भइरहेको थियो। सुतियो। एकछिन बानी नपरुञ्जेलको कुरा मात्र रहेछ। बानी परेपछि केही नलाग्ने रहेछ। मान्छेमा त्यो एड्जस्टमेन्ट पावर भने हुनुपर्ने रहेछ।
भोलिपल्ट बिहानै छ बजे ताडीबाट गाडी अग्ला पहाडी सडक चिर्दै हिँड्यो। बिहानीको दृष्यमा सम्पूर्ण कालीकोट बिहानझैँ फ्रेस र सुन्दर लागिरहेको थियो। अग्ला भीर पहराहरु मोहक लागिरहेको थियो। गाडी एक घण्टाजति गुडेपछि एकजना महिलाको ओर्लने बेला भयो। दुई वर्षमा माइत आएकी महिला रहिछिन्। काखमा च्यापेकी दुधे बालक छ। बीचको खाली ठाउँमा तेर्स्याइएको एक सुटकेस अनि हुडमा हालिएको एउटा झोला छ। अनि छेउको सिटमा मन्द मुस्कुराइरहेका उनका पति। कोट पेन्ट लगाएका। बिचरी एक घण्टाको दुरी पर माइतीघर हुँदा हुँदै कहाँ वर बिरानो ठाउँमा रात बिताउनुपरेको। यो कुरा बुझेर पनि बिचित्र लाग्यो।तर उनी खुसी थिइन्। माइतीघर नजिकैका गाउँ पनि उनलाई प्रिय लागेको हुँदो हो। करीब तीन घण्टासम्म यस्तै यात्रा गरिसकेपछि हामी नाग्मो भन्ने ठाउँ पुग्यौँ। नाग्मोबाट एउटा गाडी पाइयो जो जुम्लाको गोठेजिल्लसम्ममात्र जाने। त्यहाँबाट मुगु करीब ६० किलोमिटर।
नाग्मोबाट गाडी हिँडेर केही पर पुगिसकेपछि झनै रमाइला दृष्यहरु देख्न पाइयो। दायाँतिर नागबेली भएर बगेको तीला नदी अनि त्यसको किनारमा सिञ्जा भ्याली, जहाँ भरखरै रोपाइँ हुँदै थियो। खेतका कतिपय गह्राहरु त हरियै भइसकेका थिए। अनि ठाउँ ठाउँमा अग्ला तर हरिया डाँडाहरु। भित्तैभित्ता रेल कुद्यो भने, स्वीट्जरल्याण्डभन्दा कम हुनेछैन। कल्पना गर्दामात्र पनि मिठो भो यो कुरा।
यात्रामा एउटै चीज नराम्रो लाग्यो। गाडीमा समेत झिँगै भन्किरहेको। र झिँगा यस्तो संख्यामा थियो कि लागिरहेथ्यो, गाडी खास झिँगा ओसारपसार गर्नका लागि हो, जसमा केही मानिस समेत यात्रा गर्न पाइरहेछन् । यसले चाहिँ दिगमिग लगाइरह्यो। बसमा जो जो मानिस चढ्थे खलाँसी भाइ उसलाई एउटा पोलेथिन झोला दिन्थे, जसमा यात्री बिहान गरेर आएको भोजनलाई अर्ध रासायनिक प्रकृयाबाट गुज्रिएर आएको रुपमा मुखबाट ओह्राल्थे। बसभित्र झिँगाको परिमाणमा उल्लेख्य बृद्धि हुनुमा यहि कारण हो भन्ने मेरो ठम्याइ थियो।
करीब दुइ बजे हामी गोठेजिल्ला पुग्यौँ । र त्यहाँबाट जीपमा साढे तीन घण्टा लगाएर मुगु। रारा जाने बाटो र ताल्चातिर जाने बाटोको संगमनेर एउटा हाइलक्स ठ्याक्कै फेला पर्यो । जीपका गुरुजीले त्यो हाइलक्स रोकाएर हामीलाई चढाए।
‘बाइ बाइ,’ जिपका बाँकी यात्रुले हामीलाई बिदा दिए, ‘राम्रोसित घुम्नुहोला है।’
यात्रामा थुप्रै साथी बन्छन् । धेरैजसो सम्बन्ध त यात्रामै टुङ्गिन्छन् तर केही सधैँ टिकिरहन्छन्। यी मुगु र हुम्लाका प्यासेञ्जरसित साढे तीन घण्टाको यात्रामै कति गहिरो खालको सम्बन्ध बनेको। बाटोभरि अनेक गफ गर्दै आएका थियौँ। एउटा होटलमा सँगै बसेर चाउचाउ खाएका थियौँ। आगो तापेका थियौँ। यात्राको एउटा पातलो धागोमा, विभिन्न फूलहरुको एउटा छुट्टै किसिमको सम्बन्धको माला उनिएको थियो। तर ताल्चा नजिकै त्यही सम्बन्धको मालाबाट दुइ थुँगा फुललाई च्वाट्ट चुँडिएर अर्कै दिशामा जानु थियो। त्यो मालाबाट केही फुलहरु अहिले केही छिनमा फेरि छुट्नेछन्।
हाइलक्स भरिभराउ रहेछ । केटाहरु गीत गाउँदै, नाच्दै, उफ्रिँदै यात्रा गरिरहेका रहेछन्।
केटाहरुले हामीलाई देखेपछि अलिब अदब राखे। लेडिज पनि देखेकाले होला दुइजना केटाहरुले अगाडी दुइवटा सिट हामीलाई छाडिदिए। तर अफसोस एउटा ठाउँमा पुगिसकेपछि हाइलक्स चढ्नै सकेन। पानी परेर पुरै हिलो भएको थियो। त्यो हिलोले भरिएको बाटो हाइलक्सलाई सगरमाथा भन्दा पनि बढी लाग्यो।
हामी ओर्लियौँ । खलाँसी भाइले हामीतिर सोझिँदै भाडा मागे, ‘तम्रा भाँडा?’
दुईजनाको पाँच सय रुपियाँ तिरिसकेपछि हामी फेरि उकालो चढ्यौँ। उकालो चढेको केही बेरपछि एउटा ठूलो पाटन देखापर्यो। सेता र पहेँला भुइँफुलले भरिएको पाटनको पर परसम्म भेडाहरु चरिरहेका थिए। चारैतिर जता हेर्यो वर्ल्ड कप खेल्ने हरियो मैदानजस्तै लाग्ने । त्यो ठाउँलाई छाडेर हिँड्नै मन थिएन। तर यात्रीहरु विवश हुँदारहेछन्, एकै ठाउँमा नअडिरहनलाई।
त्यहाँबाट करीब दश मिनेट ओह्रालै ओह्रालो लाग्यौँ।
फेरि हामी टक्क अडियौँ। अडियौँ के भन्नू। हामीलाई त्यो दृष्यले नै आफैँ अडायो । पहिलोपटक त्यस्तो दृष्य देख्दा त्यसलाई स्किप गरेर हिँड्ने त मूर्ख हुँदो हो । एकपटक उभिएर आँखाभरि रारालाई समेट्यौँ। राराले हामीलाई कुनै कोणबाट निराश गरेन। जे सोचेर आयौँ, त्योभन्दा बेसी नै पायौँ, कम पाएनौँ।
जँगलै जँगलको बाटो करीब एक डेढ घण्टा हिँडिसकेपछि होटलमा पुग्यौँ। एउटा कोठाको प्रतिरात पन्ध्र सयमा होटलले चार्ज गर्ने बतायो। हामीलाई रारातिरै फर्केको झ्यालको कोठा दिइयो।
रातै परिसकेको थियो। तर जुन भरखरै उदाएर तालमा हलुको प्रकास फ्याँकेको थियो। लोभैलाग्दो दृष्य थियो यो। यस्तो लागिरहेको थियो पूर्णिमाले जाज्वल्यमान भएको जून आफ्नो अनुहारलाई आज रातभरि रारातिर फर्काएर ऐनामाझैँ हेर्नेछ । क्यामेरामा ठीकसित नआएको यो दृष्य स्मृतिमा भने स्पष्टसित जुम र फो अटाएको छ। हामी भाग्यमानी रहेछौँ। रारा मात्र हेर्न आएका जून अनि तारा पनि देख्यौँ।डिनर गरेर आइसकेपछि पनि सुत्न मन लागेन। हामी एकछिन टहल्दै तालतिर गयौँ र जून र रारालाई बडो स्वाद मानी मानी हेरिरह्यौँ। तर जाडोले धेरै बेरसम्म टिक्न सकिएन । कोठामा फर्कियौँ। राती पनि बेला बेलामा ब्यूँझेर त्यतातिर आँखा गइरह्यो।
अर्कोदिन बिहानीले बेइमानी गर्यो। ब्यूँझदा झमझम झरी परिरहेको। ला खत्तम! यति टाढा आएर दिनभरि होटलको कोठाभित्रै बस्नु पर्ने स्थिति भो भने भन्ने आतंकले अँठ्यायो। बिहानभरि गम्म लुगा लगाएर झ्यालबाट घरी आकास र घरी रारालाई चिहाइबस्यौँ। पानी परेर होला जाडो अचाक्ली बढेको थियो। लुगलुग काम छुटिरहेको थियो।
तर दिनले दिग्दार लगाएन। छ्याङ्ग खुलेर आयो आकास। आकाससितै हाम्रो मनभित्रको बादल पनि फाटेर छ्याङ्ग भयो। तर बादलहरुको चकचक दिनैभरि देखियो। घरी लुक्ने, घरी देखिने, घरी छरिने, घरी समेटिने, घरी फाट्ने बादलको सिलसिला दिनैभरिजसो जारी रह्यो।
हेभी ब्रेकफाष्ट खाएर निस्कियौँ हामी होटलबाट। जहाँ हेर्यो, त्यतै राम्रो। जता टेक्यो, त्यै भुइँ राम्रो। जे देख्दा पनि फोटो खिचौँ खिचौँ लागिरहने। हरेक फूलसित प्रेम भयो। हरेक घाँससित लगाव भो। सम्पूर्ण जँगल देखेर हुरुक्कै भइयो। हामीले हरेक कोणबाट रारालाई खिच्यौँ। तापनि हाम्रो धीत मरेन।
कठमाण्डौँमा भीडमा पनि एक्लो महसुस हुन्थ्यो। यहाँ एकान्तमा पनि एक्लो म छैन। कुनैपनि कुरा अति नै मन पर्यो भने त्यो आफ्नै लागिदिन्छ। यहाँ हर चीज मन परिरहेको थियो। हर चीजप्रति लगाव हुन थालेको थियो। त्यसैले होला एक्लोपना पटक्कै महसुस भएन। हो, मेरो शरीर आफ्नो ठेगानाबाट जति टाढा भएपनि मन भने पुरै ठेगानमा थियो। आफूलाई आफ्नै नजीक पाइरहेको थिएँ। भीड र कोलाहलमा त आफूलाई पनि भेटिन्न। यहाँ आएर आफूसित आफ्नै साक्षात्कार भएको पाएँ। भीडमा आफ्नै मनको चिच्याहट पनि दबिदोरहेछ। यहाँ आफ्नो मनले आफैँसित मारेको साउतीपनि गुञ्जाएमान भइरहेछ।
अनेकौँ भीर पहरा छिचोलेर आएका हामी रारा वरपरको हराबरा, अनि त्यै हराबरामा चरिरहेका घोडा, भेडा अनि बाख्रा, राराको किनारमा भएका साना ठूला घाँसे मैदानमा फुलेका सेता, पहेँला, नीला भूइँफूल अनि त्यसमा बसेका भमरा, सँगीतको धून प्रसारित गरिरहेका चिरबिर चिरबिर चरा सबै देखेर हाम्रो हृदयको कुना कन्दरामा आनन्दको सञ्चार भयो।
बेलाबेलामा स्थानीयहरु घोडा चढेर बाटोमा आवत जावत गरिरहेछन्। घुम्न आएका नेपालीहरु पनि कोही रातातिर क्यामेरा सोझ्याइरहेछन् त कोही रातातिर पिँठ देखाएर पोज दिइरहेछन्। घरी घरी भेटिन्छन् मेरै प्रिय पाठकहरु पनि। कति रमाइलो। कालीकोटदेखि पैँदल हिँड्दै आएका डोल्पेली जीवन साही भाइपनि भेटिए। हिँड्दा हिँड्दा जुत्तै फाट्यो भनी उनी जुत्ता देखाउँछन्। हो त, भाइका जुत्ता फाट्नसम्म फाटेछन्। बरा कतिे डाँडा पो काटेछन्।
‘भीर र पहराको बाटो छिचोल्दै आइयो दाइ, गाह्रो रैछ । तर त्यै गाह्रोले एउटा चीज कमाएँ। अनुभव।’
मेरै अनुभव पनि यस्तो छ कि जीवनलाई हर हिसाबबाट अनुभव गर्नुभन्दा राम्रो अनुभव अरु केही हुन्न।
जीवन भाइको साहसलाई सलाम अनि उनको अनुभवलाई थम्स अप। हामी बाटैबाटो हिँड्दै हिँड्दै माथि मुर्मा टप (जहाँबाट सम्पूर्ण रारा देखिन्छ) सम्म जाने भनी योजना बनायौँ। हिँड्दा हिँड्दै बाटोमा एउटी स्थानीय, करीब चौध पन्ध्रकी बालिका भेटिइन्।
उनलाई सोध्यौँ, ‘मुर्मा टप जाने कताबाट हो?’
‘छोटो बाटो हिँड्ने कि लामो?’ बालिकाले सोधिन्।
‘पक्कै छोटो,’ मैले भनेँ।
‘उसोभए हाम्रो गाउँको बाटो हिँड्नुस्।’
‘गाउँको बाटो त झन् लामो हुन्न र?’ मैले सन्देह गरेँ।
उनले तर्क गरिन्, ‘जँगलको बाटो जानुभयो भने त तपाइँहरु हराउनुहुन्छ। हराएपछि बाटो लामो भएन। गाउँ हेर्दै गाउँको बाटो हिँड्नुस्, झुक्किए गाउँलेहरुलाई सोध्दै सोध्दै हिँड्नुस्, छोटो लागिहाल्छ।’
छोटो बाटोको लोभले लामो कुरा गर्दै ती बालिकासितै हिँड्यौँ। उनका बारेमा अनेकौँ प्रश्नहरु सोधेँ। नौ क्लासमा पढ्दिरहिछिन्। केही वर्षअघि बा रुखबाट लढेर बित्नुभयो। बा भएको भए म काठमाण्डौँ बसेर पढ्न पाउँथे। गाउँमा पढाइ हुन्न। क्लासमा म सेकेण्ड हुन्छु। घरमा आमा र म मात्रै।
बालिकाको दुखेसो उनकै घर नआउञ्जेलसम्म सुनियो । उनको घर आइपुगेपछि हाम्रो बाटो छुटियो।
‘राम्रोसँग जानुहोला है,’ उनले मुस्कुराउँदै भनिन्, ‘दिनभरि मेरो काम नभएको भए घुमाउन लगिदिन्थे। यही बाटो फर्कनुभो भने हाम्रो घरपनि पस्नुहोला।’
‘हस्,’ हामी उँभो लाग्यौँ।
तर आधाभन्दा बढी बाटो हिँडेपछि घाम र थकाइले खबरदारी गरिहाल्यो। धेरै दिनको बसाइ नभएकाले पनि माथिसम्म जाने आँट गर्न सकिएन। बीच बाटैबाट फर्किहाल्यौँ हामी । फर्केर दिनभरि राराकै किनार भएर पटक पटक हिँडिरह्यौँ। कहीँ पोज दियौँ, कहीँ वरपर प्रकृतिको प्राकृतिक पोजलाई क्यामेरामा उतार्यौँ । कहीँ हिँड्यौँ। कहीँ फुलै फुलको गलैँचामा थुचुक्क बस्यौँ। बस्दा ध्यान, योगा गरेजस्तै फील भइरहेथ्यो। न कुनै आवाज छ, न धुलो न धुवाँ न कुनै बाधा न व्यवधान न तनाव। हाम्रो दिन यसैगरि बित्यो। शरीर थाकेको भएता पनि मस्तिष्कले आराम पाएको थियो। काठमाण्डौँको भुमरीमा फसेको जीवनले रारामा दुइ रात नै भएपनि आराम पाएको थियो।
रारासितको सामीप्यको अवधी छोटिँदै थियो। यो तालको दृष्यावलोकन, यो स्वच्छ र बिल्कुलै शान्त माहौल अब भोलिबाट उपलब्ध हुनेवाला छैन। यो सम्झेर बेला बेलामा मन खिस्रिक्क भइरहेथ्यो भने अतृप्त रहरहरु हिक्क हिक्क गरिरहेथ्यो।
भोलिपल्ट हामीले प्लेनमा जाने निर्णय गर्यौँ। मन त थिएन तर होटलवालाले हामीलाई करीब बीस मिनेट लगाएर कन्भिन्स गर्यो। यहाँको रुट सेफ छ। बरु बसको यात्रा खतरनाक हो। झन् पानी परेको पर्यै छ। बाटोमा गाडी फस्छ अलपत्र परिन्छ। अनेकथोक भनेर हाम्रो दिमाग भुट्यो। यत्तिकैमा उसले प्लेनको टिकट पनि मिलाइदिन्छु भनेर बोल्यो। बिहान आठ बजेतिर होटलबाट चेक आउट गरेर हामी निस्क्यौँ। फर्कने बाटो हाम्रो लागि नौलो थियो । दायाँपट्टी रारा र बायाँ बाटो। अनि उत्तरतिर जँगल। यो नौलो बाटोमा राराले आफ्नो सुन्दरता झनै बढाएर देखाइन्। अनेक रङहरु देखाइन्। कतै हरियो, कतै नीलो कतै पानीकै ओरिजिनल कञ्चन कलर देखाइन्। हामी मुग्ध हुँदै दुइ घण्टाको बाटोलाई तीन घण्टा लगाएर हिँड्यौँ।साढे एघारतिर ताल्चा एयरपोर्ट पुगियो। एयरपोर्ट पुगेर थचक्क बस्यौँ। थकाइले चूर भइएको थियो। होटलवालाले दिएको फोन नम्बरमा फोन गरेँ। फोनै लागेन। होटलवालालाई फोन गरेँ उसले फोन उठाएन, अलपत्रै परियो। कहाँ कसलाई भन्नू टिकट अब ?
त्यतिकैमा एक भद्र मानिस आएर मलाई सोधे, ‘सुबिनजी होइन तपाइँ ?’
मैले भनेँ, ‘हो।’
‘रारा घुम्न आउनुभाको रहेछ । फेसबुकमा फोटो देखेको थिएँ।’
‘हो त,’ मैले भनेँ । अनि लगत्तै दुखः पोखेँ, ‘हेर्नुस् न प्लेनको टिकट दिलाउँछु भन्ने मान्छे नै बेपत्ता भइदियो। केही उपाय छैन।
‘कहिलेलाई चाहिने?’ उनले सोधे।
‘आजै,’ मैले भनेँ।
‘म बुझ्छु है त,’ उनी बुझ्न लागे । तर टिकट सबै फुल रहेछ।
‘आजलाई त मुस्किल छ सुबिनजी। एकजना भए म जसरी पनि मिलाउँथे,’ उनले भने।
अब भोलि जानुको विकल्प थिएन। अर्को दिनलाई बुक गरादिए उनले। हामी यतिकै चौरमा बसेर तलपटिको विमानस्थललाई हेरिरह्यौँ। एकछिनमा उनले मलाई आफ्ना कर्मचारीलाई डाक्न पठाए। एयरपोर्टको टावरभित्र गएँ। उनी त्यहाँका इन्चार्ज रहेछन्। इलेक्ट्रोनिक्स इन्जीनियर। ‘समर लभ, साया, कथाकी पात्र, सबै पढेको छु तपाइँको’ उनले भने । म मूर्ख थिइँन उनका यी कुराहरु सुनेर खुसी नभइरहनलाई। यता टावरमै सही साब मस्त भएर मनसुन पढिरहेका थिए। मसित परिचय गर्न आइपुगे। मलाई अझै पनि आश लागिरहेको थियो। कतै आजको लागि टिकट मिलिहाल्छ कि भनेर।
मैले आशायुक्त मुहार लिएर भनेँ, ‘आजैलाई टिकट मिल्नचाहिँ असम्भव नै हो।’ ‘फ्लाइट नै छैन सुबिनजी’ टावर इन्चार्ज सूर्य शर्माले भने, ‘जम्मा एउटा फ्लाइट छ आज ताराको। त्यो पनि उनीहरुको सबै प्याकेजमै आउने प्यासेञ्जरहरु हुन्छन्। एउटा चाहिँ भनसून नै गरेर पनि हालिदिन्थेँ, दुइजनाचाहिँ ओभरलोड हुन्छ भन्छन् । पाइलट नै मान्दैनन्।’
‘त्यसो गरी गरी त नजाऔँ,’ मैले भनेँ, ‘बरु भोली चाहिँ पक्का गरिदिनुहोला है।’
‘भोली फरक पर्दैन,’ उनले भने।
त्यो रात ताल्चा विमानस्थलमै ‘एड्जस्ट’ भइयो । बस्न मन लागेको थिएन । होटल राम्रा थिएनन्। ठाउँ वरपर पहाड, हिमाल देखिन्थ्यो राम्रो थियो तर बस्ने माहौल र न्यूनतम सुविधा नै नभएपछि अलिक बिरक्त त लागिहाल्दो रहेछ । तैपनि त्यो ताडीको होटलभन्दा चाहिँ गतिलै होटलहरु थिए।
भोलिपल्ट पनि प्लेनको टिकट पाउन झन्नै मुस्किल भएको । टावर इन्जिनियर सुर्य शर्माले निक्कै नै ठूलो पावर लगाउनुपर्यो।
हिजो रारामा भेटिएका जीवन भाइहरु पनि यतिखेर ताल्चा आइपुगे। उनीहरु मुगुको सदरमुकाम गमगढी बसेर आइपुगेका रहेछन्। तर अफसोस उनीहरुले टिकट पाएनन्। आएकै दिन टिकट नपाइने रहेछ क्यार। ताल्चामा रातै काट्नुपर्दा चाहिँ हम्मे। कम्तीमा अलिकति औसतका होटलसम्म भए त सहजै हुन्थ्यो बसाइँ। त्यति धेरै हिँड्ने मानिस हुँदारहेछन्। हाम्रै अगाडि भोलिपल्टको फ्लाइटका लागि भनेर पर्खनेहरु धेरै देखिए।
हामी बसेको होटलवाला साहु बडा मज्जाका थिए। एकदम खातिरदारी गरे। उनको पसलमा ब्ल्याक लेभल, रेड लेभल, खुकुरी रम, क्यान बियर सबैथोक थियो। तर कोठा ठिक थिएन। भोलिपल्ट हामी बसेको त्यही होटलकै बाहिरपटि नेपालगञ्जका लागि निस्कने एक हूल मानिसहरुले मसँग आएर फोटो खिचेको दृष्यले उनले मलाई चिनेछन् ‘समर लभ’ लेख्ने यही हो भनेर।
उनले भने, ‘रेडियोमा सुनेको थिएँ समर लभ, तपाईं पो हुनुहुँदोरहेछ लेखक।’ म मुस्कुराएँ मात्र।
उनले पनि हामी बसुञ्जेल टिकट बुझिदिन खूब मिहिनेत गरे। यता उता फोन गर्छन् घरी, घरी कसलाई भन्छन्, घरी कसलाई।
अतः भोलीपल्ट बाह्र बजेतिर प्ले उड्यो। अघिल्लो दिन नाउँ टिपाएता पनि भोलिपल्ट तारा एअरको प्यासेञ्जरको लिष्टबाट हाम्रो नाउँ हटाइएको रहेछ। त्यस्तो अफ्टेरोमा पनि झगडा गरी गरी टिकट मिलाइदिने सूर्य शर्मा लाई अझैपनि यो मनले धन्यवाद भनिरहेको छ। जीवन भाइले नेपालगञ्जदेखि काठमाण्डौँ जाने राम्रो बसको टिकट फोनबाटै मिलाइदिए। साथै उनले डोल्पा भ्रमणका लागि आउन भने। बाटामा भेटिएका सहृदयी मानिसहरुले गर्दा होला जस्तै दुर्गममा यात्रा गरेको भएता पनि यात्रा धेरै हदसम्म सुगम बन्दोरहेछ। प्लेनले मुगुको भुइँ छाड्यो । फर्कँदा रारा ताललाई प्लेनबाट पनि देख्न पाइयो। झनै सुन्दर। उता डरले मुटु काँपिरहेछ। मनमनै भगवान पुकारिरहेछु। ‘हे भगवान, अझै धेरै गर्नु छ। यो यात्रा सफल पारिदेऊ।’ प्लेन अलिक तल जाँदा होस् या अलिक माथि जाँदा होस्, या कोल्टे फेर्दा होस् डरले मुटु प्लेनकै ढोका खोलेर जाला जस्तोगरी धड्किरहेछ।
नेपालगञ्ज नपुगुञ्जेल यस्तै भइरह्यो।
नेपालगञ्ज पुगेपछि मनले भन्यो, ‘ल बाँचियो।’
बेलुकी नाइट बसमा यात्रा गरिरहँदा मनले फेरि भन्यो, ‘वाउ, रारा घुमेर आइयो।’
जुम्ला, कालीकोटको सडक देखेपछि नारायणघाट मुग्लिन होस्, बिपी हाइवे होस्, महेन्द्र, पृथ्वी राजमार्ग सबै सुरक्षित लागे। फराकिला लागे। ढुक्क लाग्यो अबको यात्रा। तर रारा खूब मिस भइरहेछ। रारासम्म कसरी पुगियो त्यो यात्रा मिस भइरहेछ। बाटोमा भेटिएकाहरु, छुटेकाहरु सबै मिस भइरहेछ। यो यात्रा त सिद्धियो।
यात्रा भनेको यस्तै रहेछ। यात्राले मानिसलाई लोभी बनाउँदो रहेछ। जति गर्यो नपुग्ने, अझै गरौँ गरौँ लाग्ने बनाउँदो रहेछ। रारा यात्राले यात्राप्रतिको लगाव झनै बढाइदियो। पहिले यात्रा भन्दा पनि गन्तव्यसित लोभ लाग्थ्यो। अहिले समग्र यात्रा नै प्रिय लाग्ने भएको छ। हिजो अस्ती कालीकोट र जुम्ला र समग्र यात्रामा भएका दिग्दारी र असहजतापनि आजभोलि प्रिय लाग्न थालेको छ। दुखः कष्ट त एकछिनलाई हो। त्यसबाट पाइने, सिकिने र मुख्यतः एड्जस्ट हुने क्षमता अतुलनीय छ। यो यात्राले मलाई सिकाएको कुरा।
यसअघि यसरी एड्जस्ट हुन पटक्कै जानेको थिइनँ। कतै बास बस्न होटल खोज्दै जाँदा झीना मसीना कुराहरुसित सम्झौता गर्न नसक्दा दश ठाउँ चहार्ने म योपटक कस्तो कस्तो ठाउँमा बसेँ, आफैँलाई पत्याउन गाह्रो भइरहेछ। परिआए योभन्दा पनि तल्लो स्तरका ठाउँहरुमा पनि बसिने रहेछ । हरेक भ्रमणले हरेक मानिसलाई फरक फरक तरीकाले सिकाउँछ। मलाई यस्तै कुरा सिकायो।
अब यो बर्खाभरि काममा जुट्नु छ, त्यसपछि फेरि अर्को योजना बन्नेछ। हो, यात्राले मलाई लोभी बनाएको छ। फेरिफेरि यात्रा गरिरहूँ लाग्ने बनाएको छ।
नियात्रा : चित्ताकर्षक रारा, अद्भुत यात्रा
Previous Article१० असार १०७४, ढोरपाटन दैनिक
Next Article २०७४ असार ११ गते आईतबारको राशिफल